दमक/ दमकको मुख्य चौंक, वजार क्षेत्रमा सवारी साधनको एकतर्फी आलोपालो पार्किङ व्यवस्थापन कार्य प्रभावकारी बन्दै गएको छ ।
गएको भदौ १ देखि शुरु गरिएको सडकको एकतर्फी आलोपालो पार्किङ व्यवस्थापन प्रभावकारी बनेको हो । दुवैतर्फ अव्यस्थित पार्किङ हुँदा दुर्घटना बढेको र सवारीसाधन आवतजावतमा समस्या भएपछि एकतर्फी मात्र पार्किङ गर्दा यसले सडकमा आवागमनमा समस्या देखिन छाडेको दमक नगर यातायात व्यवस्थापन समितिका अध्यक्ष प्रजापति सापकोटाले बताए । उनका अनुसार एकातिर मात्र पार्किङ गर्दा अर्कातिरको व्यापार व्यवसाय गर्नेलाई असर धेरै हुने भएकाले पनि आलोपालो नियम लगाउँदा व्यापारीबाट पनि विरोध नआएको हो ।
सहरीकरणका कारण पार्किङ समस्या भएपछि नगरपालिकाले ट्राफिक व्यवस्थापनमा सघाँउ पुरयाउन उद्देश्यले आधा महिना एकतर्फी र अर्को आधा महिना अर्कोतर्फ पार्किङ गर्ने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
पार्किङका लागि सार्वजनिक स्थल तथा खाली ठाउँ नभएका कारण नगरपालिकाले चालेको कदम सकारात्मक रहेको दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल गुरागाईंले जनाए । पार्किङ समस्या समाधानको उपाय केही नै नभेटिएपछि यो उपाय नै उत्तम देखेका हौँ, उनले भने ।
तोकिएको ठाउँमा पार्किङ नगरेमा र नियम पालना नगरेमा नगरपालिकाले जरिबाना गराउँदै आएको छ । सकेसम्म सम्झाइबुझाइ गर्ने र नियमबारे जानकारी गराउने गरिएको तथा जरिवाना समेत गराउन थालिएको नगरपालिकाका नगर प्रहरी प्रमुख रुद्र कार्कीले बताए ।