दमक, पुस १९ / सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चयन हुनुभएको केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।
निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनु भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।
माओवादीको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना
माओवादी केन्द्रको केन्द्रीय कमिटीमा प्रदेश १ बाट ३२ जना परेका छन् । आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा ३२ जना निर्वाचित भएका हुन् । केन्द्रीय कमिटीमा परेका ३२ मध्ये १० जना नयाँ छन् । २२ जना पुरानै हुन् ।
केन्द्रीय कमिटीमा प्रदेश १ बाट गीता तिम्सिना, ममता ताजपुरिया, अमनलाल मोदी, धनमायाँ बिक, सुरेन्द्र मेहता, सिता थेबे, मणि खम्बु, चम्पा कार्की, लक्ष्मी न्यौपाने र होमकुमारी खापुङ पहिलो पटक अटाएका हुन् ।
खसआर्य युवा महिला कोटामा मोरङकी तिम्सिना, मधेशी युवा कोटामा मेहता, जनजाति महिला कोटामा ताजपुरिया, जनजाति कोटामा पाँचथरकी सीता थेबे, होमकुमारी खापुङ र उदयपुरकी मणी खम्बू केन्द्रीय सदस्य बनेका छन् ।
थारु युवाबाट मोरङका अमनलाल मोदी, घाइते अपाङ्ग कोटाबाट ओखलढुंगाकी चम्पा कार्की, खसआर्य महिला कोटाबाट झापाकी लक्ष्मी न्यौपाने र दलित महिला कोटाबाट धनकुटाकी धनमाया वि.क. केन्द्रीय सदस्य बनेका छन् ।
सुरेन्द्रकुमार कार्की, सावित्रीकुमार काफ्ले, सुरेश राई, पदम राई, राजेन्द्र कार्की, सुदन किराँती, किरण राई, एकचन्द्र बराल, हेमराज भण्डारी, शिवकुमार बस्नेत र गोपी अछामी खुलातर्फबाट केन्द्रीय सदस्य बनेका छन् ।
प्रदेश १ बाट खसआर्य कोटाबाट धिरेन्द्र शर्मा, धर्मशीला चापागार्इं, समिता कार्की, खसआर्य युवाबाट दुर्गा चापागाईं, मधेशी कोटाबाट शिवकुमार मण्डल, जनजाति कोटाबाट अजम्बर राई, रामकुमार राई, जनजाति युवा कोटाबाट इन्द्रबहादुर आङ्बो र हेमकुमार राई केन्द्रीय कमिटीमा परेका छन् । जनजाति महिलातर्फबाट दुर्गाजयन्ती राई र थारु महिला कोटाबाट रामकुमारी चौधरी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
माओवादीको विधान अनुसार केन्द्रीय समिति २९९ सदस्यीय छ । तर आठौं राष्ट्रिय महाधिवेशनले खुलातर्फ १११ र समानुपातिक १२५ जना केन्द्रीय सदस्यहरुको नाम मात्र सर्वसम्मतिले पास गरेको छ । बाँकी ६३ जना र विधानले थप गर्न मिल्ने १५ प्रतिशत केन्द्रीय सदस्य चयन गर्नै बाँकी छ ।