चेली र माइतीको खुसी ल्याउने
आयो तीज पर्व
दुःख सुख बराबरी बनाउने तीज पर्व
हासी खुसी जीवन बिताउ
मरिलानु के छ र ?
दुईदिनको जिन्दगानी कर्कलाको पानी हो
रमाइ रमाइ हासौ खेलौ
जिन्दगानी गुडिराख्ने रेल हो
आमाबुवा, दिदीबहिनी
दाजुभाइ मिलि टुट्ने फुट्ने कहिल्यै होइन
जुटने, मिल्ने समय आयो
तीज पर्व मनाऔ खुसीयाली मानि
एकले अर्काको खुट्टा नतानि ………………….??????
जिन्दगीलाई मनमोहक बनाउने, खुसी तुल्याउने, दुःख बिस्र्याउने हामी सबै नेपालीहरुको आ– आफ्नै पर्वहरु छन । ती पर्वहरुमा अनेकन गरिमा जोडिएको हुन्छ, जोडिएसङ्गै धार्मिक भाव पर्वसङ्गै आएका हुन्छन । हामीले एकताभाव लिएर चाडपर्वहरु राम्ररी मनाउन जान्नु पर्छ । एकआपसमा टुटफुट, बेमेल हुनुहुन्न । बैचारिक एकताले मात्र जीवनमा सुखानूभूति प्राप्त गर्न सकिन्छ । हो, आज यस्तै अनेकन पर्वहरु मध्येको सम्पूर्ण नारीहरुको महान पर्व हरितालिका पर्व (तीज) को गरिमा र यो पर्वका थीतिभित्रका बेथितिहरु तपाईं पाठक समक्ष समसामयिक बिषयबस्तु उठान गर्न चाहान्छु । “जुन घरमा नारीहरुको सम्मान हुन्छ, त्यहाँ देउताहरु प्रसन्न हुन्छ्न “यो एक दार्शनिक भनाइ हो । समग्रमा भन्नुपर्दा यो शाश्वत सत्य पनि हो । हामीलाई ९ महिनासम्म गर्भमा राखेर जन्मदिने, दुध खुवाउने, तोतेबोली बोल्न सिकाउने भगवान हुन ममतामयी माता । हामीले उनीलाइ देउताका अवतार माने हुन्छ । त्यही भएर हाम्री आमा जननी, धर्ती माता, मायाकी खानी हुन । यसैकारणले प्रत्येक बर्ष भाद्र शुक्ल द्वितीयादेखि पन्चमीसम्म हरितालिका तीज पर्व उनै आमा दिदीबहिनीहरुको महान पर्वको लागि मनाइन्छ । विशेषत ः तीज पर्व हिन्दु नारीहरुले धुमधामका साथ मनाउने गरिदै आएको छ, यो पर्व आउन अब केहीदिन मात्रै बाकी छ । अब यस पर्वको आ – आफ्नै किसिमको गरिमा छ यहाँ छोटो चर्चा गरौं । हिन्दु धार्मिक ग्रन्थानुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान बिष्णुसङ्ग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गलमा गएर शिवजिको तपस्या गर्न थालिन । उनले तपस्या गरेको एकसय बर्ष पुरा भइ सक्दापनि आफूले गरेको तपस्याको फल नपाउदा एकदिन उनले शिवको लिङ्ग स्थापना गरी पानीपनि नपिइकन निराहार व्रत बस्न थालिन । यसरी पार्वतीको कठोर ब्रतका कारण शिवजि प्रकट भइ “चिताएको कुरा पुगोस “भनी आशीर्वाद दिएपछि शिव पार्वतीको बिबाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि नारीहरुले यसदिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको पाइन्छ । यस पर्वमा भगवान शिवको आराधना गरिनुकासाथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । सम्पूर्ण महिलाहरुद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले अत्यन्त हर्षोल्लासका साथ मनाइदै आएका छन । यो पर्व मूख्य रुपले नेपालभर मनाइन्छ भने भारतको कुनैकुनै क्षेत्र विशेष गरेर आसाम, गुहाटी लगायतका कतिपय स्थानमा अहिलेपनि धुमधामका साथ मनाइदै आएको छ । आधशक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस भनेर पहिलो व्रत राखेकि थिइन त्यो दिन यही हरितालिका तीजको दिन थियो । त्यसैदिन देखि आजसम्म हिन्दु नारीहरुले यो पर्व मनाउदै आएका छन भन्ने बिश्वास बढदो छ । तीज पर्व भन्नासाथ हामी चेली माइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने अवसरको रूपमा बुझ्ने गरेका छौं । यस अवसरमा चेली माइतीहरु आउँछन । दुग्धजन्य परिकार सेवन गर्छन । उपवास बस्छन । रातो, हरियो, पहेँलो रङ्गको पहिरनमा सजिएर छमछमी कम्मर भाचिभाचि नाच्छन । चुरापोते लगाउछन । गीतको माध्यमबाट साथीसङ्गी एकअर्काबिच शान्ति र सदभावको सन्देश फैलाउछन । यतिहुदाहुदै आज बिगतको तीज मनाउने परम्परा आज भाडिन थालेको छ पक्षिमी संस्कृतिले पुरै गाजेको छ, यतिसम्म बनाएको छ कि घरपरिवार, चेलीबेटी सङ्गै बसेर हेर्न र सुन्न नसकिने शब्द र पहिरन अनि मदिरा सेवन गरेर लटठै परेका भिडियो सार्वजनिक हिजोदेखि आजसम्म ज्यूका त्यू छन । यहाँ परिवर्तनका निम्ति युवाहरू जागरुक भएपनि कुनै परिवर्तन हुन सकेकै छैन । यस्ता बिकृति र बिसङगति रोक्न सरोकारवाला निकाय एकजुट भएर लाग्नुपर्ने हो त्यो भने हुन सकेन, झनै झागिदै गएको अवस्था छ । आज पार्टी प्यालेसमा भोजभतेर आयोजना गर्ने, अघोषित रूपमा गरगहना लगाउने, पहिरनमा प्रतिस्पर्धा गर्ने, माछामासु जथाभावी खाने प्रवृत्ति बढदो छ । आखिर खासमा तीज के हो ? किन मनाइन्छ ? यो पर्व कसरी मनाउन शुरु गरिएको हो ? यहाँ रातो साडी र टीका सुख समृद्धि एवम साहसको प्रतीक हो भन्ने शुद्ध जानेर, बुझेर अन्तर्वार्ता दिने महिला दिदीबहिनी देखियो । अहिले बजारमा लोकसंस्कृति झल्कने खालका म्यूजिक भिडियो बिशेषत ः तीज पर्वका आइरहेका छन, जसको बोलले लाखौ लाख मिलियन भ्यूज कमाइसकेका छन । जस अन्तरगत वरिष्ठ लोक तथा दोहोरी गीत गायिका बिष्णु माझीको यो गीतको ट्रेण्डलाई लिन सकिन्छ, जुन गीत –
म त नराउरी आमै म त नराउरी
म त नराउरी आमै म त नराउरी
तिम्रा छोरा राम्रा आमै म त नराउरी
म त नराउरी आमै म त नराउरी …………………..
यो गीतको शब्द, धुन, सङ्गीतले देशबिदेशमा सम्म नारीहरुको बेदना र मार्मिक दृश्य र बेजोड अभिनयको सन्देश प्रवाह गरिसकेको छ । आज यस्ता घटनाहरु दिनप्रतिदिन घटिरहेका छन, नयाँ नेपालमा । कतै बोक्सीको आरोपमा, कतै छाउपडी प्रथाको, कतै दाइजो प्रथाको, कतै बालबिबाह, बहुबिबाह, बाल श्रमिकको पीडा, बलात्कार, अपहरण जताततै, लागु औषधकर्ता देखि बिक्रेतासम्म बनेका घटनाहरु जतासुकै जघन्य अपराधका घटनाहरु नारीहरुमा सुनिन आउँछ तापनि टसको मस कतै परिवर्तन हुनेवाला छैन । यहाँ अनेकन च्याउझैं उम्रीएका एनजीओ, आइएनजीओहरु छन यो सम्म हुँदा कहिँ कतै रोकथाम सम्म नहुनु कतिको लज्जाजनकको बिषय हो, तपाईं एकपटक गम्भीर भएर सोच्नुहोस त ? तपाईंलाई रिसको पारो छुटछ । आज सरकारले अवैध रुपमा अनेक संस्था दर्ता गर्ने नाममा असहज नीति अपनाएर खुल्ला रुपमा महिलाजन्य संस्थाको रोकथाम संचालन गर्न निर्वाध रुपमा गर्न दिएका कारण अहिले नेपालमा बिकृति बढदो छ । यस्ता कार्यहरू सम्बन्धित निकायले तुरुन्त बन्द गर्नुपर्छ । आज दिनानुदिन बढदै गएको यस्ता सामाजिक बेथिति विरुद्ध सम्पूर्ण नारीहरु एकताको सन्देश दिदै अघि बढ्नुपर्छ । अब दलीय सिण्डिकेट भन्दापनि सम्पूर्ण नारी पुरुषहरु यस्ता बिकराल समस्याको समाधान तर्फ अब एक हुनु जरुरी छ । हामी फुटेर होइन जुटेर अघि बढौ । नारीहरुको महान चाड हरितालिका तीज पर्वसङ्गै अब भित्रीदै गरेका चाडपर्व सबै मिलेर गाएर, नाचेर मेलमिलापका साथ अघि बढौ ।
जाग उठ दिदीबहिनी हो अब उठनु पर्छ
बेथिति र बिकृतिको भण्डाफोर गर्नुपर्छ
एक्लै होइन मिलिजुली अघि बढ्नु पर्छ
न्याय र स्वतन्त्रका लागि अब सबै जुट्नुपर्छ ।
हरितालिका तीज पर्व बिशेषको सबै आमा दिदीबहिनीहरुमा यो कलमीको शुभकामना – २०८२ ।