दमक/अबिरल वर्षाले देशभर जनजीवन प्रभावित बनाएको छ । ठाउँ-ठाउँमा पहिरोले यातायात अवरोध हुनुको साथै कतिपय स्थानामा भएको डुबानले जनता समस्यामा पर्दै गएका छन् ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार नदीमा पानीको वहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन अनुरोध गरेको छ ।
वर्षाले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेश भई बग्ने स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।
महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा नारायणी, कणर्ाली, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, महाकाली नदी र यसका सहायक नदीहरुको जलसतह सतर्कता आसपास पुग्न सक्ने तथा केहीमा खतराको तह आसपास वा माथि पुग्नसक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै साथै मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्यासहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । साथै भारतको उत्तरपूर्वी उत्तर-प्रदेश तथा उत्तर-पश्चिम विहार आसपासमा रहेको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेकाले नेपालमा मौसममा बदली भई वर्षा गराएको महाशाखाले उल्लेख गरेको छ ।
अविरल वर्षासँगै बाढी पहिरोको कारण कोशी प्रदेशका विभिन्न जिल्लाका सडकमा अवरोध पुगेको छ । ताप्लेजुङको मैवाखोलामा बाढी आई मेरिङदिन गाउँपालिका-३ दोभान बजार र आठराई त्रिवेणी गाउँपालिका- ५ जोड्ने मोटरेबल पुलसम्म जाने अन्दाजी ७ मिटर बाटो बाढीले बगाउँदा दुवै तर्फको सवारी आवागमन बन्द भएको छ ।
त्यस्तै सुनसरीको वराहक्षेत्र नगरपालिका- १ गुप्त बराह भित्री सडक खण्डमा सडकमा पहिरो झरी बाटो अवरोध भएको छ । इलाम नगरपालिका- ४ स्थित अधिकारी चोकमा सडकमा पहिरो झरी बाटो अवरोध भएको छ । त्यसैगरी तेह्रथुमको छथर गाउँपालिका र सिधुवा शुक्रवारे सडक खण्डको देविथानमा सडक माथिबाट पहिरो खस्दा बाटो अवरोध भएको प्रहरीले जनाएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका- ८ खोक्से खोला स्थित मेची राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरोध भएकोले उक्त स्थानहरूमा प्रहरी टोली खटाई स्थानीय निकायहरूसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका- ७ खुदुनाबारी-शनिश्चरे सडक खण्डमा पर्ने बिरिङ खोलाको पुलको सडकको पुल मुनीको पङ्खामा बाढीले क्षति पुर्याउँदा पुल जीणर् अवस्थामा रहेकोले उक्त स्थानमा समेत प्रहरी टोली खटी गई स्थानीय निकायको सहयोगमा बाँध बाँध्ने कार्य धमाधम भइरहेको प्रहरीले जनाएको छ ।