दमक/ साहित्य कला संगम दमकका संस्थापक अध्यक्ष रुद्र निरौलाको स्मृतिमा सोमबार एक कार्यक्रमका बीच ‘रुद्र निरौला स्मृति ग्रन्थ’ तथा निजकी जीवनसंगिनी शारदा निरौलाद्वारा लिखित ‘पति वियोग’ नामक शोक काव्य लोकार्पण गरिएको छ ।
२०७७ साल असार २७ गते निधन भएको थियो । स्वर्गीय निरौला २०५२ साल पौष महिनामा संगम स्थापनाकालदेखि २०७२ साल असोज महिनासम्म सङ्गमको नेतृत्वमा रहेका थिए । उनलाई किड्नीको समस्याले लामो समयसम्म सताएको थियो । अन्त्यमा स्वर्गारोहणको कारण पनि किड्नीको खराबी बन्नु पुग्यो । त्यसैकारण २०७७ साल असार २७ गते उनको निधन भएको थियो ।
उनले गरेका साहित्यिक, शैक्षिक, सामाजिक, सांस्कृतिक कर्महरुको जीवन्त सम्झना रहन सकोस् भन्ने उद्देश्यले साहित्य कला सङ्गम परिवारले “रुद्र निरौला स्मृति ग्रन्थ” प्रकाशन गर्ने निधो उनको शोक सहन कार्यको सातौं दिनमै घोषणा गरेको थियो । सोही बमोजिम विभिन्न साहित्यिक, धार्मिक, राजनीतिक व्यक्ति तथा समकालिनहरु र उनका परिवारजनहरुको स्मृति बारे अनुभूति संकलन गरेर वार्षिक पुण्य कर्मको दिन विमोचन गर्ने प्रतिवद्धता अनुसार दुई पुस्तक स्वर्गीय निरौलाको घरआँगनमा एक समारोहका बिच लोकापर्ण गरिएको हो । विमोचित पुस्तक मध्ये ‘पति वियोग’ शोक काव्यको समीक्षा श्री रघुनाथ भण्डारीले गरेका थिए । साहित्य कला संगम र निरौला परिवारले आयोजना गरेको सो पुस्तक लोकापर्ण कार्यक्रमको मुख्य अतिथि दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारी रहेका थिए । स्मृति कार्यक्रममा स्वर्गीय निरौलाका अध्ययन क्रमका कक्षाका साथी पुण्यप्रसाद ढकालले मिठो कविता सुनाए । विशिष्ट अतिथि हरि नेपाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेत्रप्रसाद दाहाल र प्रमुख अतिथिले स्वर्गीय निरौलाको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको अध्यक्षता साहित्य कला संगमका अध्यक्ष नरपति पाण्डेले गरेका थिए भने स्वागत मन्तव्य सदस्य वीरेन्द्र खड्का र सञ्चालन संगमका उपाध्यक्ष विष्णु न्यौपानेले गरेका थिए ।