भूपेन्द्रराज तिम्सिना
दमक | १० मंसिर
पुख्र्यौली सम्पती राम्रै थियो । बुबा पर्शुराम पाठकको सामाजिक छवि र व्यवसायिकताको प्रभावले चिनिन सजिलो भयो । यस्तो वातावरणमाझ युवा उमेरमा कतै मात्तिएको अवस्था पनि भयो । साथीभाईको संगतले ठक्कर पनि खाए । लड्दै उठ्दै गरेर उनी सामाजिक रुपान्तरणको कार्यमा आफुलाई सक्रिय बनाउन थाले ।
भूटानी शरणार्थीहरु नेपालमा आएपछि उनीहरुको राहत सहितका कार्यमा यूएनएचसीआरको कार्यक्रम पनि आयो । ग्लोबल फण्डको लगानीमा यूएनएचसीआरमार्फत युवा दुव्र्यसनीहरुलाई पुनस्र्थापनाको कार्यक्रममा उनी अघि सरे । कार्यक्रम मागे र कार्यक्रम पारेर ‘ह्याप्पी नेपाल’नामक संस्थाबाट युवाहरुको खुसी फर्काउने कामको झापामा अगुवाई गरे ।
विभिन्न ८ वटा संस्थामार्फत लागू औषध दुव्र्यसन सम्बन्धी १३ बर्ष काम गरेपछि दमक ५ का प्रदीप पाठकको मन फेरियो । सधैंजसो अरुकालागि धेरै बर्ष काम गरेपनि आफ्नो व्यक्तिगत जीवनतिर ध्यान पुग्न नपाएको महसुस गरे । आफ्नो र परिवारको समेत व्यक्तिगत खुसीका लागि खुसी हुन फरक बाटो रोजे । ‘त्यो बेला कार्यक्रम पनि फेजआउटको चरणमा थियो । त्यो भएर विदेशमा गएर त्यताको अनुभव समेत बटुलेर आफ्नो र परिवारको खुसीमा समय दिने सोचमा अमेरिका गएँ ।’– पछिल्लो पटक नेपाल आएकाबेला पूर्व सन्देशसँगको भेटमा उनले आफ्नो टर्निङ पोइन्ट बारे प्रष्ट्याए ।
‘ह्याप्पी नेपाल’ सहितका संस्थामा कार्यक्रम निर्देशक भएर काम गर्दाको अनुभव र प्रभावले उनलाई अमेरिकाको भिसा लाग्न मद्धत गर्यो । फलस्वरुप सन् २०१३ मा अमेरिका हानिए । केहि फरक सिक्ने कुरामा उत्सुक उनको अमेरिका पस्नासाथ त्यहाँको सिकाइको मैदानमा संघर्षमा उत्रिए । अर्थात त्यहाँ तल्लोतहदेखि नै संघर्ष नगरी धरै थिएन । नेपालको कामको अनुभवको आधारमा त्यही तहको काम पाउने सम्भावना निकै कम हुन्छ । तर पनि त्यहाँ पुनस्र्थापना भएका भूटानी शरणार्थीमा दुव्यर्सन विरुद्धको कार्यक्रम सञ्चालनको अवसर उनलाई प्राप्त त भएको थियो । तर उनले गरेनन् । ‘मैले दमकमा काम गरेको प्रभावका आधारमा यूएनएचसीआरका डा. ताइमुर हुसेनले त्यहाँ कार्यक्रम गर्नु भन्नु भयो । त्यो मेरालागि ठूलो अवसर थियो ।’ उनी भन्छन् ‘तर केहि बर्षमा त्यो कार्यक्रम पनि फेजआउट हुन्छ । फेरि अरु कामका लागि भौंतारिनु पर्छ । त्यो भन्दा आफैं स्वतन्त्र हिसावले व्यवसाय गर्ने सोचमा संघर्ष गरें ।’
सुरुका दिनमा त्यहाँ टिक्न र त्यहाँको जीवनशैली, रहनसहन र हरेकपक्ष सिक्न पसलहरुमा काम गरे । यता आटर््समा स्नातक तहको अध्ययन पुरा हुन नपाएको अवस्था थियो । सूचना प्रविधिको क्षेत्रमा केहि ज्ञान भएको र त्यसमा काम गर्न इच्छा पनि भएकाले आइटीको २ बर्षको स्नातक (व्याचलर) तहको अध्ययन गरे । ‘त्यसपछि ४ बर्ष आइटीको जागिर खाएँ र त्यसबाट त्यहाँको हरेक पक्ष जान्दै गएँ । त्यसले पनि व्यवसाय गर्नका लागि धेरै कुरासँग जानकार गरायो ।’– उनले आखिरीमा व्यवसाय नगरी नछोड्ने धोकोको प्रसंग जोड्दै भने ।
उनले आफुले नेपालमा संस्थामा काम गर्दा विदेशका दातृ निकायकाहरुसँग उताको काम गर्ने शैली सिकेका थिए । अनि एकता अर्थात संगठनमा विश्वास गर्ने कुराको मुल मर्म थियो कामको । के काम ? कस्कालागि ? र केका लागि गर्ने ? त्यसबाट के कतिलाई के फाइदा पुग्छ भन्ने कुराको योजना बनाएर व्यवस्थित रुपले अघि बढ्नु ती निकायको कार्यशैलीमा पर्दथ्यो । ‘ती ती कुराको सिकाइबाट मलाई व्यवसायका लागि रिसर्च गर्न र सञ्चालन गर्न उत्प्रेरित बनायो र सन् ०२१ को अन्तिमबाट आफैं व्यवसाय थालें ।’– उनले संघर्षका चरणहरु छोटकरीमा सुनाउने क्रममा आफ्नो अहिलेसम्मको अन्तिम अवस्था उल्लेख गरे ।
उनको ग्रिनकार्ड बनेपछि आफु बस्दै आएको लुइजियाना स्टेटमा व्यवसाय सुरु गरे । ग्यास, खाद्यान्न लगायतका बस्तुको एकप्रकारको ‘ग्रोसरी’ पसल हो ‘एयरपोर्ट चेभ्रन’ । काठमाडौंका कुमार खड्का जो अमेरिकामा व्यवसाय गर्दै आएका थिए, उनीसँगको सहकार्यमा प्रदीपले त्यो व्यवसाय थाले । डेढ÷ डेढ लाख डलरको दामासायीमा गरी ३ लाख डलर खर्चेर ‘एयरपोर्ट चेभ्रन’ लाई आफ्नो बनाए । प्रदीपले अहिलेसम्म त्यहाँ कमाएकोले अपुग भएर दमकको पुख्र्याैली केहि सम्पत्ती समेत बेचेर लगानी गरे । जो पहिले अरुले सञ्चालन गरेको पुरानो अर्थात अरुलाई जानकारी भएको पसल थियो ‘एयरपोर्ट चेभ्रन’ । नयाँ व्यवस्थापनमा सुरु गरिएको कुरा प्रचार प्रसार गरेपछि पहिले नै जानकारी भएको पसलका आधारले ग्राहकसँगको सम्पर्कमा समस्या भएन । ‘पेपर वर्क गर्दै वर्क प्लानमा चिरफार गर्ने मेरो अनुभव र व्यवसायिक व्यवस्थापनको कुमारजीको अनुभवलाई मिसाएर एकताको विश्वासमा हामी अघि बढ्यौं ।’ सन्तुष्टिको खुसी अनुहारमा ल्याउँदै प्रदीपले भने ‘सञ्चालनको एक बर्षमा ३० प्रतिशत व्यापार बढायौं ।’

१० बर्षको लिजमा लिइएको पसलमा हाल आफुहरु सहित १० जना कर्मचारी छन् । अमेरिकाको खास स्थानीय अवस्था बुझ्दै भित्र पस्न रहर छ प्रदीपलाई । अर्थात जीवनको अनुभूति संगालेर त्यहाँको यथार्थ जनजीवन र संघर्षको चरण जान्ने उत्सुकताले उनी त्यहाँका स्थानीयसँगको घुममिलमा छन् । अमेरिकामा पनि व्यवसायमा आफुले समेत प्रभाव जमाउने लक्ष्य लिएर अघि बढेका छन् । ‘अमेरिकनहरुको विलासी, चाँडै परिवारसँग टाढा बनिहाल्नेखाले जीवन भनेर हामीले बाहिरबाट सुन्दै आएका थियौं । तर भित्र पसेर बुझ्दै जाँदा उनीहरु प्रविधिको आविष्कारमा मात्र नभएर जीवनलाई सहज व्यवस्थापनमा पनि उत्तिकै गम्भिर रहेको पाउँदैछु ।’ – उनले प्रविधि, व्यवसायिकतासँगै जीवन सिक्ने उत्सुकता सहितको प्रसंगमा सुनाए ।
भूगोल मात्रै पनि राष्ट्रियता होइन । आफुसँग सधैं जिउँदो रहने मनभित्रको अमिट माया राष्ट्रियता हो भन्ने लाग्छ उनलाई । नेपाललाई माया मारेर अवसरबादी भएर त्यता गएको नभई मानिसले विश्वमा जतासुकै पुगेर जीवनको अनुभव बटुल्ने क्रममा आफु रहेको अभिव्यक्ति दिए । मान्छेभित्रको सन्तुष्टि सानो कुराले पनि प्राप्त हुनसक्छ । कहाँ कसरी आफु सन्तुष्ट हुन सकिन्छ, त्यो खोज्ने यात्रीका रुपमा अहिले उनको यात्रा छ । ५३ बर्षीय उनका सन्तान २ छोरीमध्ये कान्छी ‘स्टुडेण्ट भिसा’मा गएर उनीसँगै अमेरिकामा ‘आइटी’ पढ्दैछिन् । घर किन्ने चाँजो मिलाइसके । सन् २०२४ मा ठूली छोरी र श्रीमतीलाई पनि सँगैलगेर उनीहरुको जीवनको सिकाईलाई सहयोग गर्ने योजनामा छन् । ‘नेपालमा वातावरण छ अवसर छैन, अमेरिकामा अवसर छ तर आफ्नो चिनजानको आफ्नोपनको वातावरण छैन । यी परिस्थितीबीचमा म अहिले आफ्नो व्यक्तिगत अनि परिवारको खुसी खोज्न अनि अनुभव संगाल्न संघर्षरत छु । यसमा कस्ले कसरी बुझ्नुहुन्छ, त्यो उहाँहरुको कुरा हो ।’– उनले भने ‘मेरो बुबाले दिनु भएको इमान्दार, खुला मनस्थिती र इच्छुकताको तीन शुत्रीय दिव्य ज्ञानलाई मुलमन्त्र मानेर जीवनको उत्तराद्र्धको चरणमा जीवन अनुभूतको क्रममा छु ।’