इलाम, ७ फागुन | उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ ले अहिले राष्ट्रको ध्यान खिचेको छ । ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु ‘आन्तरिक सर्भे’मा पनि जुटेका छन् ।
उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन् । भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन् । उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएपछि नेताहरुले सक्रियता बढाएका हुन् । उम्मेदवारका आकांक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम दौडधुप गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य एमालेका सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै सो क्षेत्रको सांसद पद रिक्त बनेको हो ।
संघ, प्रदेश र स्थानीय तहका रिक्त स्थानहरुमा उपनिर्वाचनको मिति तय गर्न निर्वाचन आयोगले बैशाखको दोस्रो हप्ताभित्र उपनिर्वाचन गराउने तयारी गरेको छ । यसक्रममा उम्मेदवारमा आकांक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलामै पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए ।
एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ । उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ ।
२०५६ सालदेखि एमालेका प्रभावशाली नेता नेम्वाङ विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी पनि आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन् ।
२०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः उम्मेदवार बन्ने दौडमा छन् । कांग्रेसका जोसुकै उम्मेदवार भएपनि एकताबद्ध चुनावी अभियान संचालन नगरेसम्म इलाम २ आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ ।
एमालेका बलिया र पुराना हस्ती सुवास नेम्बाङको निधनसँगै इलाम एमालेमा एक किसिमको रिक्तता छ । एमाले उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा..देवी क्षेत्री दुलाल, प्रदेश सदस्य गणेश बराल, क्षेत्रीय इञ्चार्ज बुद्धि खनाल र युवा नेता रवीन्द्र सुवेदी उम्मेदवार बन्ने दौडमा छन् । पछिल्लो समय नेम्वाङका छोरा सुहाङले पनि सक्रियता बढाएका छन् ।
प्रतिनिधि सभा निर्वाचन भएपनि सो क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुपतिक्षीत आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरु आत्मानन्द लिंदेनको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालले खेप्नु परेको छ । कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरु राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोगिएका छन् ।
रास्वपा यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ । उम्मेदवार खडेरीको सामना गरिरहेको रास्वपाले शुरुमा चर्चित बैंकर्स अनिल केशरी शाह, महेन्द्र थापा, धर्म गौतम, एलिजा गौतमको पनि नाम चर्चामा छ । तर रास्वपाले ठूला दल निकट मतदाताको मत चोर्न सक्ने प्रशस्त सम्भावना छ । स्वतन्त्र उम्मेदवार बन्ने दाउमा पत्रकार मिलन लिम्बु पनि दौडाहामा देखिन्छन् ।
नेकपा माओवादी केन्द्रले पनि यो पटक छुट्टै उम्मेदवारी दिने तयारी गरेको छ । माओवादीबाट धिरेन्द्र शर्मा, कान्छा लावतीलगायतको नाम चर्चामा छ ।
किरात धर्मगुरुको आर्शीवाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेलाई यस पटक चुनाव जित्न त्यति सहज देखिएको छैन । पछिल्लो समय कोशी प्रदेशको नामाकरण पहिचानको आधारमा गरिनुपर्ने माग राख्दै आएका पहिचानवादी नेताहरुले यो पटक इलाममा चुनाव लड्ने तयारी गरेका छन् । जसमा अहिले डकेन्द्रसिं लिम्बूको नाम चर्चामा आएको छ ।
इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ । इलाम नगरपालिका प्रमुख र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।
स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए ।
त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।