देश–समाज राजनीति विचार/वहस स्थानीय

कांग्रेसमा सभापतिका आकांक्षीको लर्को

दमक/नेपाली कांग्रेसका नेता शेखर कोइराला केन्द्रीय सदस्य सुनिल शर्मासहितको टोलीले पश्चिमबाट भ्रमण सुरु गरेका छन् । भ्रमण महाधिवेशन केन्द्रीत रहेको छ । सबै ठाउँमा महाधिवेशनमा सभापति जिताउन आग्रह गरिरहेका छन् । कांग्रेस सभापति पद पूर्वको नासो भन्दै पूर्वतिरै फर्कउन आग्रह गरिरहेका छन् ।
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन समयमै हुने वा नहुने टुङ्गो छैन तर सभापतिका आकांक्षीहरु दौडधुप चलेको हो । शशांक कोइराला, शेखर कोइराला र गगन थापा सभापतिमा उठ्ने घोषणासहित मैदानमा उत्रेका छन् भने चौधौँ महाधिवेशनमा अलोकप्रिय रहेका प्रकाशमान सिंह भने पर्ख र हेरको अवस्थामा छन् ।
चर्चामा आएका यी अनुहारहरूमध्ये को–को एक्ला–एक्लै भिड्ने हुन् वा को–कसले को को सित तालमेल गरेर अगाडि बढ्ने हुन्, त्यो तस्वीर भने महाधिवेशनको केही दिनअघि मात्र स्पष्ट होला । अहिले सभापतिका सबै प्रत्यासीले बदलिँदो परिस्थितिमा पार्टी हाँक्न आफू सक्षम भएको दाबी मात्र प्रस्तुत गर्ने हुन् ।
आफूलाई कार्यकर्तामाझ अब्बल सावित गर्न लागिपरेका यी चारै जना पार्टीका विभिन्न कार्यक्रममा सहभागी त भइरहेकै छन्, त्यसबाहेक पनि यिनीहरूले जिल्ला–जिल्लाका आ–आफ्ना गुट समर्थक नेता/कार्यकर्ताहरूलाई कार्यक्रम आयोजना गर्न र त्यसमा आफू सरिक हुन शक्ति केन्द्रित गरिरहेका छन् ।
यसै फेरोमा पार्टीले गत २२ मंसिरमा कोशी प्रदेशस्तरीय पहिलो भेला राजधानी विराटनगरमा राखेको थियो । तर, उक्त कार्यक्रममा नगई शेखर कोइराला केन्द्रीय सदस्य दिनेश कोइरालाका पिताजीको शोकसभामा सहभागी हुन चितवन पुग्नुले उनी सभापति शेरबहादुर देउवा समूहबाट कति टाढा पुगिसकेका रहेछन् भन्ने लख काट्न सकिन्छ ।
हुन त उनले त्यसको चार दिनअघि विराटनगर पुगेर आफ्ना पक्षका कोशी प्रदेशस्तरीय नेता/कार्यकर्ताहरूले आयोजना गरेको गुटीय भेलामा सहभागी भएर आफ्नो मन्तव्य राखिसकेका थिए । जबकि उक्त भेला रोक्न १७ मंसिरमा पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ‘पार्टीले २२ मंसिरअगावै विराटनगरमा त्यस्तो कुनै भेला नराखेको’ उल्लेख गर्दै पत्र नै प्रेषित गरे ।
विराटनगरमा पार्टीको प्रदेशस्तरीय भेला भइरहँदा सभापति देउवा र महामन्त्री गगनकुमार थापा सहभागी भए भने आफ्नै गृहप्रदेशको कार्यक्रममा सहभागी नभई नेता कोइराला चितवनतिर हानिए । गृहप्रदेशकै कार्यक्रम चलिरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्माचाहिँ लोबुचे हिमाल आरोहणमा लागेका थिए । किन छाडे होलान् यी दुई नेताले विराटनगर भेला ? विवादमा पर्ने डरले कि आफूलाई सम्मानपूर्वक नडाकिएको झोँकले ? मलाई लाग्छ, शेखरले संस्थापनको भिडभाडमा आफूलाई मिसाउन नचाहेका हुन सक्छन् । उनले आफ्नो अलग्गै पहिचान देखाउन त्यसो गरेको हुनुपर्छ । यद्यपि, शेखरपत्नी पुनमले पार्टी सभापति देउवा, पूर्वमहामन्त्री तथा देवर शशांकलगायत नेताहरूलाई कोइराला निवासमा स्वागत गर्न भने चुकिनन् । उनले आफ्नो निवासमा आउने अतिथिलाई सत्कार गर्ने ‘कोइराला कर्टसी’मा कमी आउन दिइनन् ।
उता महामन्त्री शर्मा भने ‘महाधिवेशनमा भोलि के हुन्छ, के ? कोसित मिल्नुपर्छ, को सित ? अहिल्यै किन विवादमा पर्ने’ भनेर आफ्नै गृहप्रदेशको पार्टी भेलालाई पनि साइडमा छाडेर लोबुचे आरोहणमा गएका हुन सक्छन् । के भर भोलि शेखर, शशांक जोकोहीसित मिलेर महाधिवेशनमा उठ्नुपर्ने हुन सक्ने उनको आकलन हुन सक्छ, किनभने उनले अहिलेसम्म आफ्नो खासै गुट बनाएका छैनन् । कतै उनले पार्टीमा पनि नेविसंघमा अध्यक्ष भएझैँ महामन्त्रीभन्दा माथिल्लो पदमा बाजी मार्ने त होइनन् ? यसबारे सोच–विचार गरेरै सावधानीपूर्वक आफूलाई प्रस्तुत गरिरहेका हुन सक्छन् ।
अहिलेसम्म अरुले झैँ उनले सभापति उम्मेदवारको दाबी पनि प्रस्तुत नगरेको हुँदा आमकार्यकर्ता र शुभेच्छुक पङ्क्तिमा शर्मा उपसभापतिमा उठ्न सक्ने चर्चा सुनिन्छ । महाधिवेशन समयमा अर्थात् ४ वर्षमै भयो भने आगामी मंसिरसम्म भइसक्नुपर्नेछ । किनकि, विधानतः प्रत्येक चार वर्षमा महाधिवेशन हुनुपर्छ । पार्टीको चौधौँ महाधिवेशन २४ मंसिर २०७८ मा काठमाडौंमा भएको थियो ।
काँग्रेसमा…..देउवा २०७२ फागुन र २०७८ मंसिरमा गरी लगातार दुईपटक पार्टी सभापति निर्वाचित भइसकेका छन् । पार्टी विधानअनुसार अब उनले सभापति उठ्न पाउने छैनन् । किनकि, कांग्रेस विधानको धारा ५७ मा ‘पार्टीको सबै तहका कार्यसमितिका सभापति निरन्तर दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउने छैन’ भन्ने स्पष्ट व्यवस्था छ । त्यसैले अब कांग्रेसको ब्यानरमा टाँगिने आठौँ नाम नयाँ हुनेछ । त्यो नाम शशांक, शेखर, गगन, प्रकाशमान वा अन्य कुनै कांग्रेस नेताको हुनेछ । अहिले पदाधिकारी भएका मध्ये सभापतिका लागि महामन्त्री गगन मात्र खुलेका छन् । शशांक, शेखर र प्रकाशमान तीनै जना केन्द्रीय सदस्य मात्र छन् । प्रकाशमान र शशांक पूर्वमहामन्त्री भइसकेका नेताहरू हुन् भने शेखर अहिलेसम्म केन्द्रीय सदस्यबाट पदोन्नति हुन सकेका छैनन् ।

Author

You may also like