“खतहरु कहिल्यै सुन्दर हुन सक्छन् र ?” मैले उनको सुन्दर गार्डेनमा बसेर चिया खाँदै मेरीलाई सोधें । वरिपरि फुलहरुले घेरिएको अंगुरको झाङमुनि राखिएको टेबलमा हामी दुई र मेरीका दुई बूढाबूढी थियौं । मेरी आफ्नो लोग्ने डेभिडको घुँडामा भएको पुरानो र गहिरो खत देखाउँदै बोल्दै थिई ।
“यी खतहरु निको भएका शरीर र मनका प्रमाण हुन् । यी खतहरु हाम्रा दुःखका स्मारक पनि हुन् । यिनलाई हेरेर हामी बितेको समयप्रति कृतज्ञ हुन सक्छौं । शरीरलाई बिरुप पारे पनि यी खतहरु आफैंमा सुन्दर हुन्छन् ,” उनले दार्शनिक कुरा पो गरिन् । मेरो मन कहाँ मान्थ्यो र ? खतहरु त खत नै हुन्, ती कसरी सुन्दर हुन सक्छन् भन्ने मलाई लाग्यो । म त्यस कुरामा सहमत नभएको भाव बुझेर हुन सक्छ, उनले फेरि कुरा थपिन् , “हो नि, यो खत अरुका आँखामा झट्ट हेर्दा कुरुप लागे पनि डेभिड र मेरो जीवनमा यसले ठूलो महत्व राख्छ । उनी दश वर्ष अगाडि ठूलो रेल दुर्घटनामा परे र जोगिए । त्यसबेला धेरै मान्छे मरे । उनको घुँडामा नराम्रो चोट लाग्यो । एउटा खुट्टै बिग्रियो । हिड्दा बैशाखीको सहारा चाहिन्छ । यो निको हुन दुई बर्ष लाग्यो । एक बर्ष त पूरै उनले अस्पताल बस्नुप¥यो । यो खत त पुनर्जीवनको निशानी हो । यो खतले बोकेको कथा, हामीले भोगेको मनोदशा हाम्रो लागि प्यारो भए पनि अरुका लागि महत्वहीन हुनसक्छ । अब तिमीलाई कस्तो लाग्छ, यी हामीले बोकेका खतहरु सुन्दर छैनन् त ?”
खेदिएकाहरुका खत
मरियम बज्यै बयानब्बे बर्षकी छन् । उनी आफ्ना काम आफैं गर्न मन पराउँछिन् । थोरै अंग्रजी भाषा र धेरै हावभावको सहाराले उनी बोल्छिन् । त्यस बूढेसकालमा समेत उनी भाषा सिक्नका लागि फारसी–अंग्रजी सहायक पुस्तक पढिरहेकी हुन्छिन् । पैतिस वर्षअघि उनीहरु कसरी भाग्दैभाग्दै अष्ट्रेलिया आइपुगे भन्ने उनको कथा लामो छ । बहाई धर्म इरानमा निषेधित भएका समयमा उनी जेल परिन् । शासकहरुले उनका लोग्नेलाई विधर्मी भएको आरोपमा मारि नै दिएछन् । जेलबाट छुटेपछि लालाबाला लिएर छिमेकी मुलुकमा शरण लिएर सात बर्ष कटाएपछि अन्त्यमा अष्ट्रेलिया आइपुगेर मात्र मरियमले ढुक्कको सास फेर्न सकिछन् । जस्तै पीडा खपे पनि आफ्नो जन्मभुमिको कुरा गर्न उनी मन पराउँछिन् ।
“यसले मेरो देश र माटो सम्झाउँछ,” एउटा अत्यन्त सुन्दर चाँदीको बट्टामा अलिकति बिगुतजस्तो पदार्थ देखाउँदै उनले थपिन्, “ यो मेरो देश हो । यो मेरो माटो हो ।” आफ्नो देश छोड्दा उनले अलिकति माटो बोक्न भ्याइछन् । त्यो उनका पिता पुर्खाले आर्जेको माटोमा अनन्त कथा श्रृंखला जोडिएका हुँदा हुन् । मरियमका कुराले मलाई झन्डै भक्कानो छुटाएको थियो । मरियम आफैं यी सबै कुरा व्यक्त गर्न असमर्थ भए पनि उनका छोरा ब्रुसले दोभाषेको काम गरिदिन्थे । केहि समय अघि मात्र ब्रुसको लामो इमेल प्राप्त भयो, “आमा बित्नुभो । उहाँका खतहरु सबै दफनाइए ।”
हो नि, मरियम पनि भन्थिन्, “मैंले मेरो देशमा पाएको दुःख म बिर्सिन्न । ती खत बनेर मेरा मन मुटुमा बसेका छन् । देश सबैका लागि सधैं प्रिय हुन्छ । शासकहरु आफूलाई अमर ठान्छन् । असल शासक नपाउनु हाम्रो दुर्भाग्य हो ।” मरियमका कुरा सत्य हुन् । असल शासकको खोजी र असल शासन विधिको खोजीमै हाम्रा पूर्खाहरु बिते । अहिलेका समयको कथा पनि हाम्रा लागि त्यति फरक छैन ।
मरियमसँग कुरा गरेपछि मलाई लाग्यो, यी खतहरु प्यारा हुने रहेछन् । यस्तै खतहरुका कथा मेरी एक विद्यार्थी साजी डाबीसँग पनि जोडिएका थिए । अल्पसंख्यक जातिमाथिको उत्पीडन खप्न नसकेर बर्माबाट ज्यान जोगाउँदै शरणार्थी बनेर अष्टे«लिया पुगेका साजी र उसका परिवारलाई बोलिचालीको अंग्रेजी भाषा सिकाउन स्वयम्सेवकका रुपमा म उनीहरुकै घरमा जान्थें । साजी र उसको लोग्ने यस र नो मात्र भन्थे । म जाँदा लोग्नेचाहिं लुङ्गी कसेर एकाकुनामा पल्टिरहेको हुन्थ्यो । साजी भनें म पुग्नासाथ किचेनमा छिरेर अति गुलियो चिया लिएर हाजीर हुन्थी । तेश्रो दिनमा मैले बल्ल बुझाउन सकें म चिया खान्न भनेर । साजीका एकजना आफन्तले सात दिनपछि बल्ल बुझाइदिए– लोग्ने चाहिंको ढाडमा दमनकारीले बन्दूकका कुन्दाले हानेका चोटका कारण ऊ लडिरहँदो रहेछ । अनि साजी फेरि गर्भवती भएकाले उनीहरु पढाइ स्थकित गर्न चाहँदा रहेछन् । त्यति कुरा बुझाउँन उनीहरुले छिमेकी गुहारेका रहेछन् । ती बर्मेली परिवारका खत मरियम र डेभिडका जस्ता पुराना थिएनन् । उनीहरुका चोट आलै थिए, खाटा बसिसकेका थिएनन् ।
आला अफगानी खतहरु
एउटा मल्टिकल्चरल देश भएका कारणले अष्टे«लियाले यस्ता धेरै खतहरुमा मल्हम लगाइदिएको छ । हाम्रै नेपाली मूलका भुटानी दाजुभाइहरु समेत त्यहाँ पुनस्र्थापित भएका छन् । आफू बसेको ठाउँ नजिकै कर्नरमा सानो खाजा घर खोलेर बसेका अफगानी मूलका रहमान भाइलाइ सम्झन्छु म । अग्लो शरीर भएको एउटा लामो घुर्मैलो रंगको कुर्ता लगाउने रहमान ठोसाइ पकाइरहेको हुन्थ्यो । उसकी जहान श्रीलंकन मूलकी ऊजस्तै शरणार्थी परिवारकी थिई । रहमान कसरी नाउ चढेर त्यहाँ शरण लिन आइपुग्यो भन्ने कथा कहालिलाग्दो छ । तर उसका खतमा मल्हम लगाउन बबिथा फेला परी । अहिले त ससाना छोराछोरीहरु पनि छन् रहमानका खत सुम्सुम्याइदिन् ।
यिनै खतहरुका कुराले मलाई अहिले ती निरिह अफगानीहरुको सम्झना गरायो । आफ्ना मन र शरीरमा बर्षौदेखि अशान्तिको त्रास बोकेर बाँचेका ती नागरिकहरु कसरी रात काट्दा हुन्, कसरी दिन बिताउँदा हुन् ? मृत्यु, विस्थापन र संभावित आतंकका भय यिनीहरुका मनभरी होलान् । यिनीहरुका पुराना घाउमा खाटा बसिनसक्दै फेरि घाइते बनेका छन् । हामी टाढाबाट अफगानिस्तानमा शान्ति कायम होस् , मानिसहरु घरमा पस्न र सुत्न सकुन् भन्ने कामना गर्न मात्र सक्छौं । खालेद होसेनीको द काइट रनर र अ थाउजेन्ड स्पेन्डिड् सनले देखाइदिएको एक झल्को अफगानिस्तान सम्झेर ती बालकहरु कहिले खुशीले बुर्कुसि मार्दै विद्यालय जालान् र महिलाहरु मन खोलेर मुस्कुराउन सक्लान् भन्ने ठान्छु । अफगानिस्तानका चोटहरु छिटै निको हुन् भन्ने हाम्रो कामना छ ।