Banner

मालपोतको सेवा सुधार्न दमक नपाको दवाव

दमक/ मालपोत कार्यालय दमकको काम कारवाही प्रति दमक नगरपालिकाले असन्तुष्टि जनाएको छ । पालिकाका विभिन्न वडाहरुले गरेको जग्गा वर्गीकरण सम्बन्धी सिफारिसलाई बेवास्ता गरी मालपोतका कर्मचारीहरुले आ–आफ्नै ढंगले त्यसलाई परिभाषित गर्ने गरेको र सर्वसाधारण सेवाग्राहीको काममा अनावश्यक दुःख दिई आर्थिक लेनदेन समेत हुने गरेको पाइएकोले नगरपालिकाले यस्तो असन्तुष्टि जनाएको हो । जग्गाको स्वामित्व लगायतका विभिन्न प्रकारका काम गर्दा अनावश्यक झण्झट दिने गरेको, नियम र परिधिभन्दा बाहिर गएर आर्थिक लेनदेन गर्न बाध्य पार्ने गरेको गुनासो आएको साथै यसबारेमा सो कार्यालयका जिम्मेवार अधिकारीहरुलाई यसअघिनै पनि सजग हुन भनेपनि सो अनुसार काम नभएकोमा नगरपालिकाको आपत्ति रहेको बताइएको छ । यसलाई मालपोत कार्यालयले गर्ने सेवा प्रवाह सुधारमा दबावका रुपमा समेत बुझ्न सकिन्छ ।
सोही सन्दर्भमा मंगलबार दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा, उप–प्रमुख रेगिना भट्टराई प्रसाई लगायतले मालपोत कार्यालय दमकका प्रमुख मालपोत अधिकृत हिमालय बरालको कार्यकक्षमा पुगी नगरपालिकाको तर्फबाट औपचारिक पत्र बुझाएर ध्यानाकर्षण गराएका छन्  । ध्यानाकर्षण पत्रमा ‘मुख्यतः यस कार्यालयबाट जग्गा नामसारी गर्दा, दा. खा. गर्दा वा नहरबढी कायम गर्दा सरल र सहज तरिकाबाट नहुने, कुनै पनि समस्यामा सेवाग्राहीलाई यथार्थ र सहि जानकारी नदिई अल्मल्याई दुःख दिने, सम्भव भएसम्म प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक लेनदेनको संकेत तथा व्यवहार गर्ने र आर्थिक आदान प्रदान नभए वास्तविक लगत बिगारिदिने, सानोभन्दा सानो प्रकृयागत रुपमा आफैँ हुने कार्यहरुलाई अनावश्यक ठूलो बनाई समस्या श्रृजना गर्ने, हुनु पर्ने उचित निर्णय समयमा नभई अनावश्यक दबावबाट आर्थिक लेनदेन मार्फत् भरपर्नु पर्ने जस्ता गुनासाहरु बारम्बार आईरहेका छन् । निवेदन, नक्कल वा अभिलेखहरु हेर्न वा लिनु परेमा अनावश्यक झण्झट दिई आर्थिक लेनदेन नगरी कामै नहुने, तत्काल हुनु पर्ने कामहरु आलटाल गरी महिनौं दिनसम्म अल्झाईरहने जस्ता यस कार्यालयबाट भए गरेका कार्यहरु प्रति सेवाग्राहीहरुको अत्यन्तै ठूलो असन्तोष र गुनासाहरु यस कार्यालयमा समेत आएकाले उल्लेखित विषयहरुमा के भएको हो, कार्यालय प्रमुख स्वयंले बुझी अनुगमन गरी नेपाल सरकारले निर्धारण गरेको ऐन नियमको परिधि भित्र सबै राष्ट्रसेवक कर्मचारीहरुलाई अनुवन्ध गरी सेवाग्राहीहरुलाई सेवा र सुविधाहरु प्रदान गर्ने विश्वासिलो र भरपर्दो व्यवस्थापन गर्न हार्दिक अनुरोध गरिएको छ ।’ उल्लेख छ ।
ध्यानाकर्षण पत्र बुझाउनु अघि वाचन गर्दै नगर प्रमुख थापाले मालपोत कार्यालयबाट प्रदान गरिने सेवा सुविधाको हकमा व्यापक जनगुनासा र जिज्ञासाहरु उठेकाले मालपोत प्रमुख र मातहतका कर्मचारीहरु प्रति नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताए  । उनले सेवाग्राहीहरु सेवा लिने क्रममा अन्यायमा पर्न नहुने बताए  । सो पत्रमा अगाडि भनिएको छ– नेपाल सरकारको हालैको परिपत्र अनुसार जग्गा वर्र्गीकरण गर्ने निर्देशन भए अनुसार २०७९ साल मंसिर २३ गते भित्र नै यस नगरपालिकाबाट बिधिवत रुपमा सबै प्रकृयाहरु पूरा गरी दमक नगरपालिका भित्र जग्गा वर्र्गीकरण लागु गर्न त्यस कार्यालयलाई परिपत्र गरिएको र कुनै समस्या भए यस कार्यालयलाई आधिकारिक पत्रद्वारा जानकारी गराउनु पर्नेमा सो समेत नगरी वडाहरुबाट आएका जग्गा वर्गीकरणका सिफारिसहरुलाई बेवास्ता गरी सम्बन्धित राष्ट्रसेवकले आपूmखुसी परिभाषित गर्दै सेवाग्राहीहरुलाई अनावश्यक दुःख दिने गुनासाहरु तत्काल पनि आएका छन् । नियमानुसार कार्यान्वयनका लागि गरिएको सिफारिस लागू गर्नु यस कार्यलयको दायित्व हो ।’
सेवाग्राहीहरुलाई देशको ऐन, कानुन र नियमका बारेमा पर्याप्त जानकारी नहुने तर सोही कुरालाई कमजोरी सम्झेर सेवा प्रवाह गर्दा कार्यालयभन्दा बाहिरका मानिसहरुको भर पार्ने बाध्यात्मक अवस्थामा पार्नु उनीहरुलाई मर्कामा पार्नु हो भनेर ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । सो ध्यानाकर्षण पत्रको बोधार्थ भूमि व्यवस्था विभागका महानिर्देशक र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालय काठमाडौंलाई समेत पठाइएको छ । त्यस अवसरमा दमक–४ का वडाध्यक्ष पुण्य प्रसाद दाहाल, कानुन व्यवसायी, लेखापढी व्यवसायी, विभिन्न संचारमाध्यमका संचारकर्मी तथा पत्रकारहरु, सामाजिक व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।
ध्याकर्षण पत्र बुझेपछि प्रमुख मालपोत अधिकृत बरालले मालपोतमा हुने अनावश्यक भीडलाई कम गर्न र सेवालाई छिटो छरितो बनाउन आगामी फागुन १ गतेदेखि अनलाइन प्रणालीमा जान लागेको बताए । अनलाइन प्रणालीमा गएपछि पालिकाका वडा कार्यालयहरुबाट जग्गाको नक्सा हेर्न सकिने लगायतका कामहरु गर्न सकिने पनि उनले प्रष्ट पारे  । साथै नगरपालिकाले बुझाएको ध्यानाकर्षणका बारेमा आपूm गम्भीर भएको र कतैबाट कुनै कमीकमजोरी हुन नदिन तत्कालनै मातहतका कर्मचारीहरु लाई बोलाएर आवश्यक निर्देशन दिने उनले बताए  । दमक मालपोतमा कनकाई माई पश्चिमका ५ वटा पालिकाका जग्गा सम्बन्धी कामहरु आउने गरेको र क्षेत्र ठूलो हुँदा पनि भीडभाड बढी भएकोले त्यसलाई कम गरी सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने तर्फ आफूहरु गम्भीर भएको उनको भनाई थियो । —पंकज दाहाल

You may also like