शिक्षा समाचार

स्कूल बस खरिदका लागि १ लाख सहयोग

झिलझिले,२० माघ। झापाको शिवसताक्षी नगरपालिका १० माईधारस्थित बालनिकुञ्ज माध्यमिक विद्यालयलाई स्कुल वस खरिदका लागि स्थानीय दोमुखा पर्यटन विकास संस्थाले एक लाख सहयोग उपलव्ध गराएको छ ।

पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दोमुखाको विकासमा काम गर्दैआएको सो सामाजिक संस्थाले संस्थागत रुपमा विद्यालयलाई बस खरिदका लागि उक्त सहयोग प्रदान गरिएको र थप १ लाख समेत उपलव्ध गराउने प्रतिवद्धता गरिएको संस्थाका अध्यक्ष धनप्रसाद लावतीले बताए ।

सहयोगी संस्थाको एक टोली विहिबार विद्यालय पुगेर सो सहयोग रकम विद्यालयका प्रधानाध्यापक भुवानी थापा, सहायक प्रधानाध्यापक बिष्णुप्रसाद खतिवडालाई हस्तान्तरण गरेको थियो ।

बाल निकुञ्जले खरिद गर्न लागेको स्कुल वस दोस्रो हो । यसअघि, विद्यालयमा सञ्चालित स्कुल वसले विद्यार्थीहरु ओसार–प्रसार गर्न पर्याप्त नभएपछि थप स्कुल वस खरिद गर्न लागिएको विद्यालयका प्रअ थापाले बताए ।

उनका अनुसार स्कुल वस खरिदका लागि आवश्यक ३० लाख जुटाउने अभियान सञ्चालनमा रहेको छ । बिद्यालयमा ८ सय ९७ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयमा माईधारदेखि उत्तरका इलाम, महमाई सम्मका विद्यार्थीहरु अध्ययनरत छन् ।

You may also like