२५ असार, अमेरिका। त्रिवेणी साहित्य मञ्चको आयोजनामा, २११ औं भानुजयन्ती विविध कार्यक्रमसहित ह्यारिस्बर्गमा सम्पन्न भएको छ ।
यस अवसरमा विभिन्न भाषाका रचनाहरू प्रस्तुत गरिएको कार्यक्रममा समुदायका धेरै सदस्यहरूले मौलिक पहिचानको पोसाकमा सहभागिता जनाउँदा त्यहाँ सिंगो नेपाल भेटिएको सहभागिले अनुभूत गरेका थिए । त्रिवेणी साहित्य मञ्चका अध्यक्ष केशव बैरागी माइलाको अध्यक्षताको कार्यक्रममा सामाजिक अभियन्ता टेकबहादुर गुरुङको प्रमुख र खेम रिजालको विषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रमका सल्लाहकार विष्णु लुइँटेलले आदिकविको जीवनी प्रस्तुत गरेका थिए भने विभिन्न साहित्यिक सर्जक र गायकहरूले सांगीतिक कोसेली प्रस्तुत गरे । जसमा अगम गुरुङ, टुंगानाथ उपाध्याय, अमृता शर्मा, सरिता सुनुवार, कुन्ती गुरुङ, अन्तरा उपाध्याय, गुञ्जन उपाध्याय, र सौगात तिम्सिना प्रस्तुतकर्ता रहे ।
सो अवसरमा मञ्चले समाजसेवी टेकबहादुर गुरुङ, गायक तथा रचनाकार टुंगनाथ उपाध्याय, र देवी दहाललाई नेपाली भाषा, साहित्य, र संगीतमा अतुलनीय योगदान पुर्याए बापत उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरेको थियो ।
मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले उपस्थित सबैलाई स्वागत मन्तव्यका साथ सम्बोधन गरे । कार्यक्रममा प्रमुख सल्लाहकार नारद अधिकारी, स्थानीय सरकारी कर्मचारी टम कोनोली, डा. खेम अधिकारी, डा. रमेश खड्का, रतन गुरुङ, तेज मिश्र, डीबी राई, केबी. चौहानसहित समाजका अगुवाहरूको बाक्लो उपस्थित रहेको थियो । कार्यक्रममा कर्णप्रिय स्वरकी धनी नारी स्रष्टा बसुधा रिजाल र इन्दुश्री चौहानले सामूहिक रामायण वाचन गरे भने बाल प्रतिभा रिगम र रिया रिजालको कविता वाचन शैलीले दर्शकहरूको मन जितेको थियो । मञ्चका सचिव नारद आचार्य ‘सुदामा’ले कार्यक्रम सञ्चालन गर्दै नेपाली भाषा, साहित्य र संस्कृति संरक्षणको आव्हान गरिरहेका थिए ।
सम्मानित टीबी गुरुङले साहित्यको माध्यमबाट धेरै भन्दा धेरै समुदायलाई जोड्न सकिने कुरा मन्तव्यको क्रममा जनाएका छन् । आफुलाई मञ्चले सम्मान गरेकोको खुसी व्यक्त गर्दै आफु माथि जिम्मेवारी थपिएको भनाई राखे ।
मञ्चका अध्यक्ष केशव बैरागी माइलाले “साहित्यको माध्यमबाट बहुजातीय, बहुभाषिक तथा बहुसँँस्कृतिक समुहलाई एउटै माला उनेर भाषा र साहित्यको प्रवद्र्धन गर्न सकिने कुरामा जोड दिएका थिए । अबको साहित्यिक यात्रा फुटेर हैन जुटेर अघि बढ्नु विकल्प नरहेको मत जाहेर गर्नु भएको थियो । समारोहको अन्त्यमा, त्रिवेणी साहित्य मञ्चले भविष्यमा अझ ओझिला कार्यक्रमहरू ल्याउने वचन दिएर धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्यो ।