पालिका गतिविधि स्थानीय

‘बालबालिका देशको आधारशीला’

दमक, २१ माघ। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले देशको भविष्य निर्माणको आधारशीला नै बालबालिका भएकाले बालबालिकामैत्री गतिविधि सञ्चालनको आवश्यकता रहेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले शनिबार झापाको कमल गाउँपालिका कोशी प्रदेशमै पहिलो स्थानीय सुशासनयुक्त बालमैत्री गाउँपालिका घोषणा कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले कमल गाउँपालिका वडा नं ५ स्थित निर्माणाधिन आदिवासी रंगाशाला परिसरमा गाउँपालिकाद्धारा आयोजित घोषणा समारोहमा सो पालिकालाई बालमैत्री घोषणा गर्दै कमल गाउँपालिकाले देशको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने काम गरेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार भविष्य निर्माणका आधारशीला बालबालिकाको स्वास्थ्य शिक्षासहित मौलिक हक अधिकारको कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रदेश सरकारले १० बर्ष मुनिका बालबालिकाको निःशुल्क स्वास्थ्य उपचार गर्ने बन्दोबस्ती मिलाएको बताउँदै बालबालिकाहरु सुरक्षित नभएसम्म देशको भविष्य सुरक्षित नहुने कुरामा कसैको पनि फरक मत हुन नहुने बताए ।

मुख्यमन्त्री कार्कीले प्रतिपक्षीहरुलाई इंगित गर्दै भने, मैंले सबै बालबालिका बिरामी हुँदा उपचार सेवा निःशुल्क पाउने व्यवस्था मिलाएर के गल्ती गरें ? यसलाई गलत हिसावले व्याख्या गर्नुपर्ने कारणै छैन ।’ उनले भौतिक पूर्वाधारको विकास मात्रैलाई विकास ठान्ने र सामाजिक विकासमा ध्यान नदिने हो भने देश सधैं पछि पर्ने पनि उल्लेख गरे ।

ज्येष्ठ नागरिकका आश्रम, सामुदायिक भवन, कूल मन्दिर आदि संरचनाहरु सम्बन्धित सरोकारवालाहरुको आफनै प्रयासबाट बनाइनु पर्ने आफनो धारणा रहेको तर्क राखे । उनले पूर्वाधार विकास भन्दा नागरिकहरुको सामाजिक र संवेगनात्मक विकासमा जोड दिए ।

कार्यक्रममा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भटटराईले स्थानीय तहमध्ये कमल गाउँपालिका कोशी प्रदेशको चौथो बाल मैत्री स्थानीय तह र गाउँपालिकाहरुमध्ये पहिलो तथा देशभरको २३ औं बालमैत्री गाउँपालिका बनेको जानकारी गराए ।

कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य होमबहादुर थापा, चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, कमल गापाकी पूर्व अध्यक्ष मेनुका काफ्ले, प्याव्सन झापाका जिल्ला अध्यक्ष गौरीमान फागोसहित विभिन्न राजनीतिक दल, संघ संस्था, बाल क्लब सञ्जाल लगायतका प्रमुख तथा प्रतिनिधिहरुको विशेष उपस्थिती रहेको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बालमैत्री घोषणाको तयारी सम्बन्धिको बारेमा जानकारी गराए । अधिकृत शाक्यले प्रतिवेदन पेश गर्दै कमल गाउँपालिकाको कूल जनसंख्याको २९ प्रतिशत बालबालिका रहेको उल्लेख गरे । उनले पालिकाका गाउँ टोल मार्फत घर घरमा बालमैत्री घोषणाका लागि आवश्यक सूचकहरु पुरा भए नभएको तथ्याकं लिइएको उल्लेख गरे । उनले २०७७ सालबाट पालिकामा शुरु भएको यो प्रयासले अहिले यो सफलता पाएको पनि जनाए । यसका लागि जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, बाल सहजकर्ता, अभियानकर्मीहरु लगायतको भूमिकाको प्रशंसा गरे । पालिका अन्तर्गत कमल ४ ले २०७८ फागुन २३ गते पहिलो पटक वडालाई बालमैत्री घोषणा गरेको थियो । त्यसपछि ७ नम्बर वडाले २०७९ बैशाख ९ गते, २ ले २०७९ बैशाख १४ मा, चौथो रुपमा ३ ले २०७९ असार २४ गते, पाँचौं रुपमा ५ ले २०८० असोज १२ गते, ६ ले २०८० असोज २५ गते र १ ले सातौं वडाका रुपमा २०८० असोज २६ गते बालमैत्री वडा घोषणा गरेको उल्लेख गरे ।

पालिकाले २०७८ सालभित्र पालिकालाई बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम तीव्र बनाएको र त्यसैअनुरुप लक्ष्यमा भने केही ढिला भएपनि सफलता प्राप्त गर्न सफल भएको उल्लेख छ वालमैत्री घोषणाका लागि सेवा प्रवाहका ३६ वटा सूचक र संस्थागत १५ गरी ५१ वटा सूचक पूरा गरेको हो ।

कमल बाल सञ्जालका बालबालिकाहरुले उदघोषण गरेको सो कार्यक्रममा पालिकास्थित विभिन्न सामुदायिक र संस्थागत विद्यालयहरुमा क्रियाशील बाल क्लबका बालबालिकाहरुले देशभक्ती, बाल सचेतनामुलक र मनोरञ्जनात्मक गीत, नृत्य आदि प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विद्यालयमा अवस्थित स्काउटरहरुले मुख्यमन्त्री कार्कीसहित विशिष्ट व्यक्तित्वहरुलाइ सलामी अर्पण गरेका थिए ।

You may also like