मुख्य

प्रदेश १ को बेरुजु साढे २ अर्व बढी

दमक/ प्रदेश १ ले विगत ५ वटा आर्थिक वर्षमा खर्च गर्ने क्षमतामा क्रमशः सुधार हुँदै आएको तथा आम्दानी पनि वृद्धि हुँदै आएको तथ्याङ्क प्रस्तुत गरिएको छ । आर्थिक वर्ष ०७४÷०७५ मा जम्मा आम्दानी १ अर्ब २ करोड ५ लाख रहेको भए पनि पाँच वर्षपछिको आर्थिक वर्ष २०७८/०७९ को आय बढेर ३२ अर्ब ३५ करोड ५४ लाख पुगेको छ । आन्तरिक आम्दानीमा पनि आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ५० करोड २८ लाख ४४ हजार रुपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७८÷०७९ मा आन्तरिक आय बढेर ४ अर्ब ४२ करोड १४ लाख ३ हजार पुगेको छ ।
यस्तै प्रदेशले बजेट खर्चमा पनि सुधार ल्याएको छ । पहिलो आर्थिक वर्ष ०७४/०७५ मा विनियोजनको तुलनामा खर्चको प्रतिशत जम्मा ६० दशमलव ३१ रहेको थियो । जसमा चालू ७८.०२ र पुँजीगत खर्च ४०.१८ थियो । अघिल्लो आर्थिक वर्ष २०७८÷०७९ मा भने खर्चको अवस्था बढेर ८६.२० प्रतिशत पुगेको छ । जसमा चालू तर्फ ८२.२० र पुँजीगत तर्फ ८९.७५ रहेको छ । पाँच वर्षको जम्मा खर्चको प्रतिशत भने ६७.८६ प्रतिशत रहेको छ । पाँच आर्थिक वर्षमा प्रदेश १ सरकारले चालू तर्फ ६८ अर्ब ६८ करोड ७ लाख ३ हजार तथा पुँजीगत तर्फ ९२ अर्ब ५६ करोड ९० लाख ६१ हजार तथा वित्तीय व्यवस्था तर्फ १५ करोड खर्च गरेको छ । प्रदेश सरकारको पाँचवटै आर्थिक वर्षको चालू, पुँजीगत र वित्तीय व्यवस्था गरी जम्मा १ खर्ब ६१ अर्ब ३९ करोड ९७ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेशको समग्र बेरुजु पनि बढेको छ । पाँच वर्षमा प्रदेशको बेरुजु २ अर्ब ५१ करोड ४२ लाख ५६ हजार रहेको छ ।
प्रतिवेदनले आर्थिक क्षेत्रका तथ्याङ्कहरूको सकारात्मक नजिता देखिएको भए पनि कूल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको उत्पादन अपेक्षित वृद्धि हुन नसकेको र कोभिड १९ को महामारीको कारण समग्र राष्ट्रिय अर्थतन्त्रमा देखिएका समस्याहरू यस प्रदेशमा पनि परेको उल्लेख छ । यस्तै सामाजिक क्षेत्रका तथ्याङ्कहरूको विश्लेषण गर्दा अपेक्षित नजिता प्राप्त नभए पनि सकारात्मक सूचकहरू पाइएको तथा भौतिक क्षेत्रमा पर्ने सडक, सिँचाइ, खानेपानी र विद्युत्को क्षेत्रमा सामान्य प्रगति देखिए पनि पर्याप्त लगानीको अभावले अनुमानित उपलब्धि हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । शासकीय क्षेत्रमा पनि क्रमशः सुधार हुँदै गएको प्रस्तुत स्थिति पत्रमा उल्लेख छ ।

Author

You may also like