दमक, ३१ भदौ-
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको सशक्तीकरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान जरुरी भएको बताएका छन् ।
झापा क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोल्दै उनले पार्टी रुपान्तरणका लागि कार्यकर्ता जगेडा मुक्ति अभियान चलाउनका लागि सबैलाई जिम्मेवारी दिनुपर्ने भन्दै उनले सबै टोलमा गाउँ सेवा दल बनाउन पार्टी पंक्तिलाई निर्देशन समेत दिएका छन् ।
काँग्रेसले गर्ने हरेक कार्यक्रमको स्वरुप परिवर्तन हुनु पर्नेमा जोड दिएका उनले पार्टीका हरेक हातहरु सहयोगी बन्नु सक्नु पर्ने धारणा राखेका छन् । उनले भने, ‘केन्द्रमा पार्टीले पोलिसी ह्याकाथुन चलायो, यसले गैरकाँग्रेसलाई पनि काँग्रेससँग जोड्यो, अब गाउँ तहसम्मनै नयाँ कार्यक्रम गर्नु पर्छ, ढिलो गर्नु हुन्न ।’
दुवै महामन्त्रीको परीक्षणकाल सकिएको र अब पूर्णरूपमा काम गर्ने उनले विश्वास दिलाए । पार्टी सभापतिको आलोचना गरेर मात्रै केही नहुने भन्दै उनले विधानमा व्यवस्था भएका काम गर्न नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको स्वीकार गरेका छन् । तर, पार्टीमा भएका गल्ती, कमजोरीको सबै दोष आफूले नलिने उनले बताए । तथापि, उनले अहिले केन्द्रीय कार्यालय प्रखर भएको दाबी गरे । देशभर जारी सम्मेलनले पार्टी सुधारको संकेत मिलेको बताए ।
देश र निर्वाचन क्षेत्रको समस्याका बारेमा सिलसिलेवार बोलेका महामन्त्री शर्माले सरकारले संसदमा दर्ता गरेको शिक्षा ऐन काँग्रेसलाई अस्वीकार्य भएको बताए ।
झापामा हात्ती नियन्त्रणका लागि ५८ किलोमिटर क्षेत्रमा डिपीआर बनेको र अढाई करोड बजेट छुट्टिएको उनले जानकारी दिए । सोलार फेन्सिङले मात्रै हात्ती नियन्त्रण नहुनेमा निष्कर्षमा पुगेको उनले बताए । झापा १ का सांसद समेत रहेका शर्माले प्राविधिक टोली ल्यााएर हात्ती नियन्त्रणको उपाय खोज्ने काम छिट्टै हुने आश्वासन दिए ।
साथै उनले आयोगबाट वितरण हुने धनीपुर्जाको कर घटाउन आफूले निरन्तर पहल गरिरहेको बताए । सीमामाका समस्या र मेची नदी नियन्त्रणमा सक्दो पहल गर्ने उनले आश्वासन दिए ।
-बीपीको समाजवाद उत्तम ः पाण्डे
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले विश्वको राजनीति पूँजीबाद र साम्यवादको दुई ध्रुबमा विभाजित भएको अवस्थामा बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको अवधारणा अघि सार्नुभएको बताएका छन् ।
साम्यवादमा जनतालाई स्वतन्त्रताको अधिकार नहुने र पूँजीवादमा गरीब जनताको हित सुरछित नहुने देखेपछि विश्व समाजवादी नेता बीपी कोइराला र तत्कालीन जर्मन राष्ट्रपति विलियन्स फ्रेन्चले प्रजातान्त्रिक समाजवादमा सबैको समुन्नति हुने देखेर बीचको बाटो अपनाएको बताएका हुन् ।
काँग्रेस विर्तामोड नगर सम्मेलनलाई प्रमुख अतिथीको रुपमा बोल्दै युवा नेता पाण्डेले प्राकृतिक रुपमै पुरानो पुस्ता हट्ने र नयाँ पुस्ता राजनीतिमा उदाउने बताउदै निराश नहुन युवा पुस्तालाई आग्रह गरेका छन् ।
अहिले उदाएका नया पार्टीहरुको ऐतिहासिक पृष्ठभूमि र भविष्यको स्पष्ट कार्ययोजना नै नभएको बताउदै सहमहामन्त्री पाण्डेले उनीहरुलाई खहरेको सज्ञा दिए । खहरेका पछि नलाग्न उनले काँग्रेस कार्यकर्तालाइ आग्रह समेत गरे ।