
दमक । दमकको नमूना विद्यालय हिमालय माध्यमिक विद्यालयमा स्काउटका विद्यार्थीको दक्षता अभिबृद्धि र व्यक्तित्व विकासका लागि वार्षिक स्काउट क्याम्पको उद्घाटन गरिएको छ ।
कोशी प्रदेश कार्यकारी समिति सदस्य यस वार्षिक स्काउट क्याम्पका चिफ स्काउट मास्टर ओमप्रसाद आचार्यको अध्यक्षता तथा दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । बिहीबारदेखि लगातार दिन र रात गरी तीन दिन र २ रात चल्ने सो कार्यक्रमको उद्घाटन प्रमुख अतिथि थापाले झण्डोत्तन र ब्यानर पढेर गरेका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि तथा नगरप्रमुख थापाले दमकको इतिहासमा सबैभन्दा पुरानो र अहिलेको नमूना विद्यालयमा ५ दर्जन बढी स्काउटका भाईबैनीहरुले दमक लगायत आसपासमा आपत्विपत्मा परेको समाजलाई उद्दार गर्ने गरी उपलब्धीमूलक बनाउने बताए । अनुशासनको आधारशिला स्काउटको माध्यमबाट समाजले अप्ठ्यारोमा सहयोग पाउने गरेका दृष्टान्त प्रशस्त रहेको उल्लेख गर्दै यो तीन दिने तालिमबाट सिकेको सिप, दक्षता र क्षमता विकासले सबैको व्यक्तित्व विकासमा टेवा पु¥याउने बताए ।
यसैगरी सो विद्यालया प्रधानाध्यापक द्रोण श्रेष्ठले विद्यार्थीको सबै किसिमका सीप विकासका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओलीले स्काउटको माध्यमबाट व्यक्तित्व विकासका लागि विद्यालय सदैव साथमा रहेको उल्लेख गरे । उनले अनुशासन मानिसको जीवनको महत्वपूर्ण हिस्सा रहेको र यहि अनुशासनले नै सबै झुक्न बाध्य बनाउने हुँदा त्यसलाई ख्याल गरेर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा शिक्षा समिति संयोजक कुवेर भट्टराई, दमक नगरपालिका खेलकुद शाखाका प्रमुख प्रविन खड्कालगायतले बोलेका थिए ।
सो तालिम अवधिमा दर्तादेखि टेन्ट प्रिपरेशन, स्नेक्स, प्रिपेरेशन अफ ओपनिङ, ओपनिङ सेरेमनी, ड्रोइङ कम्पिटिसन, फ्लाग लोवरिङ, हेण्डिक्र्याफ्टलगायतका कार्यक्रम रहने आयोजकले बताएको छ । यसैगरी सो तालिमबाट सुपरमेन ओमेगा, बेम्बो ब्यालेन्स, सन ब्लिडनेस, फेस पेन्ट, पुट द विन्दी, ल्याण्डमाइन, टनेल, बीम क्लाइम्बिङ, टायर क्रसिङ, टच द टार्गेट, पुट द बल इन बुकेट, अप सेलिङ, लेडर क्रसिङ र क्वीङ ब्रिज जस्ता कुराहरु सहभागी ९० जना स्काउटका विद्यार्थीले सिक्ने भएका छन् ।
सो कार्यक्रममा जनप्रतिनिधि, शिक्षक बद्री बराल., अन्य शिक्षक, कर्मचारी, स्काउटका विभिन्न तहका व्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।