मुख्य

इलाम र भेडेटारमा पर्यटकको भीड

पशुपतिनगर, १७ पुस।

नेपाली नयाँ वर्षमा पनि भिडभाड हुने पूर्वको सुन्दर पर्यटकीय क्षेत्र इलामको कन्याम, अन्तुका साथै धनकुटाको भेडेटारमा अंग्रेजी नयाँ वर्ष २०२४ मनाउन विदेशी पर्यटक समेत भरिभराउन भएका छन् ।

बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अंग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबारदेखि थप भिडभाड बढेको थियो । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् । उनीहरु आइतबार त्यहाँ बसेर सोमबार विभिन्न क्षेत्रको भ्रमण गरेर नयाँ वर्ष मनाएको देखिन्छ ।

सधैँ जसो भिड हुने यी क्षेत्रमा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको चाप बढ्ने र कोठा नपाइने भएपछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तु पर्यटन व्यवसायी संघका अध्यक्ष रुद्र घिमिरेले जानकारी दिए । उनका अनुसार अन्तुका अधिकांश होटल, होमस्टे तथा कटेज शनिबारदेखि सोमबारसम्मका लागि बुकिङ भइसकेका छन् । नयाँ वर्ष मनाउन आएकामध्ये ६० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको घिमिरेले उल्लेख गरे ।

भारतको सिक्किम, मिरिक, सिलीगुडी, दार्जिलिङ र पश्चिम बङ्गालका पर्यटकले होटल बुक गरिसकेका छन् । अन्तुमा ६४ भन्दा बढी सामुदायिक तथा निजी होमस्टे छन् । सानाठुला गरी ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा रहेका छन् । बङ्गाली पर्यटकले पछिल्लो समय अन्तु, कन्याम रोज्ने गरेका छन् ।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउँछन् । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन । अन्तुबाट कञ्चनजङ्घा, कुम्भकर्णसहितका हिमालका दृश्यावलोकन गर्न सकिन्छ । चियावारी र फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको होमस्टे व्यवसायी धनकुमार आलेले जानकारी दिए ।

कन्याम पनि पर्यटकले खचाखच भएको कन्यामका होटल व्यवसायी टेकराज गिरीले जानकारी दिनुभयो । विगत चार÷पाँच वर्षदेखि अंग्रेजी नयाँ वर्ष पर्वकै रूपमा यहाँ मनाउन थालिएको छ  । सीमावर्ती दुई छिमेकी देशका पर्यटकले नेपाली र अंग्रेजी दुवै नयाँ वर्ष उल्लासका साथ मनाउने क्रम बढेको छ ।

कन्याममा भ्रमण र वनभोजका लागि आउने पर्यटक बढी छन् भने बङ्गाली पर्यटक पनि उल्लेखीय संख्यामा आएका छन् । कन्याम चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन् । विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्वीर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन् ।

सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले स्वदेशी पर्यटकको रोजाइमा परेको अन्तु र कन्याममा पछिल्लो समय भारतीय पर्यटकको समेत आकर्षण बढेको बताए ।

चुरेक्षेत्रको धनकुटा र सुनसरीको सिमानामा अवस्थित साँगुरीगढी गाउँपालिकामा रहेको भेडेटार बाह्रै महिना चिसो हुने मौसमका कारण परिचित भेडेटारमा पनि उसैगरी नयाँवर्षमा पर्यटकको भिडभाड बढेको छ ।

होटल एसोसियसन भेडेटारले हरेक वर्ष अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर फुड फेस्टिवल (खानपान महोत्सव) गर्दै आएको छ । यसपटक एसोसियसनले पुस १५ गतेदेखि १७ गतेसम्मका लागि ११आँै महोत्सव आयोजना गरिरहेको छ ।

Author

You may also like