२५ असार, दमक । पठन संस्कृतिको विकास गर्न झापाको दमकमा केन्द्रीय कार्यालय रहेर विभिन्न ठाउँमा शाखा विस्तार गरेको डाइनामिक पब्लिक लाइब्रेरीले आफ्नो १३ औं स्थापना दिवसमा दाताहरुलाई सम्मानित गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्कीले लाइब्रेरीले पठन संस्कृतिमा पुर्याएको योगदानमा प्रदेशले समेत सघाउने जनाउँदै दाताहरुलाई सम्मानित गरेका छन् । कार्यक्रममा आर्थिक रुपमा कठिनाई भएका असक्त विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्ने लाइब्रेरीको योजनाका पहिलो दाताका रुपमा रहेकी धौलागिरी दाता दुर्गा काफ्लेका साथै मनासलु दाता यमुना कार्की, सुरज संग्रौला, गौतम गुप्ता, र स्मारिका समूहलाई सम्मानित गरिएको छ । त्यस्तै, अन्नपूर्ण दाता ओम शान्ति डेन्टल क्लिनिक, केशव अग्रवाल र युवराज दाहाललाई पनि उसैगरी सम्मानित गरिएको छ । जम्मा भएको रकमको व्याजबाट लाइब्रेरीले हालसम्म ७ जनालाई पढ्नका लागि छात्रवृत्ति प्रदान गरेको छ ।
लाइब्रेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षताको कार्यक्रममा प्रदेश सांसद होमबहादुर थापाले न्यौपानेले शारीरिक असक्तताका बाबजुद पठन संस्कृतिको विकासमा जोड दिएर लाइब्रेरीको अगुवाई गरेको कुराले चेतना विकासका लागि समाजलाई ठूलो सन्देश दिएको उल्लेख गरे । पढ्ने बानी हराउँदै गएको अवस्थामा यस यस्ताको यसखाले कार्यक्रमलाई सवैले सघाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा, दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईं, पूर्व उपप्रमुख एवं पूर्व प्राध्यापक गीता अधिकारी, ९ नम्बर वडाध्यक्ष कुवेर भट्टराई, नेकपा एमाले नगर अध्यक्ष राम पौडेल, सम्मानित दाता दुर्गा काफ्ले सहितले मन्तव्य व्यक्त गर्दै लाइब्रेरीको समाज परिवर्तनको अभियानमा सवैले साथ दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा डीपीएल अभिभावक टिम सहित विभिन्न शाखाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । ‘पठन संस्कृतिको विकाससँगै सकारात्मक सोच सहितको सुसंस्कृत युवा नेतृत्व’ नारा रहेको लाइब्रेरी पहिले दमक पब्लिक लाइब्रेरीको नाममा स्थापना भएको थियो ।