दमक/ झापाको दमकमा बढ्दो शहरीकरण संगै अस्तव्यस्त रहेको ट्राफिक व्यवस्थापन र सडक सौन्दर्यकरणको कार्यलाई तिब्रता दिइने भएको छ । आगामी भदौ १ गतेदेखि जथाभावी रुपमा शहरी क्षेत्र र मुख्य राजमार्गमा हुने सवारी साधनको पार्किङ हटाइ आवागमनलाई सहज बनाउने कुरामा सरोकारवालाहरु बिच सहमति जुटेको छ । आइतबार दमक नगरपालिकाको सभाहलमा आयोजना गरिएको सरोकारवालाहरुको संयुक्त छलफलबाट यस्तो निष्कर्ष निकालिएको हो ।
नगरपालिकाद्वारा गठित यातायात तथा ट्राफिक व्यवस्थापन समितिका संयोजक तथा वडा नं. २ का वडाध्यक्ष प्रजापति सापकोटाको अध्यक्षता तथा दमक नगर प्रमुख राम कुमार थापाको अध्यक्षतामा भएको छलफलमा उप-प्रमुख रेगिना भट्टराई प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, इलाका प्रशासन कार्यालय दमकका अधिकृत सुरेन्द्रराज दाहाल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन कुमार गौतम, ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुरेन्द्र खड्का, वडाध्यक्षहरु दमक-१ का हरि प्रसाद न्यौपाने, २ का प्रजापति सापकोटा, ५ का इन्द्र बहादुर गुरुङ, ६ का टेक बहादुर थापा र ७ का भिम प्रसाद पौडेल, दमक नगर प्रहरी प्रमुख रुद्र बहादुर कार्की लगायत जनप्रतिनिधिहरु, नगर कर्मचारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु, व्यापारी, व्यवसायी लगायतको विशेष उपस्थिति रहेको थियो । छलफलको शुरुमा नगर प्रमुख राम कुमार थापाले दमकको गणतन्त्र चौकदेखि उत्तर मुख्य बजार जाने बाटाहरुको दायाँ बायाँ हुने अव्यवस्थित पार्किङ, फुटपाथको व्यापार, सवारी साधनको ट्राफिक जाम, जथाभावी फोहर फाल्ने प्रवृत्ति, मालवाहक सवारी साधनहरुको निर्वाध प्रवेश, बिजुलीको पोलको अव्यवस्थापन, टेलिकम लगायत इन्टरनेटका तारहरुको समस्या, सिटी सफारी, टेम्पो, सब्जीको गाडीहरुको जथाभावी प्रवेश र पार्किङ, खुलमखुल्ला सिटी सफारीमा हुने घुमुवा व्यापार लगायतका विषयमा स्थानीयवासीबाट गुनासो आएकाले सो कुरालाई व्यवस्थापन गर्न के गर्नुपर्छ भनी राय लिन सहभागी सबैलाई बोलाइएको प्रष्ट पारे ।
सहभागीहरुका तर्फबाट भने दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले नेपाली नागरिकता नलिएकाहरुलाई तिन पाङ्ग्रे सवारी साधन चलाउन रोक लगाउनु पर्ने, अवैद्य व्यापार बन्द गर्नुपर्ने, सबै खालका व्यापार व्यवसाय दर्ता अनिवार्य गर्नुपर्ने, सवारीको पार्किङ व्यवस्थित गर्नुपर्ने, उपभोक्ताहरुलाई मालसामानको तौलमा हुने ठगीबाट बचाउनुपर्ने, व्यस्त बजारमा वान-वे साइड पार्किङको व्यवस्था गर्नुपर्ने र नियममा नआउनेहरुलाई कारवाही गरेर अघि बढ्पर्ने सुझाव दिए । ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख सुरेन्द्र खड्काले नगरपालिकाले गर्ने निणर्य र चाल्ने कदममा आफूहरुले सक्दो साथ दिने बताए । तर कतिपय सहभागीहरुले दमकमा कम्तीमा पनि १५ जना ट्राफिक प्रहरीहरुको व्यवस्था गर्नुपर्नेमा सो नभएकोमा जनशक्ति बढाउन आवश्यक पहल गर्नुपर्ने बताएका थिए । नगर प्रमुख थापाले वैधानिक रुपमा व्यापार व्यवसाय र सार्वजनिक रुपमा यातायात सेवा संचालन गर्नेहरुलाई व्यवसाय करको दायरामा आउन साथै ल्याउन सबैलाई आग्रह गरे ।
दमक-१ का वडाध्यक्ष हरि प्रसाद न्यौपाने र ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले आ-आफ्ना वडाका समस्याहरु प्रस्तुत गर्दै आगामी दिनमा नगरपालिका कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे । वडाध्यक्ष पौडेलले पुरानो पशुहाट रहेको खाली ठाउँमा सवारी पार्किङका लागि उचित व्यवस्थापन गर्न सकिने बताए ।
त्यस्तै उनले कतिपय सिटी सफारीहरु पुराना भएपनि नयाँ दर्ता नम्वर लिएर संचालन गरेको पाइए कारवाही गर्नुपर्ने पनि बताए । सामाजिक व्यक्तित्व शेर बहादुर भट्टराईले दमकलाई बाहिरबाट आउने पर्यटकहरुका नजरमा र प्रदेशभरिकै उत्कृष्ट तथा सुन्दर शहरको रुपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए । केही वर्षयता दमकलाई पूर्वकै सुन्दर शहरका रुपमा मानिसहरुले चित्रण गरेपनि त्यसअनुसारको व्यवस्थालाई निरन्तरता दिन नसके यसको परिचय फेरिन सक्ने डर रहेको तर्फ पनि उनले सहभागी सबैलाई सतर्क गराए । यातायात व्यवसायी गंगा सिटौलाले लामो दूरीका सवारी साधनहरुको टिकट काउण्टरलाई एकीकृत गरी बसपार्कबाटै संचालन गर्ने पूर्वसहमति भएकाले त्यसलाई सम्बन्धित सबैले पालना गर्नुपर्ने आवश्यकता औंल्याए । दमक-५ का सामाजिक व्यक्तित्व यमबहादुर अधिकारीले शहरको सौन्दर्यकरणमा असर पुर्याउने जो कोही भएपनि कारवाहीको दायरामा ल्याउन सुझाव दिए । अन्त्यमा, नगर उप-प्रमुख रेगिना भट्टराई प्रसाइँले सहभागी सबैलाई धन्यवाद दिँदै छलफलबाट निस्केका निष्कर्षहरुलाई पालना गर्नमा सबैको सद्भाव र सहयोग अपेक्षित रहेको बताइन् । कार्यक्रमको संचालन नगरपालिका सामाजिक विकास शाखाका प्रमुख केशव प्रसाद प्रसाईले गरेका थिए ।