दमक/चाडपर्व भित्रिइसकेको छ । एकातिर कोरोनाको कहरदेखि नै नेपालीको जनजीवन प्रभावित बनिरहेको अवस्थाले ल्याएको आर्थिक मन्दीको सामना गरिरहेका छन् । भर्खरै आएको अविरल वर्षाबाट बगेका भेलबढी र पहिरोले नेपालमा ठूलो क्षति मात्र पुर्याएन झण्डै अढाईसय मानिसको ज्यान पनि लिएको छ । यस्तो अवस्थामा गाउँ गाउँ रोइरहेको छ । तर पनि सांस्कृतिक पर्व त्यो पनि वर्षमा एक पटक आउने सदियौदेखि पितापुर्खाले गर्दै आएको सांस्कृतिक पवित्र पर्वको निरन्तरता पनि दिनै पर्ने भएको छ । यो अवस्थामा व्यापारी व्यवसायको अवस्था झनै नाजुक मात्र बनेको छैन व्यवसाय नै परिवर्तन गर्न समेत बाध्य भएका छन् ।
ठूलाठूला व्यापारिक मलदेखि सडक पेटीमा सामान किनबेच गर्नेको भीडभाड सामान्य देखिन्छ । झापाका मुख्य बजार काँकडभिट्टा, भद्रपुर, विर्तामोड, दमक लगायत बजारमा समेत दशैंको रौनकले छोएको देखिँदैन ।
तर सस्तो बजार खोज्नेहरुको चहलपहल भने राम्रै देखिन्छ । दमक चोक छेउछाउका पसलहरुमा स्टक सामान कटाउनलाई बाहिर सस्तोमा बेचिरहेका ठाउँमा भने क्रेताको भिड नै देखिन्छ । आर्थिक अवस्थाले गर्दा पनि मानिसहरु सस्तो बजारको खोजीमा लागेको बुझिन्छ । विशेषगरी कपडा, शृंगार पसल र खाद्यान्न पसलमा दैनिक भीड लाग्ने गरेको छ । पछिल्लो समयको आर्थिक मन्दीले गर्दा सोचेअनुसार व्यापार–व्यवसाय हुन नसकेको व्यवसायीहरु बताउँछन् । तर, यस अघिका वर्षको जस्तो व्यापार–व्यवसाय बढ्न नसकेको उनीहरूको गुनासो छ । विगतका वर्षको दशैंको तुलनामा यस पटकको दशैंको कारोबार आधाले घटेको व्यापारीको भनाइ छ । बजारमा देखिएको भीड जस्तो कारोबार बढ्न नसकेको दमक चोकका रेडिमेड ब्यापारीहरु बताउँछन् ।
विषम परिस्थितिका बाबजुद व्यवसायमा टिकेर बसेकाहरुलाई पनि भाडा तिर्न धौ धौ परिरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोकुल श्रेष्ठ व्यापारीहरुको पछिल्लो अवस्थाबाट निकै चिन्तित बनेको बताउँछन । दशैंको बाहिरि चहलपहल आए पनि व्यापारीमा खासै उत्साह नथपेको उनको भनाई छ । उनले विगत केही वर्षदेखि जुन रुप र अवस्थाले दशैं मनाइएको थियो यस पटक पनि सोही अनुरुपको दशैं हुने पक्का भएको उनको ठम्याई छ । विगतको भन्दा व्यापार व्यवसाय अझ खस्केको महसुस आफुले गरेको श्रेष्ठले बताए । उनले दमक क्षेत्रको मात्र नभएर दशैभरीको व्यापारको अवस्था उस्तै रहेको पनि बताए । उनले कोभिडदेखि नै उठ्न नसकेको व्यापार व्यवसाय अझ झन गिर्दो अवस्थामा गएको उनको बुझाई छ । बजार चलायमान बनाएर आर्थिक गतिविधि बढाउने सन्दर्भमा नगरपालिकासँग धेरै पटक छलफल गरेको पनि उनले बताए । उद्योग व्यवसायीलाई यो अवस्थाबाट माथि उठाउन उद्योग वाणिज्य संघले समन्यात्मक ढंगबाट विभिन्न व्यवसायीलाई सहयोग गरिरहेको भए पनि वाणिज्य संघ मार्फत छुट्टै कोष खडा गरेर अािर्थक टेवा पुग्ने काम नगरेको बताए ।
राम्रै व्यापार व्यवसाय जमाएर बसेकाहरुलाई समेत परिवार पाल्न धौधौ परिरहेको अवस्थामा सामान्य र साना व्यवसायीले कसरी दशैं मनाउँलान भन्ने चिन्ता लागेको पनि उनी बताउँछन । यद्यपि उद्योग वाणिज्य संघले व्यापारी, व्यवसायी र उद्यमीहरुको हितमा सरकारसँग कुरा राख्ने काम पटक पटक गरेको र गरिरहने उनले बताए । उनले पिरमर्कामा परेका उद्योगी, व्यवसायी मेरो छाता संगठन छ भनेर सम्झेर आएको खण्डमा दउवा संघले उसलाई सहजीकरण गर्ने काम गर्छ र गरिरहेको छ उनले भने । उद्योग वाणिज्य संघमा आवद्ध नभएका धेरै व्यवसायी रहेको तर आफुसँग उनीहरुलाई दर्तासम्मको दायरामा ल्याउन सक्ने हैसियत वा अधिकार नभएको कारणले पनि कानुनी दायरामा नआएका व्यवसायीलाई ल्याउन नसकिएको खुलासा गरे । यद्यीप त्यस्ता व्यवसायीलाई दउवा संघमा ल्याउने सन्दर्भमा नगरपालिकासँग समन्वय भईरहेको खुलासा पनि श्रेष्ठले गरे ।