भूपेन्द्रराज तिम्सिना
दमक, २३ कार्तिक
अहिले उनलाई देश विदेशमा भ्याइनभ्याइको अवस्था सिर्जना भएको छ । लामै निरन्तरको संघर्षको प्रतिफलस्वरुप झापा कमलकी टीका प्रसाईं गायनमा स्थापित भएर देश विदेशको सांगीतिक यात्रामा सुमधुर स्वरको जादु देखाइरहेकी छन् ।
अरु जे काममा लोकप्रीय भएको देखिन्छ, आफु पनि त्यस्तै गरेर लोकप्रीय हुन्छु भन्ने लागेर मात्र हुँदैन । मानिसमा प्रकृतिले नै दिएको अनि उसको स्वभावजन्य क्रियाकलापका आधारमा उसले आफ्नो कार्यक्षेत्र निर्धारण गर्दा उ आफ्नो क्षेत्रमा लोकप्रीय हुनसक्छ । टीकाले सानै उमेरदेखि आफ्नो गायनको इच्छालाई कसरी अघि बढाएर जान सकिन्छ भन्ने लाग्दै गयो । सानैदेखि गाउने र नाँच्ने गर्थिन । तर परिवारमा गाउनु भन्दा छोरी पढेर जागिर खाने बनोस् भन्ने इच्छा थियो । कक्षा एकमा पढ्दा नै हजूरबुबाको काखमा बसेर ‘कान्छी हे कान्छी…..गीत लय मिलाएर गाइछिन् । अलि लजालु स्वभावकी उनलाई कक्षा २ मा पढ्दा ‘पात बिनाको मुनालाई घामले पोल्दो हो’ गीत गाएको स्मरण ताजै छ टीकालाई । सानो बच्चालाई मनोरञ्जनका लागि यसो गाउन लगाउने गरेपनि संगीतमा परिवारले भविष्य देख्ने कुरा थिएन त्यो बेला । ‘त्यो अवस्थामा मलाई निकै गाह्रो भयो । तर मेरी आमाले मलाई गाउनमा साथ दिनुभयो । तर गायन व्यवसायिक वन्न सक्ला भन्ने त आमालाई नि विश्वास त थिएन ।’- टीकाले अतित स्मरण गर्दै भनिन् ‘तर जे भएपनि आफुलाई मनपर्ने क्षेत्रमा म लागिनै रहें । म यसैमा व्यवसायिक भएर मेरो नाम समेत चिनिन थालेपछि अहिले त परिवारका सवै निकै खुसी हुनुहुन्छ ।’
साविकको तोपगाछी सरङपाडामा विद्यालय पढ्दै गर्दा गायनको यात्रा सुरु गरेकी टीका अहिले नेपालको विकाउ गायिका कहलिएकी छन् । लोकाधुनिक गीतमा उनको सुरिलो स्वरले जोकोहिलाई मन्त्रमुग्ध पार्छ । उनले पछिल्लो समयमा दशैंको सन्दर्भमा क्यानडामा आयोजित आधादर्जनस्थानमा सांगीतिक कार्यक्रम गरेर विदेश रहेका नेपालीको समेत मन जितिन् । एनसीएनसी क्यानडाको निमन्त्रणमा त्यहाँ १७ अक्टुबरमा पुगेकी उनले २१ र २२ तारेखमा टोरेन्टोमा कार्यक्रम गरिन् । उतै रहेकी गायिका रीता बुर्लाकोटीले पनि उनलाई साथ दिएकी थिइन् । त्यहाँ एनसीसीएसले कार्यक्रमको आयोजना गरेको थियो । एनसीएनसीमार्फत नोभेम्बर ३ मा ब्रामटनको ओन्टारियोमा नेपालबाटै गएका लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मासँग गाइन् । ५ तारेखमा विन्सरमा उनको एकल गायन रह्यो । जहाँ भुटनिज कम्यूनिटी एशोसियशनले कार्यक्रम राखेको थियो । उनले आफ्ना चर्चित गीतहरु लुकीलुकी, नाइमलाई थाहाछैन, यौटा कुरा भनौं, कर्के नजर, तम्लाई चट्ट सलाम छ, तिमी भन्छौ भनें, फापरको रोटी जस्ता गीतहरु गाएर दर्शक नचाइन् । ‘हामीले कामको व्यस्तताको बीचमा टीकामार्फत हाँस्न र नाँच्ने काममा नेपाली गीतको प्रभाव रह्यो, मन खुसी भयो । दशैंतिहारको खुसीमा रमायौं ।’- टीकालाई पटक पटक कार्यक्रममा आमन्त्रण गर्दै आएका एनसीएनसीका पूर्वअध्यक्ष सन्त राजभण्डारीले पूर्वसन्देशसँग भने ।
गीत गाउनैका लागि टीकालाई प्रकृतिले स्वर दिएको भान हुन्छ । त्यहि बुझेर उनले आफ्नो लगाबलाई निरन्तरता दिँदै आइन् । यसक्रममा ०५८ सालमा सूर्य नेपालको शब्दको ‘झस्को’ एल्बममा के गर्नु हो मेरो खसम र तिम्रो दिलको कुनाकुनी गीत पहिलो पटक रेकर्ड भएपछि त उनको खुसीको सीमा रहेन । ‘सानैदेखिको गाउने इच्छा साकार भएको खुसीले निकै भावुक भएँ । अनि यहि क्षेत्रमा केहि गर्छुनै भन्ने लाग्दै गयो ।’- भावुक टीकाले सुनाइन् ।
संगीतको औपचारिक कखरा १० कक्षामा पढ्दा गुरु कुशेश्वर राईबाट भयो । राईसँग तीन महिना साधारण सरगम सिकेर उनी काठमाडौं आइन् । यहाँ उनले भानुभक्त ढकाल, इश्वर अमात्य, गुरुदेव कामद र रत्नबहादुर खड्कीसँग शास्त्रीय र आधुनिक गायनको अध्यनसँगै संगीतका विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाउँदै थिइन् । उनले गीतसंगीत क्षेत्रमै केहि गर्ने धोको बोकर ०६१ मा काठमाडौं पसिन् । हुँदैजाँदा उनको संगत सिन्धुली गोलचौरबाट उस्तैगरी संघर्षका लागि आएका गायक संगीतकार लेखराज गुरुङसँग निकटता बढ्यो । ०६१ सालतिर एनटीभीमा संगीतकार टीका भण्डारीले चलाएको म्युजिकल शो अन्ताक्षरीमा उनको पहिलो पटक लेखराजसँग भेट भएको थियो । लेखराज पनि अन्ताक्षरीकै लागि ‘सेलेक्ट‘ भएका थिए । यो भेटले साधारण चिनजानको बाटो खुलायो । अन्ताक्षरीमा प्रथम भएकी टीकाको आवाज र प्रतिभाले लेखराज प्रभावित थिए ।

हुँदैजाँदा ०६३ सालमा नेपाल वान टेलिभिजनको ‘रियालिटी शो’ ‘मायाको डोरी’मा यो जोडीलाई एकैसाथ स्टेज पर्फमेन्स गर्ने अवसर जुर्यो । डोयट गायनको मात्र शो थियो यो । कार्यक्रममा टीका र लेखराजको जोडीले दोस्रो स्थान हासिल गर्यो । दुवै एकापसमा नजिक बन्दै गए । टीकालाई संघर्षमा साथ र सहयोग मिल्यो । सफलता हाँसिल हुँदै गयो । पछि उनैसँग विवाह वन्धनमा बाँधिएर गायनको क्षेत्रलाई अझ एकाकार गर्न पाइन् । उनका एक सन्तान छोरा सहितको परिवार काठमाडौंमा संगीतमा रमाइरहेको छ । हालसम्म उनले गाएका ७ सयको हाराहारीका गीत रेकर्ड भइसकेका छन् । चलचित्रमै पनि ३ सयको हाराहारीमा गीत गाइसकिन् । नेपालका सांगीतिक कार्यक्रम, महोत्सवहरुमा स्टेज तताइरहेकी छन् । त्यतिमात्र होइन विदेशमा रहेका नेपालीहरुलाई पनि गीतको स्वाद चखाउनेक्रममा ५ पटक अष्ट्रेलया पुगिन् । हालसम्म १० देशमा सांगीतिक प्रस्तुति दिइसकिन् । उनले गाएको लुकीलुकीमा युट्युवमा १० करोड बढी भ्यूज पुगेको छ ।