घनश्याम भण्डारी
मोरङको उर्लाबारी नगरपालिका सिमसारको शहरका रुपमा परिचित हुँदै गएको छ । उर्लाबारीमा बेतिनी, लामपाते, बुढाठाकुर, बाँसेचौरी, प्रगतिशील ,मनोहर लगायतका सिमसार क्षेत्रहरु रहेका छन् । सिमसारयुक्त पर्यटकीय नगरीका रुपमा परिभाषित गर्दै उर्लाबारी नगरपालिकाले पनि सिमसार क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । उर्लाबारी–२ मा रहेको बेतिनी सीमसार आन्तरिक पर्यटकीय क्षेत्रको रुपमा परिणत भएको छ भने अन्य सिमसारहरुको संरक्षण र प्रवद्र्धन हुन सकेको छैन ।
(१) बेतिनी सिमसार
पूर्वपश्चिम राजमार्गमा पर्ने उर्लाबारी–३ मंगलबारे चौकबाट करिब २ किलोमिटर उत्तरमा चारकोसे जंगलभित्र रहेको छ, बेतिनी सिमसार । बेतिनी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको सिमसारमा उर्लाबारी नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सहयोग प्राप्त हुँदै आएको छ । बेतिनी सिमसार आन्तरिक पर्यटकका अलवा वनभोजका लागि पनि उपयुक्त स्थल बन्दै गएको छ । वनभोजका लागि टहरा निर्माण, बिजुली तथा खानेपानी लगायतको ब्यवस्थापन गरिएको छ । सिमसारको पुर्व तर्फ सोल्टी खोलामा लगाइएको झोलुङ्गे पुलपनी टिकटक बनाउने र फोटो खिच्नेहरुको लागि आकर्षक रहेको छ ।
उर्लाबारी–२ मा रहेको सिमसारमा दैनिक सयौं आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् । बालउद्यान, कृतिम पाटे बाघ, बोटिङ, कृतिम पोखरी यहाँका आकर्षण हुन् । दैनिक एक हजार हाराहारीमा आन्तरिक पर्यटक सिमसार क्षेत्रमा पुग्ने गरेका छन् । बिदाको समयमा सिमसार घुम्न आउनेको संख्या अत्यधिक हुन्छ ।
सिमसार ५८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । सिमसार क्षेत्रमा तारजाली, पक्की शौचालय, चौतारा, सडक ग्राभेललगायत कार्य गरिएको छ । बन्यजन्तु को संरक्षण र आन्तरिक आय वृद्धि गर्न प्रदेश सरकारको सहयोगमा बन्यजन्तु उद्घार केन्द्र को निर्माण अन्तिम चरणमा पुगेको बेतिनी सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष भिम राई बताउँ छन् । सिमसार क्षेत्रमा पानीबेत, सर्पगन्धा, हर्रो, अमला, लहरे, टिम्बुर, सुनाखरी जस्ता वनस्पति तथा मैना, लुइँचे, धनेश, मयूर, बट्टाईं, हाँडिफोर, बकुल्लालगायत चराचुरुङ्गी पाइन्छ । यस्तै आसपासमा हरिण, चितुवा, बँदेल, दुम्सी, सालक, वन बिरालो, गोहोरो, अजिङ्गरलगायत जीवजन्तु पाईएको समुहका कोषाध्यक्ष अर्जुन बास्तोलाले बताए ।
(२) बाँसेचौरी सिमसार
उर्लाबारी–२ मै रहेको बाँसेचौरी सिमसार तथा बनभोज क्षेत्र पनि अर्को आकर्षक गन्तव्य को रूपमा रहेको छ । सुनझोडा सामुदायिक वन समूहको क्षेत्रभित्र एकान्त वातावरणमा रहेको यस क्षेत्रमा वनभोजका लागि मानिसहरु पुग्ने गरेका छन् । ठूलो चौर र घाँसे मैदानले त्यहाँ पुग्नेको ध्यान खिच्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब –३ किलोमिटर उत्तर पश्चिम् क्षेत्रमा रहेको बासेचौरी सिमसारलाई पनि व्यवस्थित गर्न आवश्यक प्रक्रिया सुरु गरिएको र बिजुली ,खानेपानी ,बनभोज का लागि टहरा निर्माण गरिएको छ । यो सिमसारमा छिमेकी पालिका पथरीशनिश्चरे को ट्राफिक कार्यलय पुर्व बाट करिब २ किलोमिटरको दुरिमा पुग्न सकिन्छ । यश सिमसारक्षेत्रमा दुर्लभ जडिबुटी पाईनुका साथै एवं बन्यजन्तुको बासरहेको सुनझोडा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बलबहादुर धिमाल बताउछन् ।
(३) बुढाठाकुर ग्रामथान एवं सिमसार
उर्लाबारी–२ कै अर्को महत्वपूर्ण स्थल हो, बुढाठाकुर सिमसार क्षेत्र । पूर्वी नेपालमा बसोबास गर्दै आएका अल्पसंख्यक धिमाल समूदायको ऐतिहासिक क्षेत्रको रुपमा बुढाठाकुरलाई मान्ने गरिएको छ । प्रत्येक वर्षको जेठ २३ गते यस क्षेत्रमा धिमाल समुदायको भव्य पुजासहित श्रीजात जात्री मेलाको आयोजना गरिन्छ । सिमसार क्षेत्रमा रहेको प्राकृतिक रूपमा उम्रेको पानी (भुल्के) ले समेत सबैलाई आकर्षित गर्ने गरेको छ । उर्लाबारी–३ को नयाँ मंगलबारेबाट करिब ५ किलोमिटर उत्तर गएपछि सुनझोडा मावि हुँदै खोला पश्चिममा यो सिमसार रहेको छ । सुनझोडा सामुदायिक वनको चार हेक्टर क्षेत्रफलमा फैलिएको बुढाठाकुर सिमसारको विकासको लागि प्रचार प्रसार र ब्यवस्थापन गरेको खण्डमा उत्कृष्ट पर्यटकीय स्थल बन्नसक्ने देखिन्छ ।
(४) लामपाते सिमसार
उर्लाबारी–२ मै रहेको लामपाते सिमसार पनि पर्यटकीय क्षेत्र बन्नसक्ने प्रचुर सम्भावना छ । उर्लाबारी–३ नयाँ मंगलबारेबाट ३ किलोमिटर उत्तर शान्ति आधारभूत विद्यालयको पश्चिम हुँदै यस सिमसार क्षेत्रमा पुग्न सकिन्छ । सालबारी सामुदायिक वनको क्षेत्रभित्र रहेको सिमसार क्षेत्रमा कृतिम पोखरी र केही टहरा निर्माण गरिएको छ । तर, सरोकारवाला निकायको ध्यान नपुग्दा उचित विकास हुन सकेको छैन ।
करिब ५ हेक्टर क्षेत्रफलमा फैलिएको यो सिमसारमा बोटिङ तथा पर्यटकीय स्थलका रुपमा परिचित गराउन सकिने आधारहरु रहेका छन् । यो सिमसार क्षेत्रमा विभिन्न प्रजातिका जंगली जनावार, विभिन्न प्रकारका वनस्पतिहरु यहाँ पाइन्छन् । सामुदायिक बन कार्यालय परिसरमा रहेकोे बन्यजन्तु उद्धार केन्द्रमा विशाल अजिङ्गर सहित का जिवजन्तु पनि आकर्षकको रूपमा रहेका छ्न ।
(५) प्रगतिशील सामुदायिक बन तथा सिमसार
यस्तै उर्लाबारी –१ लक्ष्मिझारमा अवस्थित प्रगतिशील सामुदायिक बन क्षेत्रमा रहेकोे अर्को सिमसारहो उर्लाबारीको । किसान चौक– टाँडी सडकबाट ३ किलोमीटर उत्तर गए पश्चात् लक्ष्मिझार चौक बाट सोल्टीखोला पश्चिममा रहेको यो सिमसार पनि उर्लाबारीको खोज अनुसन्धान तथा घुमफिर को अर्को आकर्षक गन्तव्य बन्न सक्छ । ब्यवस्थापन र निर्माणको पहिलो चरणमा रहेको सिमसारमा बनभोज स्थल र फुलबारी ,बिजुली ,पानी को ब्यवस्था गरिए पनि सोल्टी खोलामा पुल बनाउन सके आगन्तुक को रोजाइ मा पर्ने स्थानीय रमेश श्रेष्ठ बताउछन् ।
(६) मनोहर सिमसार तथा बाल उद्घयान
उर्लाबारी –१ कै कान्छीचौक मा अवस्थित अर्को सिमसार हो मनोहर सिमसार तथा बाल उद्घयान ।किसान चौक टाँडी सडक सगै रहेको यो सिमसार पनि सम्बन्धित निकाएको ध्यान नपुगेको क्षेत्रको रुपमा रहेकोे छ । सामुदायिक बन परिसरमा बाल उद्घयानको निर्माण गरिए पनि ब्यवस्थापन को कमजोरी ले राम्ररी सञ्चालन हुन सकेको छैन । यस्तै गरि उर्लाबारी –१ मै रहेका नुनकुप लगाएतका सिमसारको संरक्षण र प्रचार प्रसार हुने हो भने आन्तरिक एवं बाह्य पर्यटको आकर्षण हुने कुरामा दुईमत नहोला ।
आधा दर्जन सिमसार को उचित संरक्षण र दुर्लभ जडिबुटी एवं बन्यजन्तुको संरक्षण गरि एकीकृत योजना सहित कार्यक्रम ल्याउने हो भने रोजगार र वातावरण जोगाउन महत्त्वपूर्ण कदम हुन सक्छ ।