दमक । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह
(बालेन) र ऊर्जामन्त्री कुलमान घिसिङ सिगो वैकल्पिक शक्ति निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइएको छ ।
केही दिनदेखिको लगातारको उनीहरुको प्रयास सफल भए पनि शुक्रबार रातिसम्म गरिने भनिएको समझदारी पत्र तयार गर्ने क्रममा रहेको वालेनको कार्यव्यस्तता र रास्वपा र कुलमानको पार्टीभित्रका प्रक्रिया केही बाँकी रहेको भन्दै उक्त समझदारी पत्र तयारीको क्रममा रहेको कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले बताए । उनका अनुसार सबै कुरा मिलिसकेको र जतिसक्दो चाँडोभन्दा चाँडो सहमतिपत्रमा हस्ताक्षर गर्नुपर्ने देखिएकोउनले बताए । देशी तथा विदेशी शक्तिकेन्द्रहरुले चलखेल गरिरहेको सन्दर्भमा उक्त सहमति नलब्याउने र जतिसक्दो चाडो सक्ने गरी काम भईरहेको बताए ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी जस्ता पुराना शक्तिहरूलाई विस्थापित गर्न नयाँ शक्तिबीच एउटै फोर्स निर्माणको छलफल अन्तिम चरणमा पुगेको छलफलमा रहेका एक नेताले बताए ।
‘भोलिसम्ममा ठोस परिणाम देखिनेछ । रवि, बालेन र कुलमानको एउटै पार्टी हुनेछ,’ तीन नेताबीचको छलफलमा सहभागी एक नेताले भने, ‘यो चुनावी एलाइन्स मात्र हुने छैन, पार्टी नै एक हुनेगरि हामी छलफल गरिरहेका छौँ । अब त्यो छलफल अन्तिम चरणमा पुग्न लागेको छ ।’
यस विषयमा मेयर बालेन र मन्त्री घिसिङबीच हिजो राति डेढ बजेसम्म छलफल भएको थियो। त्यो छलफलमा धेरै विषय क्लियर भएको ती नेताले बताए। तीन नेताबीच आज पनि छलफल हुने उनले बताए ।
‘यहाँ कुनै पनि पद र अन्य विषयको बार्गेनिङ भएको छैन। अब कुनै पनि हालतमा यो एकता रोकिँदैन । भोलिसम्म एकता भएको विज्ञप्ति आइसक्छ । परिणाम निस्कन्छ,’ उनले भने ।
तीन नेताबीचको छलफलमा एकीकृत पार्टीको अध्यक्ष रवि लामिछाने नै रहने सहमति पनि भएको उनले बताए । ‘यो एकतापछि चुनाव चिह्न घण्टी नै हुनेछ,’ उनले भने, ‘चुनाव चिह्नमा कुनै पनि समस्या छैन। फेरि घण्टी चुनाव चिह्न अघिल्लो निर्वाचनमा जनताले अनुमोदन गरिसकेको कारण त्यसमा कुनै फेरबदल हुँदैन ।’
विगतदेखि नै रवि, बालेन र कुलमानबीच एकताको पहल गर्दै आएका निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आगामी चुनावमा कांग्रेस, एमाले र नेकपाले गठबन्धन गर्न सक्ने भएकाले नयाँ शक्ति पनि एक हुनुको विकल्प नभएको बताए ।
उनले नयाँ शक्ति एउटै भएर निर्वाचनमा जाँदा प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुनसक्ने संकेत गरे। ‘बालेनलाई अबको प्रधानमन्त्री नकार्न सकिँदैन,’ सिंहले नेपालखबरसँग भने ।
उनले राष्ट्रिसभा निर्वाचनमा एमाले र कांग्रेसबीच गठबन्धनको सहमति भइसकेको दाबी गरे। ‘प्रतिनिधिसभामा पनि उनीहरू गठबन्धन गरेर जाँदैछन्। यस्तो अवस्थामा नयाँ शक्तिहरू मिल्नुको विकल्प छैन,’ उनले भने।