उर्लाबारी/ उर्लाबारी–९ स्थित दुर्गापुरी बजारमा सोमबार बिहान भएको आगलागीमा तीन पसल जलेका छन् । राति साढे १२ बजे दुर्गापुरीस्थित नैनासिह गुरुङको घरमा आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मध्यरातमा न्यौपाने सुनचाँदी पसलबाट निस्किएको आगोले उक्त पसलसहित छेउमै रहेका पुस्तक पसल र कस्मेटिक पसलमा क्षति गरेको छ । स्थानीय दया न्यौपानेले सञ्चालन गरेको सुनपसलमा आगलागीबाट करिव १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, न्यौपाने पुस्तक पसलमा करिव ७ लाख बराबरको स्टेशनरी सामान, युना गिफ्ट हाउसको करिब २ लाख बराबरको सामान जलेर नष्ट भएको बताइएको छ । आगलागी नियन्त्रणका लागि उर्लाबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाको दमकल पुगेका थिए । विद्युत सर्ट भइ आगलागी भएको आंकलन गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवले बताए ।