राजनीति समाचार

सभामुखको चुन्ने सहमति जुटेन

विराटनगर, १९ पुस। सरकार गठनको रस्साकस्सीमा कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त सभामुख पद कहिले चुन्ने भन्ने बारे दलहरुबीच सहमति जुट्न सकेको छैन ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबारको कार्यव्यवस्था समितिको बैठकमा चुनाव गर्ने विषयमा छलफल भएपनि टुंगो नलागेको बताए । उनले अब पुस २४ गते कार्यव्यवस्था समितिको बैठकबाट यसलाई टुंग्याउन प्रयत्न हुने बताए ।

गौतमले राजीनामा दिएको लामो समय हुँदा पनि सभामुखको निर्वाचन हुन नसक्दा संसदका कतिपय गतिविधिमा अप्ठ्यारो परिरहेको छ । एमाले र राप्रपाबाहेक गठबन्धनको ठिक्क बहुमत ४७ मात्रै भएकाले अरुलाई सभामुख नदिइकन सरकार अघि बढ्न नसक्ने सम्भावना भएपछि प्रदेशका मुख्यमन्त्री केदार कार्की राप्रपालाई सभामुख दिएर गठबन्धन बलियो बनाएर जाने प्रयत्न गरिरहेका छन् । राप्रपा पनि सभामुख लिन सकारात्मक छ । यसअघि राप्रपाले त अम्बरबहादुर विष्टलाई सभामुख बनाउने तयारी अघि सारिसकेको थियो । केन्द्रीय अध्यक्ष राजेन्द्र लिंदेनले संघ सहित प्रदेश तहमा पनि सरकारसँग सहकार्य नगरी प्रतिपक्षमा बसेर आन्दोलनमा जाने भन्ने निर्णय गरेपछि कोशीको सभामुखको प्रसंग पर्दापछाडी परेको अवस्था हो ।

Author

You may also like