दमक/ नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाको माईपश्चिमका औषधि व्यवसायीहरुलाई कर र लेखा सम्बन्धी एकदिने तालिम प्रदान गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा आइतबार भएको सो तालिममा आन्तरिक राजस्व कार्यालय दमकका कर अधिकृत लक्ष्मण कार्की करका विविध पक्षबारे र दमक उवासंघका लेखा संयोजक नेत्रप्रसाद चम्लागाईले लेखा प्रणालीका बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
तालिमममा स्थायी लेखा नम्वर, मूल्य अभिवृद्धि कर र आयकरका विभिन्न पक्षका बारेमा कर अधिकृत कार्कीले अन्तरक्रियात्मक ढंगबाट प्रस्तुती गरेका थिए भने अर्का प्रशिक्षक चम्लागाईले औषधि व्यवसाय गर्दा हुने कारोबारको लेखा व्यवस्था कस्तो हुनुपर्ने र कसरी राख्ने भन्ने बारेमा सविस्तार जानकारी गराएका थिए । आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख लव कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन पछि शुभकामना मन्तव्य राख्दै प्रमुख अधिकारीले सबै खालका व्यवसायीहरुले कानुनको पालना गर्नुपर्ने र सो सन्दर्भमा रहेका भ्रम साथै समस्याहरुलाई एकआपसमा आवश्यक छलफल, सहकार्य र समझदारीबाट हल गर्न सकिने बताए । विशेष अतिथि दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले करका बारेमा रहेका अझ मिस म्याचिङ लगायतका समस्याका बारेमा सावधानीपूर्वक तरीकाले समाधानको दिशामा अघि बढ्न सकिने बताए । उनले व्यापारी व्यवसायीहरुको हक, हित र अधिकार प्राप्तिका लागि दउवासंघ सदैव लागी पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ मेचीका पूर्वअध्यक्ष धनपति बराल र प्रदेश १ कार्यसमिति सदस्य तिलारुपा भट्टराई पनि शुभकामना मन्तव्य राखेका थिए । औषधि व्यवसायी संघ झापाका अध्यक्ष गौतम गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष वुद्धिशेखर बजगाईले स्वागत र महासचिव जिवन कुमार खड्काले कार्यक्रम संचालन गरेका थिए ।
![](https://purbasandesh.com/wp-content/uploads/2023/02/ausdi.jpg)