दमक, ८ मंसिर
राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन कार्यक्रममा दमकस्थित आन्तरिक राजश्व कार्यालयले उत्कृष्ट करदाताका रुपमा मेची सहकारी संस्थालाई सम्मानित गरेको छ ।
बैंक तथा वित्तीय संस्थाकोतर्फबाट आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै कार्यालयले बिहीबार मेची सहकारीलाई सम्मानित गरेको हो ।
यसैबीच, सरकारले विभिन्न क्षेत्रका संस्था र व्यक्ति गरी देशका १६ उत्कृष्ट करदातालाई बिहीबार सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबीसी फुड्स एण्ड फिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् ।
बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केटले पनि उसैगरी सम्मान पाएका छन् । ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएको छ ।