उर्लाबारी, १२ असोज-
असोज १२ र १३ गते विराटनगरमा हुन लागेको नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको पूर्व सन्ध्यामा अनेमसंघ उर्लाबारीले बिहिवार सरसफाई कार्यक्रम गरेको छ ।
फोहोरलाई स्रोतमा पृथकीकरण गरौँ भन्ने उद्घोषका साथ एमाले नेता तथा कार्यकर्ता एवम् अनेमसंघमा आबद्ध महिलाहरुले एमाले प्रदेश अधिवेशन सफलताको शुभकामनासहित सरसफाई गरेका हुन् । विहान उर्लाबारीको स्कुलडाँडादेखि चोक क्षेत्रसम्म सरसफाई गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी एमाले केन्द्रीय अनुशासन आयोग सदस्य लक्ष्मीदेवी भण्डारीले पार्टीको प्रदेश अधिवेशन सफल पार्न अनेमसंघका सम्पूणर् महिलाहरु सक्रियताका साथ लाग्नुपर्ने बताइन् । सबै एकजुट भएमा मात्र आफ्नो गाउँठाउँ सफा र स्वच्छ राख्न सकिने उनले जनाइन् ।
कोशी प्रदेश सांसद् उमाकान्त गौतमले महिला आन्दोलनको इतिहास र महिला अधिकारको पक्षमा अनेमसंघले आफ्नो स्थापना कालदेखि नै संघर्ष गर्दै आएको बताउदै सामाजिक रचनात्मक काममा पनि सक्रियताका साथ लाग्न आह्वान गरेका छन् । सामाजलाई दिशानिर्देश गर्ने कार्यमा महिलाहरुको अग्रणी भूमिका रहेको बताउनुहुँदै सांसद् गौतमले सामाजिक रुपान्तरणको अभियानमा अनेमंघका भूमिकाको प्रशंसा गरेका थिए ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेलले अनेमसंघमा आबद्ध महिलाहरु सबै एकजुट भएर गाउँदेखी बजारसम्म सरसफाई राख्ने अभियानमा जुट्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा अनेमसंघ जिल्ला संयोजक भिष्मा रेग्मी भट्टराईले महिलाहरुको राजनीतिक अधिकार सुनिश्चित हुँदै गए पनि अझै पनि सांस्कृतिक र सामाजिक हिसाबले रुपान्तरणको अभिभारा पुरा गर्न बाँकी रहेको अवस्था दर्शाइन् ।
कार्यक्रममा उर्लाबारी नगर प्रमुख एवम् एमाले जिल्ला सदस्य गंगाप्रसाद खरेल, एमाले क्षेत्रीय संयोजक पुष्प ढकाल, नगर कमिटी अध्यक्ष गंगाप्रसाद बाँस्तोला सहित वडाध्यक्षहरु, पार्टीका नेता कार्यकर्ता, युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।