सहकारीप्रति राष्ट्रपति पौडेलको चासो
दमक । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो व्यक्त गरेका छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवासमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलसंगको भेटमा सहकारी समस्या बारेमा चासो व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले सहकारीका समस्याका कारण मारमा परेका नागरिकलाई छिटो न्याय दिन र यस क्षेत्रको समस्यालाई छिटो टुंगो लगाउन निर्देशन दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
कांग्रेसले बोलायो बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ । वैशाख १७ गते बुधवार दिउँसो १ः०० बजे बस्ने गरी उक्त बैठक बोलाइएको हो । उक्त बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य एवम आमान्त्रित सदस्यहरूको उपस्थितिका हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
हात्तीले लखेट्दा एक घाइते
दमक । जंगली हात्तीले लखेट्दा लडेर मेचीनगरका एकजना घाइते भएका छन् । मंगलबार बिहान अन्दाजी १० बजे कालीझोडा सामुदायिक वनमा दाउरा खोज्न जाँदा एक्कासि एउटा जंगली हात्ती आई लखेट्दा भाग्ने क्रममा लडेर मेचीनगर नगरपालिका वडा नं १२ कालिका बस्ने ३२ वर्षीय सन्तोस लिम्बू घाइते भएका हुन् । घाइते अवस्थामा उनकै भाई सुजन लिम्बूले फेला पारी उपचारको लागि बिर्तासिटी अस्पताल लिएर आएका छन् । उनको बाँया खुट्टा भाच्चिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
व्यस्त बजारमा गोलीकाण्ड
इनरुवा । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट दुई जना घाइते भएका छन् । सोमबार साँझ देवानगञ्ज–७ का कामेश्वर नाम गरेका व्यक्तिले हानेको गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र पिन्टु मेहता घाइते भएका छन् । देवानगञ्ज बजारक्षेत्रभित्रै हानिएको उक्त गोलीकाण्डपछि कामेश्वर फरार रहेको प्रहरीले जनाएको छ । शिवकुमारको ढाडदेखि तल दायाँतर्फ र बायाँ कम्मरको भागमा गोली लागेको छ । उनीहरूको विराटनगरस्थित नोबल अस्पतालमा उपचार भइरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार घटनामा तीन जना घाइते देखिए पनि एकजना भनेर लडेर घाइते भएको जनाएका छन् । घटनाको अनुसन्धान भइरहेको उनले बताए ।
देवानगञ्ज सुनसरीस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्छ । जिल्ला प्रशासन कार्यायल सुनसरीका प्रमुख धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थल गइरहेको छ ।
नयाँ वर्षको पहिलो दिन शेयर कारोबार बढ्यो
वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ ः ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा आज आकर्षण देखिएको छ । लगानी २.७१ र विकास बैंक २.४६ प्रतिशत बढे । बैंकिङ ०.४८, फाइनान्स १.५९, होटल तथा पर्यटन १.९९, हाइड्रोपावर १.४७, जीवन बीमा ०.८१, उत्पादन १.२२, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा १.०७ तथा अन्य ०.६१ प्रतिशत बढे । आज व्यापार सेक्टर घट्यो । सो सेक्टर ०.६४ प्रतिशत घटेको छ ।
सर्वोच्चले माग्यो जोशी थुनामा राख्नुको कारण
दमक । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत तुलसीपुरको बुटबल इजलासको नाममा आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो । उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।
त्रिवि उपकुलपतिमा केसीलाई जिम्मेवारी
दमक । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले पाएका छन् । प्रा.डा. केशरजंग बरालले पदबाट राजीनामा दिएको रिक्त रहेको उपकुपतिमा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि केसीलाई जिम्मेवारी दिइएको प्रधानमन्त्री कार्यालययले जनाएको छ ।
ट्रम्पका आँखा हावार्ड विश्वविद्यालयमा
एजेन्सी । ह्वाइटहाउसमा पुनरागमन गरेपछि खर्च कटौतीको लागि भन्दै अनेक प्रतिबन्ध र आर्थिक सहायता रोक्का गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निशानामा हार्वर्ड विश्वविद्यालय पनि परेको छ । नीति सुधारका लागि गत साता पठाइएको सूची अस्वीकार गरेको कारण देखाउँदै ह्वाइट हाउसले हावर्डको दुई अर्ब डलरको कोष नै रोक्का गरेको समाचार संस्था बीबीसीले जनाएको छ । बीबीसीका अनुसार ह्वाइट हाउसले गत साता हार्वर्डलाई मागहरूको सूची पठाएर नीतिगत परिवर्तनको लागि भनेको थियो । ट्रम्प प्रशासनले पठाएका मागमा शासन, भर्ना अभ्यास र भर्ना प्रक्रियाहरूमा परिवर्तनहरू समावेश थिए ।
जिब्रो छेड्नेमा सुजनको ह्याट्रिक
दमक । भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रामा सुजन बाग श्रेष्ठले ह्याट्रिक गरेका छन् । विस्का जात्रा मनाउने क्रममा यो सुजन बाग श्रेष्ठले लगातार तेस्रो पटक जिब्रो छेडाएर मंगलबारको जात्रालाई निरन्तरता दिएका हुन् । बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गतवर्ष पनि जिब्रो छेडाएका थिए । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि केही नखाई व्रत बस्नुपर्ने नियम छ । त्यसो गरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा नआउने जनविश्वास छ । मध्यपुर ठिमी – २ मा रहेको गणेश मन्दिरअगाडिको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिने गर्छन् ।
नयाँ वर्षमा छुरा प्रहार
धनकुटा । नयाँ वर्षमा धनकुटामा युवाहरुबीच विवाद हुँदा छुरा प्रहार भएको छ । विवादका क्रममा छुरा प्रहारबाट दुई घाइते भएका छन् । गएराति धनकुटा नगरपालिका वडा नम्बर ५ बिहीवारे हटियानजिकै छुरा प्रहारबाट धनकुटा– ५ बस्ने १७ वर्षीय कुशल राई र सोही ठाउँ बस्ने १७ वर्षीय आयुष राई घाइते भएका हुन् । दुबै घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा भर्ना गरिएको छ ।
छुरा प्रहार गर्ने धनकुटा नगरपालिका– ६ नाशाल चौक बस्ने १८ वर्षीय रुसुक खड्गी र धनकुटा –७ बस्ने वर्ष १७ वर्षीय लाजीहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हप्तामा दुई दिन जातीय भेषभुषा
दमक । उदयपुरको एक गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय वेशभूषा लगाउनुपर्ने भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए । गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय वेशभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् । “पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति संस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवद्र्धन गर्न यस्तो निर्णय गरिएको हो,” अध्यक्ष राईले भने ।