झगेन्द्र खड्का
गौरीगञ्ज/ नेपाल भारत सिमाना छुट्याउने दशगजा क्षेत्रमा रहेका ४ वटा साना स्तम्भ पुरिएका छन् । गौरीगञ्ज गाउँपालिका वडा नं –४ को बाह्रसुदी क्षेत्रको गौरिया खोलामा रहेका ४ वटा साना अहिले देखिँदैनन् । ती सीमा स्तम्भहरु खोलाले बालुवा थुपार्दा ४ वटा स्तम्भ पुरिएका हुन् । बालुवाले पुरिएका स्तम्भहरु १४७ को ३, ४ र ९ तथा १४८ को ११ रहेको सशस्त्र प्रहरी बल (बि.ओ.पि.) गौरीगञ्जले जनाएको छ । गौरीगञ्ज–४ को बाह्रसुदीको गौरिया खोलामा रहेको मुख्य पिल्लर ढलेको छ ।
बाह्रसुदीको गौरिया खोलामा रहेको १४९ को २४ नम्बर पिल्लर लडेको हो । पिल्लर भएको स्थानमा खोला बगिरहेकाले गत असारमा बाढी आउँदा पिल्लर लडेको स्थानियबासी बताउँछन् । बर्खा पिल्लर ढले पनि त्यसलाई उठाउने वा मर्मत गर्ने कुनै प्रकारको पहल भएको छैन । त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले लडेको पिल्लरलाई लुगा धुने र नुहाउने काममा काममा प्रयोग गरिरहेका छन् । खोलामा ढलेको १४९ को २४ नम्बरको पिल्लरमा गरिएको रङ रोगन पनि उडेको छ भने पिल्लरको नम्बर मेटिएको छ । खोलामा बाढी आउँदा खोलाले आसपासको जमिन काटेर बालुवा थुप्रिँदा ४ वटा साना पिल्लर पुरिएका छन् । तर बालुवाले पुरिएका पिल्लरलाई बाहिर निकाल्ने कार्य भएको छैन ।
सशस्त्र प्रहरी बल गौरीगञ्जले खोलाभित्र बालुवाले पुरिएका पिल्लरहरुको स्थान पहिचान भने गरिसकेको जनाएको छ । खोलामा पुरिएका र लडेका स्तम्भका बारेमा सम्बन्धित निकायमा जानकारी पठाइसकेको सशस्त्र प्रहरी गौरीगञ्जका प्रमुख साइमान श्रेष्ठले जानकारी गराए । हराएका साना स्तम्भ कहाँ छन् भनेर पहिचान गर्न भाटा वा तारले घोचेर पत्ता लगाएको सशस्त्र प्रहरी बल बि. ओ. पि. गौरीगञ्जले जनाएको छ ।
सीमामा रहेका पिल्लर तथा दशगजा क्षेत्रको निरीक्षण र अवलोकन गर्न खटिएको प्रहरीले दैनिक सीमाक्षेत्रको अवलोकन तथा निरीक्षण गरिरहेको छ । सशस्त्र प्रहरी बल गौरीगञ्जको क्षेत्रमा झापा जिल्लाको पश्चिम सिमाना रतुवादेखि पूर्वमा किस्ने खोलासम्म ठुला साना गरी ४९ वटा पिल्लर रहेको प्रहरी बलले जनाएको छ । जस अन्तर्गत मुख्य ५ वटा पिल्लरमा एउटा मर्मत गर्नु पर्ने, मझौला स्तम्भ ३ वटा, साना स्तम्भ ३२ वटा रहेकामा २ वटा मर्मत गर्नुपर्ने र रिफरेन्स स्तम्भ १ वटा रहेका छन् । सीमा स्तम्भ पुरिएर हराउँदा र मुख्य स्तम्भ लडेको ८ महिना बितिसक्दा समेत सम्बन्धित निकाय मौन छ । गौरीगञ्ज गाउँपालिका वडा नं –४ को बाह्रसुदी बस्तीमा नेपाल तर्फ नै पीपी ३३ नम्बरको पुरानो पिल्लर रहेको छ ।
पछिल्लोपटक पुनः सर्भे गर्दा सीमा स्तम्भ पछाडि सरेपछि ३३ नम्बर स्तम्भ भएको स्थान नेपालको क्षेत्रमा परेको हो । पुरानो पिल्लर रहेको ठाउँ पछाडि पनि नेपालीहरुको बसोबास रहेको छ । त्यस स्थान पछाडि ८÷९ घर ऋषिदेवहरुको बस्ती छ । केही वर्ष पहिले नेपाल भारत दुबै तर्फबाट संयुक्त रुपमा नापी गरी नयाँ पिल्लर राख्ने क्रममा ३३ नम्बर पिल्लर पछाडि खोलाको छेउमा पिल्लर राखिएपछि सो पिल्लर र ऋषिदेव बस्ती नेपाली भूभागमा परेको हो । नयाँ पिल्लर राखिनु अघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ऋषिदेब बस्तीमा आई पटकपटक ठाउँ छोड्न भन्ने गरेको स्थानीय जयराम ऋषिदेबले बताए । उनका अनुसार पहिले देखिनै नेपाल सरकारलाई कर तिर्ने गरेको र आफूहरु नेपाली रहेको उनले बताए । भारतीय एसएसबीले अहिले आफूहरुलाई केही नभनेपनि नेपाली भूभागमा रहेको पुरानो पि पि ३३ नम्बरको पिल्लरलाई नियमित रुपमा निरीक्षण तथा अवलोकन गरिरहेको जयरामले बताए ।