समाचार

कमलमा सशस्त्रद्वारा सुकुमबासीको घरमा डोजर, ३८ परिवार छानाेबिनाकाे बास

दमक/ कमल गाउँपालिका ५ को टुक्रे नयाँ बस्तीका सुकुमबासीको जीवनमा यतिबेला ठुलो वज्रपात भएको छ । त्यहाँ ३८ घर सुकुमबासी विगत १३ वर्षदेखि बसोबास गर्दै आएका थिए । तर उनीहरुको अहिलेसम्म बसेको छाप्रो या भनौं घर सशस्त्र प्रहरीले डोजर लगाएर भत्काइदिएको छ । यसबारे सशस्त्र प्रहरी सुकुम्बासीको व्यवस्थापन गर्ने काम जन प्रतिनिधिको बताउँछ भने जनप्रतिनिधिहरु आफ्नो क्षमता नभएको भन्दै सरकारलाई देखाएर पन्छिने काम गरिरहेका छन् ।
शुक्रबार र शनिबार दुई दिन लगाएर उनीहरुको घर भत्काइयो । घर भत्काइदिएपछि ती पीडित सुकुमबासीहरु भने अझै पनि आफ्नो ठाउँ नछोडी बसिरहेका छन् । यद्यपि उनीहरु न घर न बार भनेझैँ भएका छन् । छाप्रा भत्काएपछि उनीहरूका लत्ताकपडा यत्रतत्र छरिएका अवस्थामा छन् । ओत लाग्ने छानो छैन । टेबुल कुर्सी र दराजहरु त्यत्तिकै आकाशको छानोमुनि खुल्लै अवस्थमा छन् । पालेका केही बाख्राहरु पनि बाहिर खुला आँगनमा बाँधिएका छन् भने रातको समय पनि सोही अवस्थामा हुन्छन् । पीडित सुकुमबासीहरु पनि राति पाल टाँगेर बस्छन् भने दिनमा सशस्त्र प्रहरी आउने डरले पाल खोलेर बस्छन् । बिहान बेलुकीको खाना खुला आकाशमुनि नै पकाएर खाने गर्दछन् । शौचालय जाने ठाउँ छैन । यो दैनिकी उनीहरुको बाध्यता भएको ७३ वर्षीय गणेशबहादुर भण्डारी बताउँछन् । ‘हाम्रो त बेहाल भो हजुर, यो के ग¥या हो हामीलाई । पहिले हामीलाई यहाँ राखेको हो । अहिले आएर किन हटाउनु ?,’ बृद्ध भण्डारी भन्छन्, ‘हाम्रो जाने ठाउँ कहीँ पनि छैन । कतै पनि एक टुक्रो जमिन छैन । यस्तो अवस्थामा हामीलाई बस्ने ठाउँ मात्र दिन पनि हुन्थ्यो । तर हाम्रा लागि सरकार रहेनछ, यो देशमा ।’
अर्का पीडित सुकुमबासी ६० वर्षीय रोहित रेग्मीको पनि उस्तै भनाइ छ । ‘हामी १३ वर्ष यही सशस्त्र प्रहरीको जग्गा कमाई गरेर बस्यौँ । तर अहिले हटाउने बेलामा केही पनि व्यवस्था नगरिकन हामीलाई हटाइयो, किन यसो गरियो, यो त हामी माथि अन्याय भयो नि ?,’ रेग्मी भन्छन्, ‘हाम्रा लागि सरकार रहेनछ । भोट त हामीले पनि दिएका हाँैं ।’ ३५ वर्षीया गोमा भण्डारी र ३३ वर्षकी सोमा तामाङ पनि घरबास उखेलिदिएपछि आफूहरुको जाने ठाउँ कतै नरहेको बताउँछन् । अहिले दुई छाक पकाएर खान समस्या भएको छ भने छोराछोरीलाई कहाँ राखेर स्कुल पठाउने हो भन्ने चिन्ताले पनि पिरोलेको उनीहरुको भनाइ  छ ।  कमल–५ को सो बस्तीमा सोही ठाउँको सशस्त्र प्रहरी बल पाथीभरा गणले आफ्नो भोगाधिकारमा रहेको जमिनको पश्चिम उत्तर भागमा २०६३  सालमा ३८ घर परिवार सुकुमबासीलाई बसोबास गर्न दिएर जग्गा समेत ठेक्कामा कमाउन दिएको थियो । तर अहिले गणको ठाउँमा सशस्त्रको तालिम केन्द्र आएको छ भने गण हटेको छ । तालिम गर्नका लागि पनि ठुलो र फराकिलो ठाउँ आवश्यक पर्ने हुँदा सशस्त्रले सो सुकुमबासी बस्ती हटाउन विगत २ वर्षदेखि नै पहल गर्दै आएको थियो ।
तर सुकुमबासीले आफूहरुलाई बसोबास गर्ने ठाउँको विकल्प नदिएसम्म त्यहाँबाट नहट्ने भनेपछि विवाद बढ्दै आएको हो ।
‘हामीलाई अर्को ठाउँमा बस्ने व्यवस्था हुनेगरी टुक्रा जमिन दिएपनि भइहाल्छ । तर यसरी केही व्यवस्थाविना नै र विकल्प नदिइकन हटाउँदा चाहिँ हाम्रो मन रोएको  छ,’ ६० वर्षीय रेग्मीले भने, ‘अब हामीले कहाँ जाने ? कतै त जमिन छैन । यहाँ त बस्ने घर र खेती कमाई गर्ने जग्गासमेत थियो । तर अहिले त हाम्रो बिल्लीबाँठ नै भयो ।’
यता सशस्त्र प्रहरी बला पाथीभरा तालिम केन्द्रका प्रमुख प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले भने केन्द्रको भोगाधिकारमा रहेको जग्गामा अतिक्रमण गरेर सँधैभरि बस्नु उचित नभएको प्रतिक्रिया दिए । उनले सुकुमबासीलाई विकल्प दिने र बसोबासको व्यवस्था गर्ने काम जनप्रतिनिधिको भएकाले आफूले केही गर्न नसक्ने बताए । कमल–५ का वडाध्यक्ष डम्बरबहादुर निरौलाले सुकुमबासीहरुले बसोबासको विकल्प माग गर्नु स्वाभाविक भए पनि त्यसको व्यवस्था आफ्नो हैसियतबाट गर्न नसकिने बताए । उनले भने, ‘सुकुमबासीहरुलाई बस्ने व्यवस्था सरकार र स्थानीय प्रशासनले गर्ने हो । मैले होइन ।’ हाल कमल–५ मा मात्रै २ सय ३७ घर परिवार सुकुमबासी रहेको तथ्याङ्क छ । पीडित सुकुमबासीहरुले जिल्ला प्रशासन कार्यालय झापा, कमल गाउँपालिका, वडा कार्यालय र सुकुमबासी समस्या समाधान आयोग लगायतका सबै सरोकारवाला कार्यालयहरुमा आफूहरु बसोबासको व्यवस्थाका लागि माग लिएर गएको तर सकारात्मक प्रतिक्रिया र उत्तर नपाएकोमा दुःखेसो पोखे । ‘त्यसैले हामीहरु निरिह भएका छौँ । हाम्रा लागि राज्य र सरकार कोही पनि रहेनछ,’ उनीहरुको एउटै स्वर थियो ।

You may also like