दमक/ झापाको दमकमा आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । बुधबार बिहान दमक प्रज्ञा प्रतिष्ठानले दमक–६ स्थित भानु चौकमा विभिन्न संघ संस्थाहरुको सहकार्यमा भानुभक्तको सालिकमा माल्यार्पण गर्नुका साथै कविता वाचन गरेर सो जन्मजयन्ती मनाइयो । कार्यक्रमका प्रमुख अतिथि तथा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा रहेका थिए । उनले भानुभक्तको अर्धकदको सालिकमा माल्यार्पण गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । साथै मन्तव्यको क्रममा उनले भानुभक्तको अर्धकदको सालिकका ठाउँमा पूर्ण कदको सालिक बनाइदिन नगरपालिका तयार रहेको बताए । दमक प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष जीवन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धनञ्जय बाँस्कोटा र कार्यक्रम संचालन प्रतिष्ठानका सचिव विष्णु न्यौपानेले गरेका थिए ।
सो अवसरमा साहित्यकार विन्दु दाहाल ‘मूकदर्शक’ ले नेपाली साहित्यमा भानुभक्तको योगदानका बारेमा विस्तृत चर्चा गरेको थिए । उनले भानुक्तलाई आदिकवि भन्नुको कारणबारे समेत प्रष्ट पारेका थिए । कविता वाचन गर्नेहरुमा सञ्जु निरौला, अम्बिका सापकोटा, गंगाधर कट्टेल लगायत रहेको जानकारी गराइएको छ । रामायण वाचन भने मन्दिरा भट्टराईले गरेकी थिइन् । सो कार्यक्रममा प्रतिष्ठान मूल आयोजक र सहआयोजकहरुमा प्रतिभा निकेतन, साहित्य कला संगम, डाइनामिक पब्लिक लाईब्रेरी, नेपाल वाङ्मय प्रतिष्ठान, जीवन स्मृति प्रतिष्ठान र कदम थिएटर रहेका थिए ।
यता भानुभक्तको जन्मजयन्तीका अवसरमा दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान केन्द्रीय कार्यालयले पनि प्रतियोगितात्मक रामायण वाचन तथा कविता वाचन कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानकै कार्यालयमा गरिएको सो कार्यक्रममा दमक–५ का वडाध्यक्ष ईन्द्र बहादुर गुरुङ प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा ११ प्रतियोगीमध्ये रामायण वाचनमा प्रथम सरिता खनाल, दोश्रो तुलसी देवी कडरिया तेश्रो
भानुजयन्ती….हरिमाया गौतम भएका थिए । अप्रतियोगी ५ जनाले पनि रामायण वाचन गरेका थिए । त्यसैगरी कविता वाचनमा प्रथम हुनेमा अर्चना कोइराला, दोश्रो हुनेमा सञ्जु निरौला र तेश्रो हुनेमा अम्बिका सापकोटा रहेका छन् । कविता वाचन प्रतियोगितामा ६ जनाको सहभागिता रहेको थियो । अप्रतियोगी कविता वाचन ६ जनानै रहेका थिए । मूल्यांकनकर्तामा ओमप्रसाद खनाल, गंगादेवी शर्मा दाहाल र लक्ष्मी प्रसाद दाहाल रहेको जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष सिताराम खतिवडाको अध्यक्षतामा भएकोमा स्वागत मन्तव्य उपसचिव शिव प्रसाद काफ्ले र कार्यक्रम संचालन सचिव नरपति पाण्डेले गरेका थिए । विजेताहरुलाई प्रतिष्ठानका संचालक समिति सदस्य कमल प्रसाद दाहाल र निजको परिवारले नगद पुरस्कार सौजन्य गरेका थिए । कार्यक्रममा प्रतिष्ठान हातामा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको प्रमुख अतिथि गुरुङ लगायतले माल्यार्पण गरेका थिए । सो सालिक निर्माण गर्न कमल प्रसाद दाहाल, शंकर प्रसाद दाहाल, लक्ष्मी प्रसाद दाहाल र उर्मिला मिश्रले आर्थिक सहयोग गरेका थिए । वि.स. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा भानुभक्तको जन्म भएको थियो । भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।