देश–समाज समाचार स्थानीय स्वास्थ्य

दमकमा नसर्ने रोग भयावह बन्दै, केएचडिसीले चलायो घरदैलो अभियान

पंकज दाहाल


दमक/ मानिसमा नसर्ने रोगबाट हुने मृत्युको समस्या भयावह बन्दै गएको छ । तथ्यांकअनुसार विश्वमा १ सयमा ७० र नेपालमा ६५ प्रतिशत मृत्युको कारक नसर्ने रोग बनेको विज्ञहरुले बताएका छन् । नसर्ने रोगमा मिर्गौला, मुटु, मधुमेह, उच्च रक्तचाप, क्यान्सर र श्वासप्रश्वास सम्बन्धी दमजस्ता रोगहरु मुख्य रुपमा रहेका छन् । समयमै यो रोगको पहिचान र रोकथाम साथै रोग लाग्न नदिन मानिसले आफ्नो खानपान, जीवनशैली र आहार विहारमा सुधार नगरे स्थिति अझै डरलाग्दो भएर जाने देखिएको छ । नसर्ने रोगको रोकथामका लागि बेलैमा सचेत नभए र राज्यनै यसविरुद्धको अभियानमा नलागे झनै समस्या हुने र उपचारका लागि मानिसले अर्वौं रुपैयाँ खर्च गर्नुपर्ने स्थिति आउने भन्दै अभियन्ताहरुले सम्बन्धित सबैको ध्यानाकृष्ट गराएका छन् ।

झापाको दमक नगरपालिकामा अहिलेसम्म वडा नं.४ र ९ मा केएचडिसी स्वास्थ्य कार्यक्रम संचालन भइसकेको छ । वडा नं. १ मा हालै मात्र शुरु गरी चालू अवस्थामा छ । बाँकी वडाहरुमा क्रमशः ५, ८, ७, ६, ३, २ र १० मा आगामी असारसम्म पालैपालो यो अभियान संचालन हुनेछ । ४ नं. वडामा ५२९ जना स्थानीय वडावासीलगायत सामेल हुँदा ३३२ जनामा नसर्ने रोग देखिएको केएचडिसी कार्यक्रमका डा. उज्वल कुमार साहले जानकारी दिएका छन् । सो वडामा १०१ जना शंकास्पद बिरामी फेला परे भने वडा नं. ९ मा ३९९ जनाले परीक्षण गराएकोमा २८१ जनामा नसर्ने यसखालका रोगका लक्षणहरु देखिएको छ । वडा नं. ९ मा ८० जना शंकास्पद बिरामीहरु फेला परे । धेरैजसो बिरामीहरु लामो समयदेखि नसर्ने रोगबाट पीडित रहेको भेटिएको चिकित्सकहरुले बताएका छन् । त्यसमा पनि अधिकांशले कुनै न कुनै किसिमको औषधी लिइरहेको त केही औषधी उपचारविनानै बसिरहेको पाइएको छ ।

यो माथिको तथ्यांकलाई हेर्दा दमकमा प्रति १० जनामा ७ जनालाई नसर्ने रोगले गाँजेको विश्लेषण गर्न सकिन्छ । केएचडिसी भन्नाले किड्नी अर्थात् मिर्गौला, हाई ब्लड प्रेसर अर्थात् उच्च रक्तचाप, डाइबिटिज अर्थात् मधुमेह र कार्डियो भास्कुलर डिजिज अर्थात् मुटु सम्बन्धी रोग भन्ने बुझ्नुपर्दछ । नसर्ने रोगमा क्यान्सर र दम जस्तो श्वासप्रश्वास सम्बन्धी समस्यालाई पनि यो अभियानका क्रममा केलाएर हेरिन्छ । यी रोगहरु शुरुमा थाहा हुँदैन, तर लागीसकेपछि मात्र देखिन्छ र मानिसहरु लक्षण देखिएपछि उपचारका लागि अस्पताल धाउने गर्दछन् । उपचारमा अत्याधिक धेरै खर्च हुने गर्दछ । दीर्घकालिन यी रोगहरुले च्यापिसकेपछि लामो समयसम्म औषधी सेवन गर्नुपर्ने या कतिपय अवस्थामा अपरेशननै गर्नुपर्ने हुन सक्छ । त्यसैले स्थितिको भयावहतालाई आंकलन गरेर दमकमा नगरपालिका र केही सामाजिक संस्थाहरुले संयुक्त रुपमा केएचडिसी स्वास्थ्य कार्यक्रम सबै वडाहरुमा संचालनमा ल्याएका छन् ।

कार्यक्रममा दमक नगरपालिकाले प्रति वडा १० लाख रुपैयाँ छुट्याएको जानकारीमा आएको छ । यसमा दमक नगरपालिका, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, केएचडिसी नेपाल नामक सामाजिक संस्था र नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको साझेदारी, सहकार्य र समन्वय रहेको छ । संभवत यसखालको कार्यक्रम झापामै पहिलो र नमुना हो । कार्यक्रममा उच्च जोखिममा रहेकाहरुको पहिचान र जाँच गरिन्छ, अनि रोग देखापरे निःशुल्क उपचार र परामर्श दिइन्छ । त्यसका लागि नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाहरुलाई २२ देखि ३० दिनसम्म एउटै वडामा वडावासीका घरघरमा खटाएको छ । रक्तचाप, रगत, प्रोटिन, इसिजी, इको जस्ता जाँचहरु पनि वडाको आधारभूत स्वास्थ्य केन्द्र या कुनै केन्द्रविन्दुमा प्रयोगशाला राखी गरिन्छ । प्रयोगशालाको रिपोर्टका आधारमा बिरामीको पहिचान गरिन्छ र आवश्यक परे उपचार र औषधी निःशुल्क दिइने व्यवस्था गरिएको दमक नगरपालिका प्रमुख राम कुमार थापाले बताए ।

अस्वस्था खानपान र जीवनशैली, व्यायामको कमी र समयमा स्वास्थ्य जाँच नगर्दा मानिसहरुलाई नसर्ने रोग लागेको पत्तै नहुने कार्यक्रममा खटिएका डा. झाको भनाई छ । उपचार सेवा प्रदान गर्नका लागि नेपालमै कहलिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका वरिष्ठ चिकित्सक डा. संजीव शर्मा आउने गरेका छन् । यही माघ २ गतेदेखि दमक–१ को बुद्ध टोलमा रहेको हिमालय बाल विकास केन्द्रबाट सो वडाका लागि यो कार्यक्रम संचालन भइरहेको छ । २२ दिनसम्म सो वडामा सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, स्वास्थ्य स्वयंसेविका लगायतको टोली रहनेछ । नगरपालिका मातहतको दमक अस्पतालले यसमा प्रत्यक्ष सहयोग पुर्‍याइरहेको छ । दमक नगर प्रमुख थापाले ‘नगरवासीको स्वास्थ्य हाम्रो जिम्मेवारी’ भन्ने नारा नगरसभाबाट पारित भइ यो र यी लगायतका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन भइरहेको बताए ।

नगरपालिका स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले १०/१५ वर्षअघिसम्म सरुवा रोगको क्षेत्रमा काम गर्दै आएकोमा पछिल्लो समय नसर्ने रोगको समस्या बढेकाले केएचडिसी कार्यक्रम शुरु गरिएको जानकारी गराए । नसर्ने रोगबाट ४० वर्षमाथिका जोसुकै व्यक्ति पनि जोखिममा हुन्छन् भन्ने उनको भनाई छ । तर कार्यक्रममा १८ वर्षमाथिका व्यक्तिको रक्तचाप, मधुमेह, कम्मरको नाप, पृष्ठभूमि, मुख सुक्ने, पैताला पोल्ने/नपोल्ने, जाँडरक्सी खाने/नखाने आदिका बारेमा जाँच पड्ताल गर्ने गरिएको छ । त्यसका लागि स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सीप, दक्षता तथा क्षमता अभिवृद्धिको तालिम पनि दिइँदै आएको छ । वडा नं. १ मा भएको उद्घाटन कार्यक्रममा वडा सदस्यहरु तारा खप्तरी केसी र राजकर्ण राई, दमक अस्पतालका जनस्वास्थ्य निरीक्षक श्याम कुमार राजवंशी लगायतको आतिथ्यता रहेको थियो । सो वडामा कार्यक्रम सफल पार्न आफूहरु लागीपरेको वडाध्यक्ष हरि प्रसाद न्यौपानेले बताए ।

Author

You may also like