अर्थ देश–समाज मुख्य समाचार स्थानीय

सार्वजनिक सुनुवाइमा दमक नपाको प्रगति सार्वजनिक : चुनौती बन्दै कर्मचारी अभाव र फोहोर व्यवस्थापन

बाबुराम क्षेत्री

दमक/ दमक नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा हालसम्म ५८.२५ प्रतिशत बजेट खर्च गरेको जनाएको छ । शुक्रबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले विकास निर्माण, सामाजिक सेवा र राजस्व संकलनका उपलब्धिसँगै कर्मचारी अभाव, फोहोरमैला व्यवस्थापन र अन्तरनिकाय समन्वयलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको हो ।
नगरप्रमुख रामकुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख रेगिना भट्टराई प्रसाई, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलालाई प्रश्नोत्तरआमन्त्रण गरिएको थियो । उनीहरुले नागरिकका जिज्ञासा र गुनासोको जवाफ दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत निरौलाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षमा चालु खर्च ७६.३१ प्रतिशत, पुँजीगत खर्च ३०.५२ प्रतिशत र कुल खर्च ५८.२५ प्रतिशत पुगेको छ । कुल अनुमानित आयमध्ये ७५.४२ प्रतिशत राजस्व संकलन भएको छ भने नगरमा ७५ हजार ८७५ करदाता रहेका छन् । हालसम्म १८ करोड ५० लाख रुपैयाँभन्दा बढी आन्तरिक आम्दानी संकलन भएको जानकारी निरौलाले दिए ।
निरौलाले वर्षभरि सम्पादन भएका गतिविधि सार्वजनिक गर्दै वडा कार्यालयमा कर्मचारी अभाव, निर्माण सामग्रीको मूल्यवृद्धिका कारण योजनाको कार्यान्वयनमा ढिलाइ, अन्तरनिकाय समन्वयको कमजोरी, फोहोरमैला व्यवस्थापन तथा सीपमूलक तालिमलाई उत्पादन र रोजगारीसँग जोड्न नसक्नु प्रमुख समस्याका रूपमा रहेको बताए ।
सामाजिक विकासतर्फ ८५९ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरणको तयारी अन्तिम चरणमा पुगेको, १५७ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको तथा सात जनालाई कृत्रिम हात–खुट्टा जडान गरिएको जनाइएको छ । हिंसापीडित ५६ जना महिला तथा किशोरीको उद्धार र संरक्षण गरिएको तथा ४५ जना विपन्न दुव्र्यसनीलाई सुधार केन्द्रमार्फत उपचार गराइएको जानकारी पनि कार्यक्रममा दिइयो ।
स्वास्थ्य क्षेत्रमा एक वर्षमुनिका बालबालिकालाई नियमित खोप, १ हजार ३६८ जनाको निःशुल्क आँखा परीक्षण, ४ हजार ३६२ जनाको नसर्ने रोग परीक्षण तथा ६१७ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । ३०५ जना जटिल रोगका बिरामीलाई उपचार सहयोग उपलब्ध गराइएको पनि जानकारी दिइयो । दमक अस्पतालमा हाल २३३ कर्मचारी कार्यरत रहेको र चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३२ करोड ४२ लाख रुपैयाँभन्दा बढी आम्दानी तथा २१ करोड ४९ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण सार्वजनिक गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख रेगिना भट्टराई प्रसाईले सार्वजनिक सुनुवाइ नागरिक र स्थानीय सरकारबीचको उत्तरदायित्व तथा पारदर्शिता अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको बताइन् । उनले नागरिकबाट प्राप्त सुझाव र खबरदारीलाई आगामी योजना तथा सेवा सुधारमा समावेश गरिने प्रतिबद्धता जनाइन् ।
भिन्न मिडिया एण्ड रिसर्च प्रालिको संयोजन तथा सहजीकरणमा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय, मालपोत, ट्राफिक प्रहरी, सडक डिभिजन, नेपाल विद्युत प्राधिकरण, खानेपानी, हुलाक कार्यालय, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सार्वजनिक सुनुवाइका क्रममा सहभागीहरूले विकास निर्माण, फोहोरमैला व्यवस्थापन, सेवा प्रवाह, कार्यसम्पादन र नगरपालिकाको उत्तरदायित्वबारे प्रश्न उठाएका थिए ।
सम्बन्धित पदाधिकारीहरूले ती प्रश्नको जवाफ दिँदै नागरिकका सुझावलाई समेटेर साउनदेखि क्रमिक कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका थिए । सो कार्यक्रममा वैशाख ११ गतेको सार्वजनिक सुनुवाईमा गरिएका प्रश्न र त्यसमा गरिएको प्रतिबद्धता अनुसारको प्रगतिका विषयमा समेत प्रष्ट पारिएको थियो ।

Author

You may also like