स्थानीय

३६ मध्ये २७ हात्ती भारत फर्किए

दमक, १ माघ। भारतबाट आएर विगत अढाई महिनायता झापा, मोरङ हुँदै सुनसरीसम्म पुगेर धनधनको क्षति पुर्याएको ३६ वटाको संख्यामध्ये यसबेला २७ हात्ती उतै फर्किएका छन् ।

गत कात्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ वटा हात्तीमध्ये २७ वटा यसैसाता भारत फर्किएको जानकारी रहेको वन डिभिजन कार्यालय प्रमुख मेघराज राईले बताए । भारतको आसामबाट नेपालको कोशी टप्पुसम्म जङ्गली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जङ्गल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय भारततिरै बस्ने हात्तीको लगभग एक सयको बथान बेलाबेला नेपाल आउने गरेको छ ।

विगतमा बढीमा १५ दिन डुलेपछि फर्किने गरेका हात्ती यसपाली अढाइ महिनादेखि नेपालभित्रै रमाइरहेका छन् । तर यो वर्ष अढाई महिना समयसम्म हात्ती यतै रहनुको कारण उनीहरुको छावा जन्मले हो भन्ने हात्ती संरक्षणमा सक्रिय अभियन्ता झापाका शङ्कर लुइँटेलको बुझाई छ । झापाको जङ्गलमा विगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताए । उनले ०६४ सालमा मेचीनगर नगरपालिक ४ बाहुनडाँगीमा जङ्गली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफूले देखेको बताए । उनले बाहुनडाँगी क्षेत्रबाट हात्ती भारत फर्किएको पनि जनाए ।

यसबेला झापाका २ र र मोरङको एकस्थानमा गरी ६ वटा बढी छावा जन्मिएको पाइएको छ । झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुईवटा छावा जन्मिएका छन् । वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसार नजिकै जङ्गलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गरे । उनले भने, ‘कोशी टप्पु वन्यजन्तु आरक्षका प्राविधिकहरुले जङ्गलभित्र हात्तीको बच्चा देखे ।’ मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ वटा छावा गणना गरिएको उनले बताए । वन डिभिजन कार्यालयका प्रमुख घिमिरेले बेलबारी, पथरी र केराबारीस्थित चारकोशे वन क्षेत्रमा डुलिरहेका नौ वटा हात्तीको एउटा बथान भारततिरै फर्किएको सूचना पाएको बताए ।

नवजात छावा साथमा हुँदा हात्ती अरूबेलाभन्दा बढी आक्रामक हुने गरेकाले केहि समययता हात्तीले जनधनको क्षति समेत गरिरहेको छ । छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरू हात्तीले मानिसप्रति आक्रामक व्यवहार देखाउने गर्दछ । बस्तीतिर छावासँगै हात्तीको हूल पस्यो भने बढी क्षतिको सम्भावना हुन्छ । झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटकपटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रूखबिरुवा र फराकिलो प्राकृतिक पोखरी रहेको छ । मोरङको बेलबारी र पथरी नजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत रहेको छ ।

हात्तीले प्रजननका लागि पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जङ्गल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउँछन् । उनले छावा जन्माउन र हुर्काएर लामो बाटो हिडाएर फर्किनका लागि घना जंगल र पानीको स्रोतलाई उपयोग गर्न हात्ती लामो समयसम्म नेपालमा रहेको उनको बुझाई छ ।

Author

You may also like