मानिस जन्मदा स्वतन्त्र भएर जन्मन्छ । जीवनको सुरुवाती यात्रामा उसले सबैसंग स्वतन्त्र कुरा गर्छ, ठम्याउछ अनि आफ्नो यात्राको तय गर्छ । त्यो यात्रा उसले विद्यालय तहको यात्रा सकिएपछि मात्र गर्छ । हिजोका यात्रा र आजको यात्राबीच अनेकन फरक छन् । किनकि हिजोको यात्रा तय शैक्षिक जीवनसँगै राजनीतिक यात्रा पनि सँगसँगै हुन्थ्यो । उतिबेला शिक्षा क्षेत्रमा लागेकाहरु राजनीतिसँग समाहित हुन्थे आज राजनीति र शिक्षा कसैले सँगसँगै लान सकेको छैन। हिजोको विरासत र आजको दुर्गन्धित राजनीति हेर्दा लाग्छ अहिलेका युवापीँडिहरु राजनीतिबाट अलगअलग भएका छन् । कोहिकोहि नेताहरुको बहकाउमा लागेर राजनीतिक मियो समातेर हिडेका छन् भने अक्सर धेरैजसो युवाहरु वैदेशिक रोजगारीका लागि अनेक भाषा सिकिरहेका छन् । जसमध्ये स्नातक तह पढ्दापढ्दै धेरै भाषा सिकेर बाहिर जानेहरुको बग्रेल्ती भीड बढेको छ । यतिसम्म भीड बढेको छ कि प्रत्येक प्रदेशमा हेर्नुस् विदेशी भाषा सिक्नेलाई सु– अवसर भन्ने होर्डिङ बोर्ड मात्रै देख्न सक्नुहुन्छ । आखिर किन यस्तो भइरहेको छ त ? किन वैदेशिक रोजगारका निम्ति युवाहरु विदेश जान अनेकन् भाषा सिकिरहेका छन् ? यदी नेपालमै स्व– रोजगारको व्यबस्था हुन्थ्यो भने किन आजका कर्मठ युवायुवतीहरु विदेश मोहमा आकर्षित हुन्थे होला भन्ने आफँै सोझै अडकल गर्न सकिन्छ । नेपालमा सत्ता परिवर्तनको खेल, भ्रष्टाचार, अनियमितता, बेरोजगारी समस्याले चिन्ताग्रस्त भएको हुनाले आज दिनानुदिन रोजगार पाउन नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु धमाधम अनेक भाषा सिकेर मुग्लान जाँदैछन् । यसरी नै जाने क्रममा कोरियाली भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर गत शुक्रबार गरिएको प्रदर्शनमा सुरक्षा समन्वय र प्रहरीले संयमताको अभावमा दुई युवाको ज्यान समेत गएको छ । दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको बालकुमारीमा उनीहरूको सपना सदाका लागि ढल्यो । कोरिया गएर परिवारलाई आर्थिक रूपमा समृद्ध बनाउने उनीहरू दुवैको सपना चकनाचुर भयो, उनीहरूको सपना राजधानीमा बिलायो । युवाहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको थियो, बल प्रयोग नगर्नुपर्ने हो ।
यस्ता घटना निम्तनुमा राज्यका अन्य निकायका असंवेदनशील र अपरिपक्व व्यबहार हो भन्न सकिन्छ । रोजगार अनुमति प्रणाली ( इपीएस ) अन्तर्गत कोरियाली भाषा परीक्षामा तोकिएको मापदण्डबाट समस्या सुरु भएको घटना हो यो । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको इपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि पुस पहिलो साता आवेदन खुलाएको थियो । जसमा गत साउनमा भएको “ सीप बिल्डिङ्ग“को भाषा परीक्षामा सामेल भएकोले आवेदन दिन नपाउने भनिएको थियो । इपीएसको यस्तो मापदण्डविरुद्ध १८ युवा उच्च अदालत पाटन गए । अदालतले निवेदकका परीक्षामा अन्तरिम आदेश दिएपछि ग्वार्कोस्थित इपीएस शाखाले उनीहरूलाई बोलायो । साउनमा सँगै परीक्षा लेखेका अरु युवा भने आफूहरूलाई बञ्चित गराइएको भन्दै प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनका क्रममा दुईजनाको ज्यान गएको केही घण्टामै इपीएस कोरिया शाखाले आवेदन सबैका लागि गर्यो । एउटा उखान छ नि– “जब भयो राती अनि बुढी ताती “ भनेझैं भयो, यो घटना । हिजो सूचनामा यसका लागि कोरियाको मानव संसाधन विभाग ( एचआरडी ) को सकारात्मक प्रतिक्रिया रहेको उल्लेख छ । यो बिषय नाटकीय छ । नेपालमा प्रदर्शन भएको केही घण्टामा कोरिया सकारात्मक भएको विषय नै पत्याउन सकिन्न । यसको सोझो अर्थ के हो भने या त कोरिया सरकार यो विषयमा पहिले नै सकारात्मक थियो, या नेपाल सरकार असंवेदनशील थियो या त उता जोसुकै भए पनि अहिले तत्काल नेपाली युवाहरूलाई अलमलाउने चालमात्र पनि हुन सक्छ । कोरियाको एचआरडीबाट अप्ठ्यारो नहुने रहेछ भने किन पहिले नै इपीएस कोरिया शाखाले सम्बोधनका लागि पहल गरेन भन्ने प्रश्न पनि यहाँ गम्भीर छ । वास्तवमा यस्तै– यस्तै अलमलिने कामले गर्दा युवाहरुको आन्दोलन अर्को भयानक रुप लियो । अहिले पनि यस्ता छिटफुट घटनाहरु अस्तिकै आन्दोलनका रुपहरु देखिदैछन् । आजभन्दा अघि यस्ता प्रकारका आन्दोलनले उग्र रुप लिएको थिएन । अहिले त बेरोजगार युवाहरूको जमात दिनप्रतिदिन बढ्दो छ । यस्ता घटना नेपालमा कति भए, भए लेखाजोखा गर्न सकिन्न । कति त त्यसै ढिसमिस भए, कतिलाइ क्षतिपूर्ति दिलाइयो । कतिलाई सहिद घोषणा गरियो । कतिलाई राहत समेत नदिइएको घटना कति छ कति । टाठाबाठाहरु सेटिङ्गमै दलीय सिण्डिकेटमा लागेर उनीहरूले नै राहत पाउने परिपाटी हिजोदेखि आजसम्म चलिरहेकै छ । बोलवालाहरुको भीड बढेको छ । निम्छराहरु भोकभोकै बस्नुपर्ने अवस्था छ । आज जुन घटना ती दुई युवकहरुमाथि घटाइयो यो निन्दनीय र हृदयबिदारक छ । त्यतिमात्र होइन मृतकका परिवारलाई १० ÷ १० लाख दिने निर्णय समेत बर्तमान सरकारले गर्यो, यो निर्णयनै गलत छ । के मान्छेको जीवनको मूल्य १० लाखको हो ? प्रश्नैप्रश्न यहाँ तेर्सिएको छ जहाँ उत्तर दिने ठाउँनै छैन ।
हिजोको सरकार र अहिलेको सरकारले बिगतमा युवाहरूलाई लक्षित गरेर स्व– रोजगारको कार्यक्रम ल्याउन कोशिस हुँदैथियो । त्यसैको नाममा टाठाबाठाले राजनीति गर्ने थलो बनाए । जथाभावी रकम वितरण गरे । राम्रा र योग्यलाई होइन हाम्रालाइ पक्षपोषण गरे । योग्यता, सीप र क्षमता भएकाहरुलाइ रोजगार दिलाउन चाहेन । लटठी मुंग्रा, भाला बोक्न र सडक अवरुद्ध गर्न रेलिङ्ग भाँच्न हिजो सिकाए । अहिले न घरको न घाटको भएर बिदेशी मोहतर्फ आकर्षित भए लाखौंलाख युवाहरू । आज यसैको सिकार बने वीरेन्द्र शाह र सुजन रावत । बालकुमारीको भीडमै सदाका लागि ढले । आखिर किन युवा लक्षित नीति तथा कार्यक्रम ल्याएनन् हिजोदेखि आजसम्म बनेका सरकारले ? उनीहरूले युवाहरूलाई रोजगार ल्याइदिएको भए युवाहरू नेपालमै निर्धक्क काम गरेर बस्ने थिए, विदेशी मोह पक्कै पनि त्याग्ने थिए । अहिलेसम्म बनेका सरकारले युवाहरूको मागलाई सम्बोधन गर्नुभन्दा पनि आफ्नो राजनीतिक अङ्गरक्षक र अगुवा कार्यकर्ता बनाउने परिपाटीको विकास अहिले पनि विद्यमान छ । यसलाई बुझेर अबका युवापिँढीले नेताहरुको गुलामी गर्ने, फेर समात्ने भन्दापनि आफ्नो भाग्य र भविष्यतर्फ अघि बढ्नुपर्छ । आज आफ्नो भाग्य र परिवारको जीवन खुसी बनाउन बिदेशतिर जान लागेका सुजन रावत र वीरेन्द्र शाहले अनाहकमा प्रहरीको क्रुर र दमनमा गोली खानु पर्यो । आखिर उनीहरूले के नराम्रो काम गरेका थिए र अनाहकमा ज्यान गुमाउनु पर्यौ ? यस्तो संवेदनशील घडीमा सामान्य असावधानीले अझैपनि स्थिति भड्किन नदिन सरोकारवाला पक्ष, पीडित पक्ष र सरकारी पक्ष अनि सुरक्षा निकायले सधैं उच्च सतर्कता र संयमता अपनाउन पछि हटनु हुन्न । यस्ता निन्दनीय घटना कोहिकसैले नगरुन् ।