अर्थ देश–समाज राष्ट्रिय समाचार स्थानीय

शिथिल घरजग्गा कारोबारको बाबजुद् झण्डै २५ अर्ब राजश्व संकलन

दमक/ समाजमा वित्तिय कारोबारमा महत्वपूर्ण योगदान दिएको घरजग्गा कारोबार अझै शिथिल रहेको तथ्याङ्क सार्वजनिक भएको छ । कोभिड–१९ को प्रकोपदेखि धरासायी बन्दै गएको घरजग्गा कारोबारको असर अझै उठ्न सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको मासिक तथ्यांंकले पनि घरजग्गा कारोबारमा शिथिलता नै रहेको देखाएको छ ।
सहकारीमा समस्या आउन थालेपछि झन् समस्याग्रस्त बनेको घरजग्गा कारोबार बैंकहरूमा थुप्रिएको गैरबैकिरू सम्पत्तिका कारण झनै धराशायी बनेको छ ।
एकदुइवटा सहकारीमा समस्या देखिनेबित्तिकै निक्षेपकर्ता एकैपटक सहकारीको रकम फिर्ता लिन जाँदा समस्या भएको थियो । घरजग्गामा लगानी गरेका सहकारीहरू डुब्न थालेपछि घरजग्गा व्यवसाय समस्यामा परेको थियो ।
नेपाल राष्ट्र बैंकले पनि घरजग्गालाई अनुत्पादक क्षेत्र भन्दै कडाइ गरेपछि कर्जा प्रवाह नहुँदा यो व्यवसाय माथि उठ्न नसकेको बुझाइ व्यवसायीको छ ।
बैंकभन्दा सहकारीमा ऋण लिन सहज हुने भएकाले घरजग्गा व्यवसायीले सहकारीबाट बढी ऋण लिने गरेका थिए ।
यही कारणले गर्दा चालू आर्थिक वर्ष २०८१–८२ को माघमा पनि घरजग्गा कारोबार घटेको बुझाइ व्यवसायीहरूको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघमा देशभर ४६ हजार ६९ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा २ दशमलव ९१ प्रतिशतले न्यून हो । पुसमा देशभर ४७ हजार ४ सय ७९ संख्यामा घरजग्गा कारोबार भएको थियो
विभागका अनुसार गत वर्ष माघको तुलनामा पनि यो वर्ष माघमा घरजग्गा कारोबार ९ दशमलव ४७ प्रतिशतले घटेको छ । गत माघमा देशभर ५० हजार ९ सय २१ संख्यामा घरजग्गा किनबेच भएको थियो ।
घरजग्गा कारोबार घटेसँगै राजस्व पनि घटेको छ । माघमा सरकारलाई घरजग्गा कारोबारबाट ३ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । यो अघिल्लो महिनाको तुलनामा ८ दशमलव ९३ प्रतिशत न्यून हो । पुसमा सरकारलाई ४ अर्ब २५ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
गत वर्षको माघको तुलनामा पनि यो वर्ष १४ दशमलव ७१ प्रतिशतले राजस्व बढेको छ । गत वर्ष माघमा भएको घरजग्गा कारोबारबाट सरकारलाई ३ अर्ब ३७ करोड रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकरलगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुने गर्छ ।
चालू आवको सात महिनामा भने घरजग्गा कारोबारबाट २४ अर्ब ७१ करोड १ लाख रुपैयाँ राजस्व प्राप्त भएको तथ्यांक छ । विभागका अनुसार साउनमा ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ उठेको थियो भने भदौमा तीन अर्ब ९ करोड दुई लाख ५९ हजार रुपैयाँ उठेको थियो ।
यसैगरी, असोजमा ३ अर्ब ८ करोड १२ लाख ४१ हजार रुपैयाँ र कात्तिकमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार रुपैयाँ राजस्व उठेको देखिएको छ । मंसिरमा ३ अर्ब ८७ करोड र पुसमा ४ अर्ब २५ करोड रुपैयाँभन्दा बढी राजस्व उठेको छ । माघमा भने ३ अर्ब ८७ करोडभन्दा बढी राजस्व उठेको छ ।
चालू आर्थिक वर्षको साउनमा ४३ हजार ८ सय ३५ र भदौमा ३२ हजार ७ सय ९८ वटा लिखत पारित भएको थियो । यसैगरी, असोजमा ३० हजार ५ सय २७ र कात्तिकमा ३३ हजार ५ सय १४ वटा कारोबार भएको थियो ।
मंसिरमा ४३ हजार ३ सय ७९ वटा घरजग्गा किनबेच भएकामा पुसमा देशभर ४७ हजार ४ सय ७९ वटा लिखत पारित भएका थिए ।
गत वर्षको माघमा देशभर ५० हजार ९२१ वटा लिखत पारित भएकामा यस वर्ष घटेर ४६ हजार ६९ को संख्यामा सीमित भएको छ ।
चालू आर्थिक वर्षको माघ महिनामा सर्वाधिक लिखत पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट भएको छ । सो कार्यालयबाट १ हजार ७ सय ४ कारोबार भएका छन् । त्यस्तै, भद्रपुर, जनकपुरधाम र बेलवारी कार्यालयबाट क्रमशः १ हजार ५ सय ७०, १ हजार ५ सय ३ र १ हजार ५ सय १ लिखत पारित भएका छन् ।
राजविराजमा १ हजार २ सय १८ र सिरहामा १ हजार २८ लिखत पारित भएका छन् । भक्तपुर मालपोतबाट सर्वाधिक घरजग्गा किनबेच भएको छ । माघमा भक्तपुरमा ९ सय ४ लिखत पास भएका छन् । त्यसपछि लगनखेल मालपोतमा ८ सय ७८, कलंकीमा ५ सय ९७, चाबहिलमा ४ सय ८०, साँखुमा ४ सय ३, मनमैंजुमा २ सय ४२, डिल्लीबजारमा १ सय ९२ र टोखामा १ सय ८७ लिखत पारित भएका छन् ।

Author

You may also like