समाचार

झापामा थप ४ को मृत्यु

दमक/कोरोना संक्रमणबाट दमकका दुईसहित झापामा सोमबार एकैदिन ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– १ का ६३ वर्षीय पुरुष र दमक– ७ का ५० वर्षीय पुरुष रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।
दमक अस्पताल अन्तर्गतको कोभिड उपचार केन्द्र बेलडाँगी व्यवस्थापन समितिकी सदस्य सचिव देवकुमारी दंगालका अनुसार मृतक दुवैको दमकस्थित एड्भान्स अस्पतालमा सोमबार विहान उपचारका क्रममा मृत्यु भएको हो । यससंगै दमकमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ जना पुगेको छ । सोमबारसम्म दमकका तीन वटा कोभिड अस्पतालमा पाँच जनाको भेन्टिलेटरसहित ७७ जना संक्रमितको उपचार भइरहेको छ । कोेभिड उपचार केन्द्रमा ३५, आम्दा अस्पतालमा २५ र एड्भान्समा १७ जना उपचार रहेको उनले जानकारी दिइन् । सोमबारनै ती अस्पतालबाट १४ जनाको डिस्चार्ज भएको जनाइएको छ ।
यसैगरी सोमबारनै शिवसताक्षीका दुई जना संक्रमितको मृत्यु भएको नगरस्थित स्वास्थ्य शाखाले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं ११ दूधे निवासी ४३ वर्षीय महिला खनाल र शिवसताक्षी –६ शिवगञ्जका ६० वर्षीय अधिकारी थरका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । ती दुवैको विर्तामोडस्थित बिर्तासिटी र विराटनगरमा उपचारका क्रममा मृत्यु भएको नगरका कोभिड फोकल पर्सन रोशन अधिकारीले जानकारी दिए । यससंगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६३ पुगेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी देशभर पछिल्लो समय थप तीन हजार एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १३ हजार ८ सय ११ जनामा कोरोना परीक्षण गरिएको थियो । कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ९८ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यस्तै, सोमबार एक हजार ९ सय २५ जना कोरोनामुक्त भएका छन् । काठमाडौंमा पाँच सय ५६, भक्तपुरमा ९९ र ललितपुरमा एक सय १५ जना गरी उपत्यकाभित्र कुल ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Author

You may also like