देश–समाज सम्पादकीय

पेशागत संगठन दलगत नहुनु सकारात्मक

यतिबेला राष्ट्रसेवक कर्मचारीहरु ट्रेड युनियनका नाममा विभाजित छन् । राजनीतिक दलैपिच्छेका भ्रातृसंगठन जस्ता ट्रेड युनियनहरु छन् । त्यसबाट कमर्चारी संयन्त्रमा सकारात्मक भन्दा बढी नकारात्मक असर परेको स्पष्ट छ । राष्ट्रसेवक कर्मचारीहरु कसैको पेवा हुन सक्दैनन् । तर यहाँ त राजनीतिक दलहरु सबैजसोले कर्मचारीमा फुटाउ र शासन गर भने जस्तो शैली अपनाएका छन् । त्यो किमार्थ उचित हुन सक्दैन । डाक्टर पार्टीका, ईन्जिनियर पार्टीका, वकिल पार्टीका, शिक्षक पार्टीका, प्राध्यापक पार्टीका , कर्मचारी पार्टीका हुँदा हुँदा पत्रकार पनि पार्टीका, यसबाट पेशागत क्षेत्रमा पनि अति राजनीतिकरण भएको छ । न त न्यायालय स्वतन्त्र रह्यो, न त शिक्षा क्षेत्र, न त प्रहरी प्रशासन । यो अति भो । यसबाट कुनै पनि क्षेत्रमा पार्टीको सर्वसत्तावाद जस्तो देखियो । पेशागत संगठनहरु राजनीतिकरण गरिनु र हुनु जायज कुरा होइन, यही कुरालाई मनन् गरेर यतिबेला संघीय संसदमा सत्तारुढ नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरु कर्मचारीमा पार्टीगत ट्रेड युनियन नराख्ने कुरामा सहमत भएका छन् । यो स्वागतयोग्य कुरा हो  ।
तर अर्कातर्फ कतिपय दलहरुले यो सहमतिप्रति विरोध र आपत्ति जनाइरहेका छन् । त्यो भने दुःखद कुरा हो । ढिलैभएपनि काँग्रेस र एमाले सचेत भएको पाइएको छ । कर्मचारीतन्त्रमा राजनीतिकरणको असर र प्रभावबारे उनीहरुले अहिले आएर महशूस गरेको देखिन्छ । राजनीतिकरण हुँदा कर्मचारी तन्त्रको चेन अफ कमाण्डमा मात्र गुम्दैन, त्यहाँ अस्वस्थ वातावरण सिर्जना भएको कुरामा कोही पनि दुई मत हुन नसक्ला । शिक्षकमा भएको दलीयकरणले धेरैजसो शिक्षकहरु विद्यालयमा पढाउने काममा भन्दा पनि पार्टीको झोले भएर हिँडेको पाइन्छ । प्राध्यापकहरुको चाल त्यही छ । भोलिका दिनमा के र कुन पद पाइन्छ भनेर उनीहरु अहिलेदेखि राजनीतिक दलको कार्यक्रम र कार्यमा कुदेका छन् । आफ्नो पेशामा भन्दा बढी झुकाव र लगाव राजनीतिक दलप्रति छ । विद्यालयमा कसरी विद्यार्थीलाई पढाएर अब्बल नागरिक उत्पादन गर्ने होइन, कसरी दलको सेवा गर्ने भनेर कुराकानीहरु हुने गरेको पाइन्छ । शिक्षकहरुको कर्म र दैनिकी त्यस्तो हुनुहुँदैन । तर विडम्बना भइरहेको यस्तै छ । यो क्रम पंचायतकालदेखिनै चलेको हो  । प्राध्यापक, वकिल, ईन्जिनियर, पत्रकार सबैजसोको हालत त्यस्तै छ । न्यायालयमा न्यायाधीश नियुक्ति हुँदा दलीय भागबण्डा हुन्छ । अनि न्याय कहाँ निष्पक्ष हुन्छ, कल्पना पनि गर्न सकिँदैन ।
यी सबै क्षेत्रमा चाहिन्छ भने केवल एउटा मात्र साझा स्वतन्त्र पेशागत संगठन चाहिन्छ, जुन कुनै पनि राजनीतिक दल विशेषको हुुनु हँुदैन  । जस्तो कि नेपाल पत्रकार महासंघ छ, नेपाल बार एशोसिएसन छ । जसमा राजनीतिक दलको मात्र होइन, सबै पक्षको उचित प्रतिनिधित्व हुन्छ । साझा थलोको रुपमा उनीहरुले काम गर्दछन् । कर्मचारीमा पनि स्वतन्त्र एउटामा मात्र ट्रेड युनियन चाहिन्छ । त्यसका लागि र सर्वत्र पेशागत संगठनमा राजनीतिकरण गर्ने प्रवृत्तिको अन्त्य गरौं । संघीय संसदमा अहिले देखिएको सहमतिलाई निरन्तरता दिऔं र अन्य पेशागत क्षेत्रमा पनि लागू गरौं । यही हाम्रो कामना ।

Author

You may also like