मुख्य

रतुवामा तटबन्धनले राहत

दमक/ रतुवा नदीमा तटबन्धनको काम भएपछि झापाको दमक नगरपालिका–१ र २ का ५ सय घरपरिवार कटानको सन्त्रासबाट मुक्त भएका छन् । इलामको चुलाचुली गाउँपालिकाको पेल्टिमारी तथा बुकुवासंग सिमाना जोडिएको रतुवा खोलाको दमकतर्फ पश्चिम किनारामा बस्ने घर परिवारहरु यसअघि रतुवाले कतिबेला जमिन कटान गरेर आफ्नो घर बगाइदेला भन्ने चिन्तामा थिए । तर यो वर्ष दमक–१ को भाङबारी र २ को हंसेदुम्से सामुदायिक वन पूर्वको मुक्तिघाट दक्षिण रतुवा किनारमा १किलोमिटर २५ मिटर लामो तटबन्धनको काम धमाधम भइरहेकाले उनीहरु रातमा समेत ढुक्कले निदाउन थालेको बताउँछन् ।
अहिले एशियाली विकास बैंकको आर्थिक सहयोगमा रतुवा र मावाका १९ ठाउँमा १२ किलोमिटर क्षेत्रमा तटबन्धनको काम भइरहेको छ । जसमध्ये ५ ठाउँमा तटबन्धन निर्माणको काम पूरा भइसकेको र १३ ठाउँमा २०८० साल असार मसान्त सम्ममा निर्माण सम्पन्न भइसक्ने ठेकदार कम्पनी मैनाचुली जेभीका लोक बहादुर अधिकारीले जानकारी गराए । सबै ठाउँका लागि ७३ करोडमा ठेक्का लिएको र तटबन्धन निर्माणको काम सक्ने अवधि २०८१ असार मसान्त सम्म रहेको कुरा सम्झौतामा उल्लेख गरिएको उनले बताए । अहिले तटबन्धन निर्माणको काम युद्ध स्तरमा भइरहेको र तोकिएको समयमा गुणस्तरीय निर्माण गरिसक्ने ठेकदार अधिकारीको भनाई छ ।
‘हामी यहाँ २०३६ सालदेखि बसोबास गर्दै आएका हौं, तर २०४५ सालमा भूटानी शरणार्थी आएको वर्षदेखि रतुवा खोलाको धार पनि परिवर्तन भयो, हाम्रो धेरै जग्गा अहिले खोलामा पर्छ । तर बाँकी रहेको जग्गामा अन्नबाली लगाएर हामीले जीवन निर्वाह गर्दै आएको छौं ।–दमक नपा–२ को सगरमाथा टोल विकास संस्थाका अध्यक्ष ६८ वर्षीय गणेश बहादुर पौडेलले भने– अहिलेको नगरपालिकाले संघीय सरकारको योजना अनुसार रतुवा नदीमा तटबन्धन गर्ने वातावरण बनाइदिएकाले अब भने निकै राहत महशूस भएको छ । नभए त रतुवाले अलि अलि भएको जग्गा पनि कटान गरिदेला भनेर न रातमा निद्रा न दिनमा भोक नै लाग्थ्यो । ’ पौडेलको जस्तै दमक–१ भाङबारीका किसान विमला लिम्बू र सपना राईलाई पनि अहिले चाहीँ सरकारले आफूहरुका लागि पनि केही गर्ने रहेछ भन्ने लागेको बताए । विमला लिम्बूको ५ कठ्ठा जग्गा रहेकोमा सो जग्गा जोगिने भयो र नदी कटान नहुने भयो भनेर आफ्नो विगतको चिन्ता दूर हुने लागेको बताइन् । सपना भने आफू ऐलानी जग्गामा बसेपनि सो जग्गा भएपनि जोगाउन सके आगामी दिनमा धनी पूर्जा पनि पाइन्छ होला भन्ने आशा एवं विश्वास रहेको सुनाइन् ।
रतुवा खोलाको सो क्षेत्रमा नदीजन्य पदार्थको उत्खनन्बाट आउने ठेक्कामा एकलौटी गर्दै चुलाचुली गाउँपालिकाले भाङबारी र मुक्तिघाट तर्फ पनि तटबन्धन गर्न दिएको थिएन । तर गत फागुन १९ गते रतुवा खोलाको ठेक्काको विवाद सुल्झिएसंगै अब दमक नगरपालिकालाई पनि ढुक्क भएको छ । तटबन्धनको काम पनि निर्धक्क साथ हुने भएको छ । ‘यसबाट दमक नगरपालिका र चुलाचुली गाउँपालिका बिचको सम्बन्ध सुमधुर बनेको छ भने रतुवामा  भइरहेको तटबन्धनको काम विना अवरोध हुन पाउँदा खुशी लागेको छ ।’ दमक नगरपालिका प्रमुख राम कुमार थापाले भने– सगरमाथा टोल विकास संस्थामा रहेका र भाङबारीका नदी किनारका दमकबासीलाई अब राहत मिल्ने भएको छ । तटबन्धन हुन दिने कि नदिने भन्ने विवाद पनि साम्य भएको छ । यो दमक नगरपालिका नेतृत्वको सफलता हो भन्दा फरक पर्दैन ।’ चुलाचुली गाउँपालिकाका कारण आफूहरु अन्यायमा परेको दमक नगर नेतृत्व र स्थानीयवासीको गुनासो पनि अहिले हटेको सम्बन्धित व्यक्तिहरुको भनाई छ । सो क्षेत्रमा जंगली हात्तीको भने समस्या छ, तर बाटोघाटो भने पर्याप्त रहेको छ । खानेपानीको ट्यांकी पनि बनिरहेको छ । भूमिगत पानी आउने भएका कारण खानेपानीको खासै समस्या नभएको सगरमाथा टोल विकास संस्थाका अध्यक्ष पौडेल बताउँछन् । सो टोलमा नगरपालिकाले सगरमाथा टोल दक्षिण रहेका त्रिवेणी टोलमा बाल विकास केन्द्रका रुपमा सरस्वती आधारभूत विद्यालयको व्यवस्था पनि गरिदिएको छ भने मानिसहरुको मृत्यु हुँदा सतगद् गर्न समस्या नहोस् भनेर रतुवा नदी किनारमा २ वटा घाटको निर्माण कार्य पनि धमाधम भइरहेको छ । ति मुक्ति घाट आगामी जेठ सम्ममा निर्माण कार्य पूरा गरिसक्ने ठेकदार गोपाल बस्नेतले बताए । दाहसंस्कार गर्न आउनेहरुका लागि रतुवा नदी किनारमा प्रत्येकमा २ सय जना बस्न सक्ने विश्रामालयको पनि व्यवस्था दमक नगरपालिकाले गरिदिएको छ । यसबाट रतुवा नदी किनारमा बस्ने र त्यहाँ आउने मानिसहरुका लागि पनि सुविधा पुग्ने दमक नगर प्रमुख थापाले प्रष्ट पारे ।

Author

You may also like