अर्थ देश–समाज लेख समाचार स्थानीय

झापा, मोरङ र सुनसरीका किसानले पाएनन् मल

विमल लामिछाने
दमक/ अन्नको भण्डार मानिने झापा, मोरङ र सुनसरीका किसान मल नपाएर छटपटाइरहेका छन् ।
हालसम्म जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको र ७२ प्रतिशत रोपाइँ बाँकी रहेको यो प्रदेशमा मल तत्काल वितरण प्रक्रियामा लैजान प्रदेश सांसदहरुले माग गरेका छन् ।
कोशी प्रदेशमा धान खेतीका लागि मात्र ७३ हजार मेट्रिक टन डीएपी मलको आवश्यकता पर्ने भए तापनि असार अन्तिम साता बित्न लाग्दा जम्मा ८ हजार ५३९ मेट्रिक टन मात्र आपूर्ति भएको छ । यो कुल मागको करिब १२ प्रतिशत मात्रै हो ।
धान रोपाइँको मुख्य सिजन चलिरहँदा रासायनिक मलको चरम अभाव देखिएको हो । एकातिर खेतमा हिलो तयार पारेका किसान मल नपाएर छटपटाइरहेका छन् भने अर्कोतिर जननिर्वाचित प्रतिनिधिले संसदमा सरकारको कडा आलोचना गर्न थालेका छन् ।
मोरङ क्षेत्र नम्बर ४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सन्तोष राजवंशीले बुधबार प्रतिनिधिसभा बैठकमा मल अभावको विषयलाई लिएर सरकारमाथि कडा प्रश्न प्रहार गरेका छन् ।
उनले सरकारको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै भने, ‘म भात खान्छु । सरकारले के खान्छ ? मलाई लाग्छ सरकारले पनि भात खान्छ । मलाई त थाहा छ त्यो भात कहाँबाट आउँछ, सरकारलाई त्यो कुरा थाहा छ कि छैन ?’ सांसद राजवंशीले कृषिप्रधान देशमा किसानको बिचल्ली कहिलेसम्म हुने भन्दै खाद्य सुरक्षाजस्तो गम्भीर विषयमा सरकार थप जिम्मेवार बन्नुपर्ने बताए ।
विशेषगरी धान रोप्ने बेला माटो हिल्याउँदा हाल्नुपर्ने डीएपी मलको अभाव सबैभन्दा जटिल देखिएको छ । कोशी प्रदेशमा असार २२ गतेसम्म ३१ प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको छ, तर यस अवधिमा किसानले डीएपी भेटाउनै मुस्किल परेको कृषि सामग्री संस्थानको तथ्यांकले पुष्टि गरेको छ । डीएपी नपाएपछि किसानहरूले धान रोपेको २२ दिनपछि मात्र हाल्नुपर्ने युरिया मललाई नै भए पनि हालेर काम चलाउन बाध्य भएका छन् ।
कोशी प्रदेशका मुख्य चार केन्द्रहरूबाट साउनदेखि हालसम्म ६१ हजार ७०० मेट्रिक टन युरिया, १६ हजार ६०० मेट्रिक टन डीएपी र २ हजार २५० मेट्रिक टन पोटास वितरण भएको छ । तर, धान खेतीकै लागि भनेर विराटनगरबाट५६० टन, इटहरीबाट २२५ टन, बिर्तामोडबाट १६५ टन र गाईघाटबाट ७१० मेट्रिक टन मात्र डीएपी वितरण गरिएको छ, जुन मागको तुलनामा अत्यन्तै न्यून हो ।
अहिले धान खेतीका लागि मात्र नभई मकैका लागि समेत मलको माग पहिलेको तुलनामा झण्डै दोब्बर बढेको छ ।
मलको अभावले गर्दा कार्यालयमा किसानको दैनिक भीड लाग्ने गरेको छ । व्यावसायिक खेती र रासायनिक मलमा बढ्दो निर्भरताका कारण समयमै मल उपलब्ध नहुँदा यस वर्ष धान र मकैको उत्पादनमा समेत ह्रास आउने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।
सत्ता पक्षकै सांसदहरूले समेत मलको विषयमा सरकारको आलोचना गरिरहेका बेला किसानहरू भने डिलर र सहकारीका ढोकाबाट रित्तो हात फर्किन बाध्य छन् । घण्टौँसम्म लाइनमा बस्दा समेत किसानले मल पाउन सकेका छैनन् ।
कृषि विभागका अनुसार नेपालमा १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान रोप्ने गरिन्छ । जसमध्ये यस सातासम्म ४ लाख ४३ हजार ५९५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । अर्थात् यस सातासम्म देशभर ३२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यति बेलासम्म ४५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । झापा, मोरङ र सुनसरीमा हालसम्म जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको र ७२ प्रतिशत रोपाइँ बाँकी रहेको तथ्यांक छ । खेतीको सिजनमा पनि मल नपाएपछि अन्नको भण्डार मानिने कोशी प्रदेशका किसान निरास बनेका छन् ।

Author

You may also like