खेल देश–समाज समाचार स्थानीय

दमकमा ऐतिहासिक नमूना ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

दमक । दमकमा पहिलो पटक राष्ट्रिय स्तरको नमूना ब्याडमिन्टन च्याम्पियनशीपको उद्घाटन बिहीबार गरिएको छ । विहानै दमक नगरपालिकामा एक भव्य कार्यक्रमबीच सम्पूर्ण खेलाडी तथा पदाधिकारीहरुको स्वागत तथा सम्मानपछि दमक वडा नं. ७ स्थित नमूना ब्याडमिन्टन एकेडेमीको कर्भड हलमा उदघाटन सत्रको आयोजना गरिएको थियो ।
दमक नगरपालिकामा भारतलगायत देशका विभिन्न जिल्लाबाट आएका खेलाडी, प्रशिक्षक, कोचलगायत विभिन्न विधाका व्यक्तित्वहरुलाई दमक शिक्षा समिति संयोजक तथा वडाअध्यक्ष कुवेर प्रसाद भट्टराईको अध्यक्षता तथा दमक नगरप्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । आगन्तुक खेलाडीहरुलाई गेटबाटै नौमती बाजासहित नगरपालिकामा प्रवेश गराएर स्वागत सम्मान गरिएको थियो ।


प्रमुख अतिथि थापा, विशिष्ठ अतिथि उपमेयर रेगिना भट्टराई प्रसाईलगायतले सम्मानपछि नौमती बाजार अगाडि, स्काउटका विद्यार्थी, सांस्कृतिक झाकी, खेलाडी त्यसपछि अन्य महानुभावहरुलाई क्रमबद्ध मिलाएर ब्याडमिन्टन कभर्डहलसम्म पु¥याइएको थियो । सो सम्मान कार्यक्रमलाई उपमेयर भट्टराईले स्वागत मन्तव्य राखेकी थिईन ।
कभर्डहलमा दमक नमुना ब्याडमिन्टन एकेडेमीका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा उद्घाटन सत्र सुरु भएको थियो । प्रमुख अतिथि दमक नगरप्रमुख तथा उक्त खेलकुद आयोजनाका संरक्षक रामकुमार थापा रहेको सो कार्यक्रममा एकेडेमीका संरक्षक समेत रहेका वडा नं. ७ का वडाअध्यक्ष भीमप्रसाद पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाली ताराका पहिलो विजेता गायक दिपक लिम्बुको उपस्थिति निकै आकर्षक थियो । लिम्बुसहित अन्य विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख थापाले दमकको ऐतिहासिक तथा पहिचानको आधारका रुपमा ब्याडमिन्टनलाई राष्ट्रिय खेलकुदका रुपमा दमक नगरपालिकाले आयोजना गरेको बताए । अनुशासन, स्वास्थ्य मात्र नभएर रोजगार र समृद्धिको आधारसँगै दमक र देशको पहिचान स्थापित गर्न खेलकुदको ठूलो आड र भरोसा हुने गरेको तथ्य पनि उनले औंल्याए । थापाले यो खेलकुदलाई सफल बनाउने दायित्व सबैको रहेको र दमक नगरपालिकाले धेरै गर्न नसकेपनि आर्थिक रुपबाट सकेको सहयोग गरेको पनि बताए । उनले भने– संकटको घडीमा रहेको अवस्थामा सकेको सहयोग गरेका छौं । यो खेलकुदको अभिभावकत्व दमक नगरपालिकाले लिएको र यसपछि तुरुन्तै दोस्रो नगरस्तरीय खेलकुदको आयोजना गरिने बताए ।
सो कार्यक्रममा बोल्ने वक्ताहरुले ब्याडमिन्टन एकेडेमीले खेलकुदको आयोजनामात्र गरेको छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न तलदैखि साना साना भाईबैनीहरुलाई प्रशिक्षणमा राख्ने गरेको बताए । यो विषम परिस्थितिमा यति ठूलो खेलकुदको आयोजना दमक नगरपालिकाले गरेकोमा वक्ताहरुले प्रशंसा समेत गरेका थिए ।
बिहीबारदेखि १० गतेदेखि १३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिता सात वटा विधामा प्रतिष्पर्धाका लागि ४ सय बढी खेलाडीहरु उपस्थित भएको आयोजकले जनाएको छ ।
सो कार्यक्रममा जनप्रतिनिधि, दमक नगरपालिका खेलकुद समितिका पदाधिकारी, कर्मचारी, भारतलगायत विभिन्न जिल्लाबाट आएका खेलसम्बद्ध व्यक्तित्व, पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

Author

You may also like