देश–समाज विचार/वहस स्थानीय

जीवनको सौन्दर्य र सत्यमा प्रेम सम्बन्धको सहजीकरण

जीवन र जगतमा प्रेमका प्रतीक कथाहरूले संसार भरिएको छ । जुन सुकै धर्म, संस्कृति, सभ्यता र समाजमा प्रेमलाई सर्वोपरि ठाउँमा राखेर नै सामाजिक मूल्य, मान्यता, परम्परा, रिति थिति र नर नारीहरू बीचको यौन सम्बन्धहरु, वैवाहिक सम्बन्धहरू, तथा पारस्परिक अन्तर्सम्बन्धहरुको अन्तर निरीक्षण गर्न सकिन्छ । संस्कृत भाषाका महाकवि कालिदासले आफ्नो अमर कीर्ति मेघदूतमा यक्षिनिको प्रेमजालमा चुर्लुम्म डुबेको यक्षको प्रेम लाई देवताहरूले सहन न सकी ईष्र्या वश अलकापुरीको स्वर्गलोक बाट बाहिर निकाल्न लगाइएको थियो जो संसारमा संस्कृत भाषामा अमर प्रेमको उत्कृष्ट कथामा आधारित महाकाव्यको रूपमा संसारलाई मार्गदर्शन गरी रहेको छ।प्रेम वियोग सहन न सकी यक्षको मनभित्र पीडाको महासागर उर्लिन थाल्छ।यक्षनिको यादमा उनी व्याकुल बन्दछन् । प्रेम बिना बाँच्न कठिन छ, भन्ने कुरा उसले राम्ररी बुझि सकेको छ।यक्षले आकाशतिर हेर्दा हेर्दै असार महिना बित्छ ।
मेघमा उडिरहेको बादललाई अर्थात् मेघलाई दूत बनाएर उनले आफ्नो आँसुले लेखेको प्रेम वियोग सम्बन्धी अनुभूतिहरू पत्र लाई अलकपुरीको स्वर्गमा रहेकी आफ्नो प्रेमिका यक्षिनिको हातमा पुर्याई दिन उनी आग्रह गर्दछन्। मेघदुत महाकाव्य संसारको अब्बल प्रेम कथा मध्येको एक हो । प्रेम बिना संसार शून्य छ । यक्षको मन भित्र उठिरहेको प्रेमको तरङ्ग र पीडा हरूलाई सुनाउन यक्षले बादललाई अर्थात् मेघलाई आफ्नो प्रतिनिधि बनाएर प्रेमिका यक्षिनी लाई सुनाउन सन्देश वाहक बनाएर पठाउँदछ। अप्रतिम प्रेमको सुन्दर उदाहरण हो मेघदूत महाकाव्य। मेघदूत महाकाव्यमा कालिदासले मानवीय प्रेमको पवित्र र उदात्त विचारलाई प्रकट गरेका छन्। कवि माधवलाल कर्माचार्यले आफ्नो खण्ड काव्य…. खरानीको थुप्रो……..मा युवाहरूलाई आफ्ना प्रेमील जोडी खोज्न यसरी प्रेरित गरेका छन् । ……..
प्रेम गरेर रुने मानिस जीवन सीमित किन पार्छौ
एक जनाको निम्ति मानिस यत्रो जीवन किन फाल्छौ ।
नेपाली साहित्य प्रेम कथाले भरिएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो विख्यात पुस्तक,, मुनामदनमा ……. मुना र मदन बीचको प्रेम वियोग र प्रेम भावनालाई बेजोड ढंगले प्रस्तुत गरेका छन्। मदन पैसा कमाउन लाहुरे जानुपर्दा पैसा को लागि धेरै दुःख कष्ट उठाएका थिए र मनभित्र मुनाप्रतिको अघाध माया र प्रेम लाई सम्झी रहेका थिए।….. सुनको थैलो हातको मैलो के गर्नु धनले…… । मुना प्रतिको अगाध मायामा रुमल्लिँदै मदनले साग र सिस्नु खाएर सँगसँगै बाँच्ने सपना देख्दछन् तथा मनभित्रै वियोगको पटकथा लेख्दछन्। सृष्टिको प्रारम्भकालदेखि नै नर नारी बीच रहेको यौन आकर्षण र विपरीत आकर्षण तथा एक अर्कासँग एकाकार भएर सँगसँगै बाँच्ने चाहनाले संसारमा प्रेम सम्बन्ध को विकास हुन गएको छ । हरेक प्राणीमा सृष्टिको अद्भुत कला कामकला को शक्ति प्रकृति र परमात्माले जीवजन्तु देखि लिएर मानव पर्यन्त सम्मलाई पूर्ण रुपमा भरिदिएको छ । यही सम्पूर्णताले संसारको सृष्टि चक्र निरन्तर चलिरहेको छ। महर्षी बाल्मिकीलाई नदीमा स्नान गरिरहँदा सिकारीले हानेको तिरले चरा राजहंसको सम्भोगरत अवस्थामा रहेको जोडीलाई घाइते र संवेदनशील अवस्थामा देखेपछि अत्यन्त आकुलता र दुःख को भाव मनमा जागेर गएको थियो र त्यही घटना को दृश्य चित्र मनभित्र घुमिरहँदा उनको कल्पनाशील विचारबाट, बाल्मिकी रामायणको रचना हुन गएको थियो जुन अहिले पनि सनातन संस्कृतिको एउटा अमूल्य धरोहर बन्न गएको छ। भारतको मध्यप्रदेश अवस्थित खजुराहो तथा एलिफेनटाको मन्दिरभित्र जसमा नरनारीका प्रणय चित्रहरू अङ्कित गरिएको छ र जसलाई हेर्न ठूलो सङ्ख्यामा विश्वका पर्यटकहरु पुग्ने गर्दछन्। नेपालमा पनि कैयौँ मन्दिरहरूमा काम केलि गरिरहेको नरनारीको चित्रहरू अंिकत गरिएको छ। यसले मानव जीवनको लागि अत्यन्त नै स्वाभाविक र रहस्यपूर्ण ज्ञानको उद्घाटन गर्दछ ।
बाल्यावस्थादेखि किशोर अवस्थामा प्रवेश गर्ना साथै किशोर किशोरीहरूमा एकअर्काप्रति जिज्ञासा र उत्सुकता जागृत भएर आउँदछ। उनीहरूको शारीरिक परिवर्तन हुँदै गएपछि अचम्म लाग्दो यौन आकर्षणको सुरुवात हुन्छ । शरीरमा यौन अङ्गहरूको विकास हुन्छ । महिलाहरूमा महिनावारी तथा पुरुषहरूमा वीर्य निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ। युवा अवस्थामा प्रवेश हुनाका साथै उनीहरू विवाह जोडीहरूमा बाँधिन्छन् । ठाउँ परिवेश र परम्परा अनुसार अनेकौं किसिमका विवाहका तरिकाहरू को निर्माण गरिएको छ । जसको सारतत्व संसारलाई निरन्तरता दिनको लागि नर नारीहरूमा सृजनशक्ति प्रकृतिले नै प्रदान गरेको हुनाले मानिस स्वयं प्रेरित भई काम विमोहित भई एक अर्काप्रति आकर्षित भई आफ्नो भावी पिढीहरूको निर्माण गरिरहेका हुन्छन् । यसैबाट साहित्य, संगीत, कला, ज्ञान विज्ञान आदि इत्यादि कुराहरूको संरक्षण समवर्धन र विस्तार हुँदै आई रहेको छ । प्राचीन कालमा मानिसहरूलाई विवाह गर्न पूर्ण स्वतन्त्रता प्रदान गरिएको थियो तर आजकल सरकारले विभिन्न किसिमका कानुनहरु निर्माण गरी विवाह गर्ने कानुनी रूपमा समय सीमा निर्धारण गरिएको छ । युवा जोडीहरू बालिग भएपछि मात्र विवाह गर्न पाउने स्वतन्त्रता प्राप्त गरेका छन्। विश्वव्यापी रूपमा विवाह र यौन सम्बन्धलाई मानिसको व्यक्तिगत स्वतन्त्रता र अधिकार सँग जोडिएर परिभाषित गरेको पाइन्छ ।
पुरुष र महिला बीचको सम्बन्धलाई लैङ्गिकताको आधारमा पनि हेर्ने गरिन्छ । प्राचीनकालदेखि नै विवाह गर्ने तथा बर वधुहरूले आफ्नो जोडीको छनोट गर्ने कुराहरू कूलकुटुम्ब तथा परिवारहरूमा आधारित र सीमित गरिएको थियो तर विगतका वर्षहरूमा सरकारले विवाह गर्ने कार्यलाई पूर्ण स्वतन्त्रता प्रदान गरेको हुनाले विवाह गर्न इच्छुक रहेका जोडी हरुलाई आफ्नो आफ्नो जोडी खोज्न पूर्ण स्वतन्त्रता रहेको छ ।मैथिली साहित्यका महाकवि विद्यापतिले प्रेम सम्बन्धलाई यौवन र शरीरसँग सम्बन्धित पारेका छन् ।……विद्यापतिले आफ्नो गीतमा…….. यौवन बिनु तन, तन बिनु यौवन बिनु यौवन सभ सुने। ,अर्थात् यौवन बिना को शरीर र शरीर बिनाको यौवन सबै शून्य सरी अर्थात् जीवन निरर्थक र अधुरो हुन्छ । बसन्त ऋतुमा बोटबिरुवाहरूमा जसरी फुल र मञ्जरी लाग्छ त्यसैगरी युवावस्थामा नरनारीहरूमा काम भावना जागृत हुन्छ, काम भावनालाई पूरा गर्नको लागि आकर्षण बढ्दछ तथा उनीहरु बीचको मिलन सम्भव हुन्छ । उनीहरूको प्रेमले पूर्णता पाउँछ । नरनारी को रुपमा रहेको दुई शरीर एक एक आत्मासँग बाँधिन पुग्दछन र परमात्मा बन्दछन् ।त्यसै कारणले आत्मा आत्मा बीचको सम्बन्धलाई परमात्मा सँगको सम्बन्ध सँग जोडिएको छ। नरनारीहरू प्रेम आलिङ्गनमा बाँधिएपछि उनीहरूको मुखमण्डलमा जुन उत्साह प्रसन्नता र खुसियाली देखिन्छ त्यो स्वर्गलोकको सुन्दरता भन्दा बढी महत्वपूर्ण हुन्छ। पश्चिमेली समाजमा पूर्णरूपमा यौन स्वतन्त्रता बहाल रहेको छ । पश्चिमेली जगतमा जात भात, धर्म, संस्कृति, संस्कार र उमेरले युगल प्रेमीहरूको यौन इच्छापूर्तिलाई छेक्न सक्दैन ।
मानिसहरूको मनभित्र पग्लिँदै गइरहेको प्रेमको आवेग लाई रोक्नु हुँदैन भन्ने किसिमबाट मनोचिकित्सक हरू तथा मनोसामाजिक विज्ञहरूले समाजलाई सुझावहरू दिइरहेका भेटिन्छन्। प्रेमले कालो गोरो देख्दैन, अग्लो होचो चिन्दैन, जातभात बुझ्दैन, धनी गरिब जान्दैन। प्रेम अन्धो हुन्छ । मन मिलेपछि सबै थोक मिल्छ। प्रीति बसेपछि नरनारीहरू एकअर्काको आलिङ्गनमा बाँधिन्छन्। ।सुख दुख बाँडिन्छन्। पीडा बाँडिन्छन् ।नयाँ जीवनले नयाँ सपनाको हिमाल चढ्दछ। मानिस हरूको नयाँ भविष्यको निर्माण हुन्छ । प्रेम जहिले पनि संसारमा सत्य को सन्देश दिन्छ। जे सत्य छ त्यही प्रेम हो। जो सत्य छ त्यही शिव हो। जो शिव हो त्यही सुन्दर हो। यही शिवत्वलाई अर्ध नारीश्वर भनिएको छ अर्थात् शिव भित्र आदिशक्ति दुर्गा र शिवको एकात्मकता विद्यामान छ त्यही शिवत्वले संसारमा धर्म संस्कार को व्यत्पति हुन गएको छ ।
एकजना अरबतिरका महान कवि मानिएका उमरखयाम ले आफ्नो विश्वप्रसिद्ध साहित्य, रुबायतमा, मानिसभित्र रहेको प्रेम सम्बन्ध कहिले पनि मर्दैन। जुनसुकै अवस्था र जुनसुकै उमेरमा मानिसले प्रेम प्राप्त गर्न सक्दछ। प्रेम अलौकिक हुन्छ। प्रेम सर्वव्यापी हुन्छ। प्रेम अमर हुन्छ। प्रेम बिना मानिस बाँच्न सक्दैन प्रेम नै जीवनको मूल गंगोत्री हो। यसै प्रेमबाट संसारमा आनन्द को सागर बगिरहेको छ ओशो धर्मका महान गुरु रजनीशले प्रेमलाई सबै किसिमका नाता र सम्बन्धहरू तथा मानवीय मूल्य, मान्यता, परम्परा, रीतिरिवाज, आचार विचार भन्दा माथि ठानेका छन्। युद्ध र प्रेममा सबै कुरा उचित हुन्छ, भन्ने विचारले संसार प्रेमको उत्कर्षमा पुगि रहेको देखिन्छ।
हृदयमा प्रेमको अतृप्त चाहना जागृत हुनु पर्दछ । मन पराउने व्यक्तिहरूसँग सहकार्यको लागि प्रयास गर्नु पर्दछ। जीवनको कठिन मार्गमा सहयात्रा गर्नको लागि मन मिलेको महिला र मन मिलेको पुरुषबीचको अन्तरंगतामा हर्ष र उत्साहको तथा खुसियालीको विजारोपण हुनु जरुरी छ। राधा र कृष्ण बीचको प्रेम संसारको उत्कृष्ट प्रेमको उदाहरण हो। शिव र शक्ति बीचको प्रेमले मानिसको मनमा अदम्य जोश र ऊर्जा भर्दछ। ओशो रजनीशको विचारमा प्रेमले नै संसार मा शान्ति समृद्धि र आनन्दको सागर निर्माण गर्न सक्दछ । तसर्थ प्रेम नै जीवन हो भन्ने कुरालाई सबैले बुझ्नु र त्यसलाई आफ्नो जीवनमा अनुकरण गर्नु जरुरी छ ।
आजकल अविवाहित युवा युवतीहरू तथा विवाहित महिला र पुरुषहरू स्वछन्द रूपमा लिभ इन रिलेसनसिप र लिभिङ टुगेदर लाई मन पराउन थालेका छन्। विवाह पूर्व सम्बन्ध र विवाह पछि पनि अन्य महिला वा पुरुषहरू संग स्थापित हुने यौन सम्बन्धहरू अहिलेको बदलिँदो युगको नयाँ आयाममा आफूलाई परिभाषित गर्दैछ। नयाँ स्वतन्त्रता र नयाँ युगको सुरुवात भई सकेको छ । वैश्विक रूपमा इन्टरनेट र सञ्चारका नयाँ आविष्कारहरू जस्तै फेस बुक,, ट्विटर, इन्स्टाग्रामको बढदो प्रयोगले गर्दा महिला र पुरुषहरू बढी स्वतन्त्रता को अनुभूति गर्न थालेका छन् ।युग परिवर्तनको यो नयाँ सुरुवात हो।

Author

You may also like