शिक्षाको परिभाषा प्रसिद्ध विद्वानहरुले यसरी दिएका छन् : विलियम बटलर येटस र रविन्द्रनाथ टैगोरले यसो भनेका थिए – ‘शिक्षा भनेको बाल्टिन भर्नु होइन, आगो सल्काउनु हो ।’ ‘आफ्नो बच्चालाई आफूले सिकेको ज्ञान मात्र दिन नखोज, उ तिमीभन्दा फरक समयमा जन्मिएको छ ।’
वास्तवमा भन्ने हो भने शिक्षा ज्ञानको ज्योति हो । यसको ज्ञानले मानवलाई सुधार्छ, सुधारिएको समाज निर्माण गर्न शिक्षाको कमजोरीले युवाहरू तड्पिन्छन्, आफै भट्किन्छन् । आज शैक्षिक जगतलाई सही मोडमा राज्यले लान नसकेको कारण प्रत्येक वर्ष एसईईको परीक्षाफल खस्किदै गएको अवस्था विद्यमान छ । आखिर किन खस्कियो ? के कारणले खस्कियो ? यसको दोषी को हो ? योसम्म अवलोकन र अन्वेषण गर्न सक्दैन शिक्षा मन्त्रालय र तिनका मातहतका कार्यलयहरु । शिक्षामा प्रत्येक वर्ष अर्बौं, खर्बाैं लगानी तालिम, गोष्ठी, सेमिनार लगायतका अनेक क्षेत्रमा निकासा हुन्छ । तापनि शैक्षिक क्षेत्रले कुनै आमूल परिवर्तन गर्न सकेन, किन ? यस क्षेत्रमा बिशेषतः शैक्षिक बिचौलियाहरुको ठेकेदारी प्रथाले आशातित परिवर्तन गर्न भने सकेन । सरुवा, बढुवा लगायतका अनेक कर्मकाण्डीले गर्दा शैक्षिक क्षेत्र तहसनहस हुन पुगेको छ । हिजोका दिनमा लब्धाङ्कपत्रमा नम्बरिङ गरिन्थ्यो भने अहिले लेटर ग्रेडिङ सिस्टममा विद्यार्थीको कक्षोन्नति गरिदैछ, त्योपनि अहिले वैज्ञानिक हुन सकेन । हुन सक्ला आ–आफ्नो ठाउँमा यो दुबै प्रणाली ठिकै होलान् तर आम विद्यार्थीहरुको मनस्थितीलाई रुपान्तरण गरेर हेर्ने हो भने लेटर ग्रेडिङ प्रणालीले विद्यार्थीमा अन्यौलता छाएको देखिन्छ । त्यसमा पनि धेरैले जीपीए भनेको के हो ? त्योसम्म बुझेको देखिन्न । समग्रमा भन्नुपर्दा १०० पूर्णांकमा पासांक ३२ स्पष्ट लब्धाङ्क पत्रमा देखियो भने चाहिँ विद्यार्थीहरु अलमलमा पर्ने देखिन्नथ्यो भन्ने आम विद्यार्थीहरुको बुझाइ छ । यस्ता विविध कारणले पनि शिक्षक र विद्यार्थीबीचको पठनपाठनको अन्यौलता यो ग्रेडिङ प्रणालीले ल्याइदिएको ठम्याइ छ आम शिक्षक र अभिभावकमा ।
अनि अर्को कुरा शैक्षिक क्षेत्रमा प्रत्येक वर्ष अनेकन विधि र प्रक्रिया अनि नचाँहिदा विधेयक, नियमावली आउने फेरि परिवर्तन हुने सिष्टम आएको हुनाले पनि शैक्षिक जगत तहसनहस हुन पुगेको छ । शिक्षा क्षेत्रको यो गरिमाका लागि पनि आमूल परिवर्तन हुनका निम्ति कमसेकम शिक्षा मन्त्रीहरु स्नातक तहसम्म उत्तीर्ण भएको बहाली हुनुपर्ने हो । त्योसम्म देखिन्न यो नयाँ नेपालमा । न नीति, न नियम, न अनुगमन, न मूल्यांकन केही कतै भएको देखिन्न । शिक्षक कुनै दलको सदस्य हुनुहुन्न भन्ने गर्छन् तर तिनै शिक्षक दलका हनुमान भएर अगाडि पछाडि कुदेको देखिन्छ । कतिपय सामुदायिक विधालयमा धेरै शिक्षकहरु अध्यापन गराउन छोडेर पार्टीको नेताहरुको पदीय चुनावको अधिकृत पदमा नियुक्त भएर चुनावमा खटिएको देखिन्छ । यतिमात्र होइन चुनावमा मतदाता क्रमसंख्याको लिष्ट गोप्य रुपमा मतदाताको घरघरमा गएर बेलुकी नै बाँढ्न राजनीतिक दलहरुले शिक्षकहरुलाई लगाएको भेट्न सकिने गतिला प्रमाणहरु छन् । अनि कसरी विद्यालयको एसईईको परीक्षाको नतिजा खस्किदैन र ? मैले यहाँ उठान गरेका विषयबस्तुमा सामुदायिक विद्यालयको शैक्षिक क्षेत्रको बिरुद्धमा यी वस्तुनिष्ट कुरा उठान गरेको होइन । यहाँ परिपाटीको विकास अध्ययन÷ अध्यापनमा चुस्तदुरुस्त नराखी पार्टीको काममा शिक्षकहरुलाई प्रयोग गर्ने राजनीति दलहरुलाई मात्रै भन्न खोजेको हो । साँचो अर्थमा भन्नैपर्दा यो काम दलहरुले भित्री रूपमा अहिले पनि गरिरहेकै छन् । हिजोका दिनमा चुनाव नजितुञ्जेलसम्म एउटा समाजको विद्दत वर्गलाई प्रयोग गर्ने अनि अहिले आएर दलको सदस्यता लिएको हुन नहुने यो मिश्रित कुराले गर्दा नि एउटा शिक्षकले सही बाटो पक्रन सकेनन । अनि विद्यार्थीको उत्तीर्ण प्रतिशत घटेपछि सबै दोष शिक्षकलाई दिने यो सिण्डिकेट प्रणालीको अन्त्य शिक्षकले गर्न सकेनन् भने अझै शैक्षिक जगत अनिश्चितताको भूमरीमा पर्ने निश्चितप्रायः छ । सबैभन्दा पहिले स्कुलमा गएर अनुगमन गर्नुहोस् । विषयगत शिक्षकहरुको अभाव छ, या छैन ? अस्थायी, करार लगायतका १३ थरीका शिक्षकले अध्यापन धानेको छ अहिले । स्थायी शिक्षकहरु बढुवा, सरुवा, पदोन्नतिका लागि गाउँदेखि केन्द्रसम्म धाइरहेको अवस्था छ । ति बिधालयमा अध्ययन अध्यापनसम्म भएको छैन । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलहरुको दैनिकी अनुगमन हुन नसकेको कारणले पनि यो पटकको एसईईको नतिजा खस्किएकै हो । यो नतिजा न्यून हुने अर्को कारण अभिभावक र विद्यार्थीको मोबाइल मोह नै हो । इन्स्टाग्राम , फेसबुक, भाइवर कल, टिकटक, पब्जी, फ्री फायर लगायतका अन्य धेरै एप्सहरुमा घण्टौ घण्टासम्म विद्यार्थीको लगाव दिन प्रतिदिन बढिरहेको र अभिभावकले पनि आफ्ना छोराछोरीहरुलाई आफ्नो नियन्त्रणमा नराखी पठन संस्कृतिको विकासमा आफ्नो उतरदायित्व बहन नगरेकै कारणले देशभर सातवटै विषयमा विद्यार्थीहरु अनुत्तीर्ण भएका हुन् । विद्यार्थीहरु सीमा बाहिर छन्, दैनिकी अध्ययनमा रुचिकर भूमिका कसैलाई छैन । पढ्ने भन्दा नि मनोरञ्जनात्मक काममा धेरै विद्यार्थी लागेका छन् । आफ्ना छोराछोरी के गर्दैछन् भन्नेसम्म अभिभावकलाई चासो छैन । जब परीक्षाफल निस्कन्छ, अनिमात्र उनीहरूको कान खुल्छ र विद्यालयको दैलोमा पुगेर शिक्षक÷ शिक्षिकालाई गालीगलौज गर्नेहरुको भीड बढ्छ । यतिमात्र होइन शिक्षामा विद्यार्थीलाई मासिक रुपमा महङ्गो रकम असुल्नेहरु तिनै सामुदायिक बिधालयलाई धारे हात लगाउनेहरु बग्रेल्ती छन् । भनाइ छ नि ‘……सक्यो दैलो देख्यो ।’ शैक्षिक क्षेत्र पनि माथिका र अन्य विविध कारणले अछुतो रहन सकेन ।
नेपालको वर्तमान शिक्षाले न त पूर्वीय मान्यताका असल अभ्यास र परम्परालाई आत्मसात गर्न सकेको छ, न त पश्चिमा दर्शनको व्यवहारिक पक्षलाई नै पहिचान गरेर अघि बढ्न सकेको छ । स्थानीय स्रोत, साधन, स्थापित मूल्य मान्यता तथा मौलिक परम्परालाई आवश्यकताको आधारमा लागू गर्न नसक्नु नै नेपालको शिक्षाको प्रमुख समस्या हो । यी समस्याका अतिरिक्त विद्यालयीय शिक्षाका प्रमुख समस्या यी हुन् : (क ) दूरदृष्टिको अभाव (ख) नीतिगत अस्पष्टता (ग) फितलो अनुगमन प्रणाली (घ) समन्वयको अभाव (ङ) चरम राजनीतिक हस्तक्षेप (च ) कमजोर प्रशासनिक अवस्था छ ) कमजोर परीक्षा प्रणाली (ज) अव्यबहारिक पाठ्यक्रम (झ) शिक्षामा दोहोरो नीति (सामुदायिक÷ निजी ) (ञ) शिक्षकमा विविधता (ट) शैक्षिक व्यवस्थापनमा अन्यौलता
यी विविध समस्यालाई समाधान गर्न सबै सरोकारवाला निकाय अग्रसर हुनैपर्छ । प्राविधिक तथा सीपमूलक शिक्षामा जोड दिनका निम्ति सबै जुटनै पर्छ । यहाँ कुराले होइन सत्कर्म राखेर अध्ययन/अध्यापन लगायत विद्यार्थी वर्गले मोबाइल संस्कृतिमा होइन दैनिकी पठन संस्कृतिमा जुट्न सके एसईईको परिणामलाई अझै वृद्धि गर्न सकिन्छ । यसमा सबै शैक्षि पक्ष र सरोकारवाला निकायहरु होष्टेमा हैसे गरौं ।