कला/साहित्य/संस्कृति मुख्य शिक्षा

त्रिलोचन रेग्मीको संस्मरण कृति ‘स्मृतिमा आइरहने दिनहरू’ लोकार्पण

विमल लामिछाने

दमक । साहित्यकार त्रिलोचन रेग्मीको संस्मरणात्मक कृति ‘स्मृतिमा आइरहने दिनहरू’ शनिबार झापाको दमकस्थित पृथ्वी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
भाषा, साहित्य, कला, संस्कृति, खेलकुद विकास तथा समाज कल्याणका लागि क्रियाशील साहित्य कला संगमको आयोजनामा सम्पन्न कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्रा. डा. गोपालप्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए । कार्यक्रमको अध्यक्षता साहित्यकार विन्दु दाहाल ‘मुकदर्शक’ले गरेका थिए भने महासचिव ओमप्रकाश खनालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पुस्तकमाथि दमक क्याम्पसका प्राध्यापक शिव रेग्मी र उपप्राध्यापक लीलाराम निरौलाले समीक्षा प्रस्तुत गर्दै कृतिले लेखकका व्यक्तिगत जीवनका अनुभूतिसँगै तत्कालीन पहाडी ग्रामीण समाज, शिक्षा, संघर्ष र सामाजिक परिवेशलाई जीवन्त रूपमा चित्रण गरेको बताए ।
इलामको फाकफोकथुम गाउँपालिकास्थित फुएतप्पामा जन्मिएका रेग्मी हाल झापाको दमक–१ मा बसोबास गर्दै आएका छन् । उनले विभिन्न विद्यालयमा ३८ वर्ष शिक्षण सेवा गरेपछि अवकाश लिएका हुन् । शिक्षणसँगै सामाजिक तथा साहित्यिक क्षेत्रमा सक्रिय रेग्मीले विभिन्न संघसंस्थामा आबद्ध भएर काम गर्नुका साथै अनेक पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् । उनले ‘सोलु सन्देश’, ‘दीर्घ जीवनका अनुभूतिहरू’, ‘ज्येष्ठ नागरिक सम्मान’ तथा ‘हरिप्रसाद राई स्मृति ग्रन्थ’ लगायतका पुस्तक र पत्रिकाको सम्पादनसमेत गरेका छन् । ‘स्मृतिमा आइरहने दिनहरू’ उनको पहिलो संस्मरण कृति हो ।
२५६ पृष्ठको पुस्तकमा ‘मेरी आमा’, ‘आमालाई सताइएका तीन घटना’, ‘जात गएको अवस्था’, ‘किशोरवयका दश दिन’, ‘मेरो प्यारो कोप्चे’, ‘इलाम क्याम्पसको पढाइ र छात्रवृत्ति’, ‘मृत्युको मुखबाट बचेको दिन’, ‘अधुरो सपना’, ‘हिटलिस्ट’, ‘बहुमुखी प्रतिभाका धनी हरिप्रसाद’, ‘जीवन यात्रामा’, ‘स्रोतव्यक्ति’ तथा ‘नेपालदेखि फ्लोरिडासम्मको यात्रा ः एक संस्मरण’ सहित २५ वटा संस्मरण समेटिएका छन् ।
कार्यक्रममा साहित्यकार होमनाथ अधिकारी, वीरेन्द्र थोङ्लिङ, भुटानी साहित्यकार दिल भूटानी, उत्तम भट्टराईलगायत विभिन्न जिल्लाबाट आएका साहित्यिक स्रष्टा, साहित्य कला संगमका पूर्व तथा वर्तमान पदाधिकारीको उपस्थिति रहेको थियो ।
सो अवसरमा होमनाथ अधिकारी, कमल भट्टराई, नरपति पाण्डे, डा. व्यञ्जना शर्मालगायतले कृतिमाथि मन्तव्य राख्दै रेग्मीका संस्मरणहरूले एउटा पुस्ताको जीवनभोगाइ, ग्रामीण परिवेश, शिक्षा र सामाजिक रूपान्तरणको यात्रालाई दस्तावेजका रूपमा प्रस्तुत गरेको धारणा व्यक्त गरे ।

Author

You may also like