इटहरी/सुनसरीमा भएको सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत कोशी गाउँपालिका–८ मा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस गाडीले विपरीत दिशाबाट आउँदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकल र को १ च ९३६८ नम्बरको पिकअप गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी ५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार मोरङ विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर–७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको जिल्ला अस्पताल इनरुवा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाबाट घाइते भएका हायस चालक नुवाकोट बिदुर नगरपालिका १३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक २५ वर्षीय नारायण बत्स्यालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।