दमक/ देशकै नमूना विद्यालयको रुपमा स्थापित हुने क्रममा रहेको दमक २ को हिमालय माविमा भएको भ्रष्टाचारको विषयले अहिले दमकबासीलाई चिन्तित बनाएको छ । विद्यालयले भने यो विषयलाई छिटो टुङ्ग्याउनु पर्नेमा जोड दिएको छ ।
गुणस्तरीय शिक्षाका लागि पूर्वी नेपालकै उत्कृष्ट सामुदायीक विद्यालयको रुपमा रहेको हिमालय माविमा भएको भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत देखिनै अनुसन्धान गर्दै आएको थियो । सोहि अनुसन्धानलाई निष्कर्षमा पु¥याएर आयोगले मुद्धा दायर गरेको हो ।
अख्तियारले यस विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले उनीहरूविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा आरोपपत्र पेश गरेको हो । तर अनियमितताको विषय भने हालको होईन । यो आर्थिक वर्ष २०७७–७८ को हो । त्यस बेला विद्यालयको भवन निर्माण तथा अन्य शीर्षकमा रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा विद्यालयका तत्कालिन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यले आर्थिक वर्ष २०७७÷७८ देखि विभिन्न शिर्षकमा विद्यालयको रकम हिनामिना तथा दुरुपयोग गरेभवन निर्माणमा गम्भीर अनियमितता भएको भेटिएको आयोगले जनाएको छ ।
विशेषगरी नमुना विद्यालय भवन निर्माण अन्तर्गत पहिलो तलाको निर्माण कार्यमा वास्तविक मूल्यांकन करिब १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ मात्र रहेको देखिएको छ । तर, सोही कामका लागि नक्कली बिल, बिजक तथा भरपाई तयार गरी करिब २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँसम्म भुक्तानी गरिएको पाइएको छ । यसरी वास्तविक लागतभन्दा करिब ५९ लाख २६ हजार ६८६ रुपैयाँ बढी भुक्तानी गरिएको आयोगको दाबी छ । अनियमितता ढाकछोप गर्न झुठा कागजात तयार पारिएको र मूल्यांकनभन्दा बढी रकम खर्च देखाइएको निष्कर्ष आयोगले निकालेको छ । भवन निर्माणमा मात्रै सीमित नरही विद्यालयको अन्य आर्थिक कारोबारमा पनि हिनामिना भएको दावी छ । आयोगका अनुसार दुवै जनाको मिलेमतोमा २०७७–७८ यता बेरुजु देखिएको करिब १६ लाख ६० हजार १०१ रुपैयाँ तथा थप १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको छ । यसले विद्यालयको समग्र आर्थिक अनुशासनमा गम्भीर असर पारेको आयोगको भनाइ छ ।
आयोगले प्रस्तुत गरेको आरोपपत्रअनुसार उनीहरूले सार्वजनिक संस्थाको रकम हिनामिना, दुरुपयोग तथा निजी लाभमा प्रयोग गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कसूर गरेको उल्लेख गरिएको छ । सोही ऐनअनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।
यस विषयमा विद्यालयसँग सम्पर्क गर्दा घटना पुरानो भएको र हाल विद्यालयमा कुनै समस्या नरहेको जनाएको छ । प्रधानाध्यापक द्रोर्णबहादुर श्रेष्ठले पहिले भएको विषयमा अहिले मुद्धा परेको र यो विषय छिटै किनारा लाग्नुपर्ने जनाएका छन् । आवश्यक छानविन गरि दोषी पाईए कार्वाही गरि विद्यालयको रकम शोधभर्ना गरिनु पर्ने उनको भनाई छ । तर अख्तियारले सो विषयमा अनुसन्धान गरेपछि विद्यालय नयाँ प्रशासकीय नेतृत्वमा रहेको र शैक्षिक तथा आर्थिक अनुशासन दर्विलो पारिएको उनले जनाएका छन् । अनुसन्धानको विषयलाई लिएर हिमालय माविको शैक्षिक गुणस्तर र भविश्य प्रति कुनै चिन्ता लिन नपर्ने पनि प्रअ श्रेष्ठको भनाई छ ।

Author

You may also like