बिर्तामोड/ देशकै सबैभन्दा होचो भूभाग कचनकवल घुम्न गएका पाँच विदेशी नागरिकलाई भारतको सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको छ ।
नेपालको प्रवेषाज्ञा (भिसा) बनाएर घुम्न आएका पाँचजना युक्रेनी नागरिक कचनकवल गाउँपालिकासँग जोडिएको भारतको विहार राज्यस्थित किसनगञ्ज जिल्लाको कादोगाउँ सीमा क्षेत्र घुम्दै गरेको अवस्थामा एसएसबीको नियन्त्रणमा परेका हुन् । केचना–कादोगाउँ सीमा नाका नजिकै नेपाल–भारतको ११९ नम्बर सीमा पिलर पर्छ । एसएसबी १९ नम्बर बटालियन सुखानीको टोलीले नियन्त्रणमा लिएका युक्रेनी नागरिकहरू मारियाना रुडिक, भ्लादिमिर कोवालचक, लिलिया कोवालचक, ओलेकासन्दर काप्टजेन र इवान सिक रहेको जनाइएको छ । उनीहरूको उमेर २६ देखि ३५ वर्षसम्मको छ । कचनकवल घुम्न पुगेका उनीहरू घुम्दाघुम्दै नेपालको सीमा छाडेर सय मिटरभित्र भारतीय भूमिमा प्रवेश गरेका थिए । भारत प्रवेश गरेका उनीहरूलाई एसएसबीले सोधपुछका क्रममा भारतको भिसा देखाउन भनेका थिए । तर, उनीहरूसँग नेपाल आएको भिसा मात्र रहेकोले आवश्यक कारबाहीका लागि किसनगञ्ज कारागार चलान गरिसकेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
