मुख्य

धरमपुरमा इमानसिंहको सालिक

धरमपुर, १९ पुस ।

शिवसताक्षी वडा नम्बर १ स्थित धरमपुर चोकमा इतिहासविद् इमानसिह चेम्जोङको सालिक अनावरण गरिएको छ ।

इतिहासविद् स्व. चेम्जोङको १२१ औं जन्म जयन्तीको अवसरमा नवनिर्मित शालिकको शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेघाहाङ थोप्राले ( रोशन ) अनावरण गरेका छन् । अनावरणका क्रममा नगरप्रमुख थोप्राले इतिहासकार चेम्जोङले आफ्नो समुदाय तथा राष्ट्रलाई पुर्याएको योगदानलगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा, सालिक निर्माणका लागि प्राप्त रकमका आधारमा सहयोगी दाताहरूको शिला लेखन तथा सम्मानपत्र र दोसल्लाले सम्मानित समेत गरियो । दातादाताहरूबाट प्राप्त रकमको नामावली सहित खर्चको सम्पूर्ण विवरण समेटेर पुस्तिका नै प्रकाशन गरिएको छ ।

सालिक र सालिक निर्माणस्थलको संरचनामा १५ लाख ६० हजार ९ सय ६६ रुपैयाँ खर्च भएको निर्माण समितिका संयोजक देउबहादुर चेम्जोङले जानकारी दिए । शालिक निर्माणका लागि समितिले विभिन्न सहयोगी दाताहरुबाट २१ लाख ५२ हजार २ सय ५६ रुपैया संकलन गरेको थियो । जसमा शिवसताक्षी नगरपालिकाले विजुली बत्ती जडानका लागि ४० हजार सहयोग गरेको छ । हाल शालिक निर्माणबाट ६ लाख ३१ हजार २ सय ९० रुपैयाँ बचत रहेको संयोजक चेम्जोङले बताए ।

स्व.चेम्जोङ किरात भाषाका इतिहासकार हुन् । सरकारले उनको तस्वीर चित्राङ्कित हुलाक टिकट प्रकाशन गर्नुका साथैं शिक्षा मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित कक्षा १० को नेपाली किताबमा उनको जीवनी समेत समावेश गरिएको छ ।

You may also like