दमक, ३० भदौ –
झापा दमकका साहित्यकार लोकेन्द्र बञ्जारालाई पाँचथरस्थित ऐतराज केरुङ स्मृति गजल पुरस्कार प्रदान भएको छ ।
मोती जयन्तीको अवसर पारेर पाँचथर गजल मञ्चमार्फत वितरण हुँदै आएको ८ हजार ८ सय ८८ रुपैयाँ राशिको सो पुरस्कार बिहीबार फिदिममा आयोजित कार्यक्रममा बञ्जारालाई प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार डा.रमेश शुभेच्छुक, पाँचथर गजल मञ्चका सस्थापक मधुराज केरुङ र कार्यक्रमका अध्यक्ष सन्देश सुब्बालगायतले बञ्जारालाई दोसल्ला र कदर पत्रसहित पुरस्कार प्रदान गरेका थिए ।
पाँचथर गजल मञ्चका संस्थापक अध्यक्ष मधुराज र उनका दाजु सागर केरुङले दिवंगत पिताका नाममा पुरस्कार स्थापना गरेका हुन् । पुरस्कार ७ वर्षदेखि वितरण गरिँदै आएको छ ।
साहित्यको मुख्य विधा गजललाई बनाएर नेपाली गजल लेखनमै प्रभाव पार्दै आएका बन्जाराका गजल संग्रह ‘आँखाभरी सपना,’ ‘जैतुन’ र ‘पलक’ प्रकाशित छन् । सो कार्यक्रममा ‘अधिकारी विमलाका गजलहरु’ कृति विमोचनसँगै एनवी अञ्जानको ‘मौसम’ गजल संग्रहको चर्चा पनि गरिएको थियो । कार्यक्रममा पुरस्कृत गजलकार बञ्जारा, प्रेम ओझा सहित दुई दर्जनले गजल वाचन गरेका थिए ।